बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आइएमई नेपाल लिटरेचर फेस्टिभलमा शुभारम्भ साँझ

सोमबार, १३ पुस २०७७, १८ : ३३
सोमबार, १३ पुस २०७७

छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ 
मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ 
बास्ना त तिमीले चपाएको चुइगम हो 
तीतो हुँदै जान्छ एकछिन चपाइरहनुपर्छ ।
प्रस्तुत सेयर हुन् गजलकार प्रदीप रोदनका । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करणका अवसरमा सोमबार आयोजित शुभारम्भ साँझमा रोदनले गजल वाचन गरिरहँदा फेस्टिभलको माहोल तात्दै थियो । सराङकोटस्थित सराङकोट माउन्टेन रिसोर्टमा आयोजित शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल जम्यो । 

मंगलबार सुरु हुने फेस्टिभलको औपचारिक उद्घाटनअघि गजल मेहफिलको कार्यक्रम राखिएको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ । रोदनले सुवेदीसँग संवादसँगै १० भन्दा बढी गजल वाचन गरे । साहित्य साधना प्रतिष्ठान गोरखाका महासचिव प्रदीप रोदन दमदार गजल र प्रस्तुतिले चर्चित छन् । नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका उनले फेस्टिभलमा प्रेमदेखि राजनीतिक एवम् समसामयिक विषयका विविध गजल सुनाए । 

कार्यक्रममा र्याण्डम  रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरालाई साहित्यका माध्यमबाट चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । सांस्कृतिक एवं पर्यटकीय सहर पोखरालाई साहित्यका माध्यमबाट पनि चिनाउनुपर्छ भनेर आफूहरुले फेस्टिभल आयोजना गरेको बताए । यसमा सहयोग गर्ने गण्डकी प्रदेश एवम् आइएमईलगायत विभिन्न सङ्घसंस्थाप्रति पनि उनले आभार प्रकट गरे । ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’ 

फेस्टिभलको यो संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन् । भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्यूब च्यानलबाट लाइभ प्रसारण भइरहेको छ । साथै डिशहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन् । 

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुगेको छ । दुई वर्षदेखि फेस्टिभललाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) मात्र नभई थप उत्साह र ऊर्जा पनि थपिएको आयोजकको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप