सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा संक्रमण अहिलेसम्मकै उच्च, दुई हप्तामा बीस लाख खोप दिने तयारी

सोमबार, १३ पुस २०७७, २३ : २५
सोमबार, १३ पुस २०७७

लन्डन ।  बेलायतमा हाल जारी कडा प्रतिबन्धका बावजुद पनि कोरोना संक्रमणको दर उच्चतम विन्दुमा पुगेको छ । सोमबार दिउँसो सार्वजनिक तथ्याँकअनुसार गएको २४ घन्टामामात्र ४१ हजार ३८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी हो ।

बेलायत यतिबेला कोरोना संक्रमणको दोस्रो लहरका साथै भाइरसको नयाँ संस्करणको चपेटामा परेको छ । बेलायतमा कोरोना संक्रमितको कुल संख्या २३ लाख २९ हजार ७३० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३५७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७१ हजार १०९ पुगेको छ ।

अस्पताल भर्ना भएका कोरोना संक्रमितको संख्या पनि अत्यधिक रुपमा बढेपछि त्यहाँ पनि संकटको अवस्था सृजना भएको स्वास्थ्य विभागले जनाएको छ । लन्डन एम्बुलेन्स सर्भिसकाअनुसार एक दिनमा सात  हजार ९१८ भन्दा बढी टेलिफोन कल प्राप्त भएको र गत वर्ष सोही दिनको तथ्याँक हेर्दा दुई हजार पाँच सय टेलिफोन कल मात्र आएको बताइएको छ ।

सोमबारमात्र गएको २४ घन्टामा दुई हजार १४३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । २१ हजारभन्दा बढी अस्पतालमा उपचार गराइरहेका छन् भने एक हजार पाँच सयभन्दा बढी भेन्टिलेटर बेडमा रहेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतका अधिकांश क्षेत्रहरुमा कोरोना संक्रमण दर नियन्त्रणभन्दा बाहिर गएको भन्दै कडा प्रतिबन्ध ’टीयर ४’ लागू गरिएको छ ।  ‘स्टे होम’ को आदेश जारी गरिएको यस प्रतिबन्धलाई लकडाउनकै अर्को रुप मानिएको छ ।

बेलायतमा २४ मिलियन मानिस अर्थात कुल जनसंख्याको ४० प्रतिशत कोरोना संक्रमणको अति उच्च जोखिम ‘टीयर ४’ अन्तर्गत कडा प्रतिबन्धको सास्ती खेपिरहेका छन् । बेलायतमा अहिले फाइजर–बायोएँटेकको कोरना विरुद्धको भ्याक्सिन वितरण कार्य जारी छ । हालसम्म झन्डै सात लाख मानिसले उक्त भ्याक्सिनको पहिलो डोज प्राप्त गरिसकेका छन् ।

यसैगरी बेलायतकै अक्सफोर्डद्वारा विकसित अक्सफोर्ड एष्ट्राजेनीकाको खोप पनि केहिदिन भित्रै अनुमोदन हुँदैछ । उक्त खोप अनुमोदन हुनुअघि  नै आउँदो जनवरी ४ तारिखबाट  दुई हप्ताभित्र अक्सफोर्डरएस्ट्राजेनेका तथा फाइजर(बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने  सरकारले घोषणा गरिसकेको छ । अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ ।

एक डोजको मूल्य  दुईदेखि तीन पाउण्डसम्म पर्न सक्ने जनाइएको छ । उक्त खोप पनि फाइजर–बायोएनटेक जस्तै  प्रति व्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ । हाल बेलायत लगायत विभिन्न मुलुकमा देखिएको भाइरसको नयाँ संस्करणलाई पनि यो खोप प्रभावकारी हुने बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड–एस्ट्राजेनेकाको सय मिलियन भ्याक्सिन अर्डर गरिसकेको छ, जसमध्ये ४० मिलियन भ्याक्सिन सन् २०२१ को मार्चसम्ममा वितरण गरिने सरकारले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप