सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीले कलंकको टिका लगाए, हामी जनतामा जोडियौं : प्रचण्ड

सोमबार, १३ पुस २०७७, १५ : २८
सोमबार, १३ पुस २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर नेपाली राजनीतिमा कलंकको टिका लगाएको बताएका छन् । सोमबार काठमाडौमा जनसांस्कृतिक महासंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली आफुले कलंकको टिका लगाएपनि आफुहरुलाई जनताका मुद्दामा जनतामाझ जाने र जोडाउने काम गरेको बताए ।  

उनले कुनै एउटा प्रधानमन्त्रीलाई सनक चढ्यो भने विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्न दिनुहुँदैन भनेरै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको खोसेको भन्दै त्यसबेला सबै राजनीतिक दलहरुबीच छलफल गरेर नै त्यस्तो व्यवस्था गरिएको स्मरण गरे । 

‘संविधान बनाउने बेलामा हामी संविधानसभाका दलहरुले छलफल गरेर नै त्यो व्यवस्था नराखेका हौ । तर अहिले बडो निर्मम ढंगले संविधानको कू गरियो’, प्रचण्डको भनाई छ ।  उनले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि संविधान जारी गरिएको भन्दै ओलीले ३ करोड नेपाली जनताको भावनामा चोट पुर्याएकाले यसको विरोध गर्नु सबैको दायित्व भएको बताए । ‘संविधानले दिँदै नदिएको र हुँदै नभएको कुरा प्रयोग गरेकाले सदन विघटन भएको होइन, जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो’, प्रचण्डले भने, ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्नेछ, बुझ्दैन भनियो भने अदालतप्रति अपमान ठहरिन्छ । छिटोभन्दा छिटो संविधानअनुसार सदन सुचारु गर्ने अदालतबाट आदेश आउनेछ भन्ने विश्वास गर्छु ।’ तर प्रचण्डले केपी ओली जुन ढंगले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको हकअधिकारमाथि प्रहार गरेको भन्दै त्यो सैह्य हुन नसक्ने बताए । 

पार्टीभित्र विवाद र अन्तरसंघर्ष चलेको स्वीकार्दै प्रचण्डले पार्टीभित्रको संघर्षलाई देशमा संकट ल्याउने बाहक बन्नु दूर्भाग्यपूर्ण भएको पनि बताए । ‘यसले केपी ओली कलंकित हुनुभयो । कलंकको टिका लगाउनुभयो । हामी राष्ट्रको एकता र जनताको अधिकारका लागि सडकमा गएका हौ । जनतामा जोडिएका छौ’ प्रचण्डको भनाई छ । उनले आफुसहितका नेताहरु सडकमा आएको देखेर कोहीले खुशी मनाएपनि आफुहरु सडकमा पुगेको नभई जनताको बीचमा पुगेको भन्दै ओली भने श्री ३ जंगबहादुर राणाको बाटोमा गएको बताए । ‘त्यसैले उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो’, प्रचण्डको भनाई थियो । 

गत वर्षको केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओलीले आफ्नो कुर्सी नै हटाइदिएको प्रसंग निकाल्दै प्रचण्डले त्यसबेला आफुले केपीलाइ धन्यवाद दिएको बताए ।  ‘अहिले पनि ओलीले जनतामा जाने मुद्दा र नारा दिनुभयो । संविधान, संघीयता र जनतामा जाने मुद्दा दिनुभयो, अर्को चुनाव हामी जित्छौ, तपाइँलाई धन्यवाद भनेर भन्ने गरेको छु । बाजी हामीले जितेका छौ’ प्रचण्डको भनाई छ ।   उनले केही दिनको कुरा मात्रै हो भन्दै कसैले पनि टेन्सन लिनुपर्ने नभएकाले ऐतिहासिक जिम्मेवारी पुरा गर्न एकताबद्ध भएर जानुपर्ने बताए । उनले केही साथीहरु लोभ गरेर उता गएको भन्दै उनीहरु फेरि फर्कने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप