सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको कदमविरुद्ध प्रदेश २ सरकार पनि सडकमा

आइतबार, १२ पुस २०७७, १८ : १२
आइतबार, १२ पुस २०७७

जनकपुर । प्रदेश २ सरकार पनि प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा उत्रिएको छ । प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनल प्रदेश सरकारको अगुवाई गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमविरुद्ध सडक आन्दोलनमा उत्रेका हुन् ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री सोनलले प्रधानमन्त्री ओलीको कदमप्रति व्यङ्ग्य गर्दै ‘कम्युनिस्टहरुको हातमा सत्ता जानु भनेको बाँदरको हातमा नरिवल थमाउनुजस्तै’ रहेको बताए । उनले भने, ‘कम्युनिस्टको बहुमतको सरकार रहे पनि पार्टीको आन्तरिक विवाद मिलाउन नजान्दा संसद नै विघटन गर्नु अनुचित र असंवैधानिक कदम हो ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आईतबार जनकपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट डर र त्रास बढेर संसद विघटनको बाटो रोजेको टिप्पणी गरे । उनले संसद विघटन गर्नुभन्दा बरु जसपासँग सहयोगको याचना गरेको भए सहज निकास निस्कन्थ्यो भनेर राजनीतिक व्यङ्ग्य पनि गरे ।

उनले भने, ‘ओलीलाई आफ्नै पार्टीका कारणले आफू कमजोर भएको महसुस भए जसपाका नेताहरुसँग बिलौना गर्दा हुन्थ्यो, आदरणीय नेता महन्त ठाकुर र उपेन्द्र यादवजीले पक्कै पनि सहयोग गर्नुहुन्थ्यो । तर संसद विघटन गरेर प्रधानमन्त्रीले अनैतिक, अनुचित र असंवैधानिक कदम चाल्नु अलोकतान्त्रिक कदम हो ।’

उनले ओलीले संसद विघटनका लागि चालेको कदममा हुबहु रुपमा लालमोहर लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत ठुलो गल्ती गरेको टिप्पणी गरे । उनले भने, ‘राष्ट्रपति भण्डारीले मुलुक र संघीयता प्रति दृढतापूर्वक उभिनुको साटो अलोकतान्त्रिक र असंवैधानिक कदमलाई साथ दिएको देखियो ।’

प्रतिनिधिसभा विघटन गरेर पूरै मुलुक र जनताको भविष्यसँग खेलवाड गरिएको बताउँदै उनले यसबिरुद्ध सबै प्रजातान्त्रिक शक्ति एकजुट भई लड्नुपर्ने खाँचो औंल्याए । ‘दुई भाइको विवाद, पार्टीभित्रको आन्तरिक किचलोका कारण पूरै देशलाई बन्धक बनाउनु अनुचित हो,’ उनले भने, ‘भाइभाइ बीचको लडाईका कारण पूरै देशलाई नै अन्योलतामा धकेलिएको छ ।’

मन्त्री सोनलले नेपाली जनताले आशा भरोसाका साथ कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिएको चर्चा गर्दै नेपाली जनताको आशा र भरोसामाथि प्रधानमन्त्रीले कुठाराघात गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओली, नेकपाका नेता प्रचण्ड र माधव नेपालबीचको विवादलाई लिएर देशमा हजारौंको रगत बगाएर ल्याइएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई दाउमा लगाउनु कति उचित छ भनेर प्रश्नसमेत गरे ।

यसअघि मन्त्री सोनलको नेतृत्वमा जनकपुरधाममा निकालिएको विरोध जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । विरोधसभामा विघटित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साह, प्रदेशसभा सदस्य परमेश्वर साहसहितको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप