कविता : म नाङ्गै छु
-शुलभराज बराल
तिनीहरु फेरि आउँछन्
देशभक्तिको नारा लगाउँछन्
आकासमा उडी हिँड्ने पन्छी भगाउँछन्
आकाशवाणी जसरी हराउँछन्
तिनीहरु फेरि आउँछन्
हामीलाई बन्दुक बोकाउँछन्
सूर्य र चन्द्रमाको हत्या गर्न लगाउँछन्
क्रान्तिको वनभोज खुवाउँछन्
क्रान्ति र शान्तिको वाचा जो गराउँछन्
तर तिनीहरु फेरि आउँछन्
कालो कोट लगाउँछन्
कालो अक्षर कालोपाटीमा लेखाउँछन्
हाम्रो मन कालो बनाउँछन्
सडकमा कालोपत्रे खन्याउँछन्
नयाँ मार्ग बनाएर देखाउँछन्
तर तिनीहरु फेरि आउँछन्
हामीलाई मात्ने चिज खुवाउँछन्
भविष्यको प्याला पिलाउँछन्
र छन्दक बनाउँछन्
हामीलाई वारि छाडी
तिनीहरु नदी पारि जान्छन्
तर तिनीहरु फेरि आउँछन्
हामीलाई कीर्तनमा बोलाउँछन्
परलोकको साक्षातकार देखाउँछन्
धर्मलाइ कबाब जसरी सेकाउँछन्
नयाँ सिलालेखमा हाम्रो नयाँ नाम लेखाउँछन्
हाम्रो नाम रामेश्वर थियो
अहिले हाम्रो नाम एस्थर हो
परमेश्वरले दिएको नयाँ नाउ
हाम्रो गाउँलाई कछाडिया गाउँ भन्थे
अचेल परमेश्वरको गाउँ भन्छन्
तिनीहरु फेरि आउँछन्
हामीलाई होली वाइन पिलाउँछन्
कठपुतली जसरी हामीलाई हिलाउँछन्
हाम्रो नजन्मिएका सन्तानलाई
नयाँ नाच नचाउँछन्
तिनीहरु फेरि आउँछन्
हाम्रो सम्बन्धहरु भाँचिदिन्छन्
हाम्रो विधान च्यातिदिन्छन्
हामीलाई सच्याउँछन्
हाम्रो घाँटी अठ्याउँछन्
हाम्रो धोती र कमिज माग्छन्
हाम्रो धोती र कमिज पट्याउँछन्
उनीहरुको दराजभित्र चाबी लगाएर राख्छन्
र हामीलाई कोटपाइन्ट र टाई झिकेर दिन्छन्
मलाई यो कपडा लाउन आउँदैन
नाङ्गो बस्न पनि लाज लाग्छ
तिनीहरु फेरि आउन चाहिँ आउँछन्
तिनीहरु नआउँदै
कोही एक सरो दौरा सुरुवाल लिएर आए नि हुने
म नाङ्गै छु, म नाङ्गै छु, म नाङ्गै छु, म नाङ्गै छु ।