बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

महारानीको राजनीति : परम्परागत शक्ति चुन्नु हाम्रो गल्ती !

मङ्गलबार, १४ पुस २०७७, १४ : २५
मङ्गलबार, १४ पुस २०७७

पोखरा । २०७६ को मदन पुरस्कार विजेता कृति ‘महारानी’बाट चर्चामा आएका लेखक चन्द्रप्रकाश बानियाँ मङ्गलबार माछापुछ«े काखमा गफिन उभिए । साहित्यमा अनौठो इतिहास बनाएका, पहिलो किताबाटै ठूलो पदवी पाएका बानियाँलाई आईएमई नेपाल लिट्रेचर फेस्टिबलको नवौँ संस्करणमा आयोजकले उभ्याएको थियो । सानोतिनो पुरस्कार नपाइ एकैचोटी ठुलो पुरस्कार पाउने लेखक फेस्टिभलको पहिलो सेसनमा पत्रकार लेखक राजकुमार बानियाँसँग गफिए । सेसनको शीर्षक थियो, महारानीको राजनीति ।

एकान्तवासी, गुफाबासी, बाहिरी संसारसँग विलकुलै सम्बन्ध नराख्ने बानियाँले स्टेजमा उभिएपछि उनको छोटो परिचय राखे । सामाजिक सञ्जालमा अलिअलि देखिन थालेका बानियाँको उमेरले ७० टेकिसकेछ । म्याग्दीको कुला चौर भीरमुनीका बानियाँ अहिले पोखरामै छन् । पोखरामै बसे पनि पोखराका लागि उनी नौला हुन् । उनका अहिलेसम्म पाँच किताब प्रकाशित छन् । बानियाँ  ‘महारानी’बाट एकाएक चर्चामा आए । मृत्यु संस्कार मन्थन महारानीपछि आएको किताब भए पनि महारानीकै लेभलको चर्चा भएन । भूतपूर्व शिक्षक तथा समाजसेवी बानियाँ २०४८ पर्वतबाट विजयी सांसद पनि हुन् ।

‘तपाईं पोखरामै गुप्तबासमा बस्नु भएको रहेछ । मदन पुरस्कार पाएपछि मात्रै थाहा भयो । पोखराले कस्तो प्रतिक्रिया दियो ? कसरी बधाई दियो ?,’ पत्रकार बानियाँले स्टेजमा उक्लिएपछि प्रश्न तेस्याई हाले ।

‘मेरो पोखरा आगमन अनपेक्षित थियो । मलाई चिन्ने मान्छे पोखरामा कोही पनि थिएनन् । ३ वर्ष विशुद्ध किताबसँग बिताए । पोखरामा लेखिएको तेस्रो किताब हो महारानी,’ लेखक बानियाँले आफ्नो अनुभव सुनाए ।

लेखक बानियाँलाई उनको मदन पुरस्कार जित्नु हर्ष न विस्मात्को अवस्था जस्तो लाग्छ रे । ‘सोझो अर्थमा भन्नु पर्दा उनले मदन पुरस्कार जित्नुसँग पोखराको कुनै सरोकार छैन । को हो, के हो भन्ने कसैलाई थाहै छैन । पीएन क्याम्पसले सानो कार्यक्रम गर्यो । त्यसपछि त के थियो र देश विदेशमा भर्चुअल्ली कुराकानी भयो,’ उनी भन्छन् ।

अझै पनि पोखराले राम्रोसँग चिन्दैन जस्तो लाग्छ रे उनलाई । पोखराको लागि अझैं पनि म गुमनाम छन् उनी । शालिन भद्र स्वभावका बानियाँलाई मदन पुरस्कारको त्यति साह्रो चाख लागेको पनि होइन । भलै उनले यसको स्वाद चाख्न पाए ।

‘बुढ्यौली लागि सक्यो । अरुलाई दिए हुन्थ्यो भन्ने प्रतिक्रिया पढेँ । यति धेरै चर्चा पाउनुमा तपाईंलाई गर्व लाग्देन ?’ सहजकर्ताले अर्को प्रश्न तेस्याई हाले ।

पुरस्कार गौरव गर्न लायक चिज जस्तो लाग्छ रे उनलाई । लेख्न प्रेरित गर्ने धेरै थोक छन् । जसमध्ये एक रहर हो । त्यही रहर कालान्तरमा बानीमा परिणत हुन्छ । अर्को मान्छेले धेरै अध्ययन गरेपछि उसको मष्तिस्क भरिन्छ र छचल्किन्छ ।

अनौठो कुरा लेखक बानियाँमा यि दुई वटै थोक छैन रे ! ‘मैले १० वर्षसम्म केही पनि लेखिनँ । पुरस्कार पाउँदा खुसी नहुने को छ म पनि एकदमै खुसी छु । सम्मान पुरस्कार गौरव गर्ने चिज हो । गर्व गर्ने होइन,’ उनी भन्छन् ।

महारानीले पुरस्कार पाएपछि यति धेरै चर्चा भयो कि महारानी पछि त किताब र लेखकबारे धेरै खोजी भयो । धेरै लेखहरु लेखिए ।  अर्को अनौठो कुरा त के छ भने मदन पुरस्कार पाएपछि पनि अर्को किताब निस्कियो । तर, त्यसको कुनै चर्चा भएन । ‘पुरस्कार पाएपछि मात्रै चर्चा गर्ने यो कस्तो चलन ?,’ सहजकर्ताले प्रश्न गरे ।

‘चर्चा पाउने अनुमान पनि थिएन । पुरस्कृत हुन्छ भन्ने पनि कुनै कल्पनै थिएन । पुरस्कृत भयो यो आफैंमा अचम्म छ । म चकित छु,’ लेखक बानियाँले मदन पुरस्कार जित्दा ताकाको अनुभव सेयर गरे ।

मदन पुरस्कार विजेता लेखकको अर्को किताब चर्चामा उति साह्रो नआउनु प्रकाशन गर्ने अनुकुल समय नमिलेको जस्तो लागेको छ रे उनलाई । ‘त्यसैले यो छायामा पर्यो जस्तो लाग्छ,’ उनले अघि सुनाए ।

‘महारानीको जननी पर्वत । तपाइँ इतिहासको विद्यार्थी पनि हो । पर्वत राज्यको इतिहास नै किन लेख्नु खोज्नु भयो ?,’ सहजकर्ताको प्रश्न थियो यो ।

लेखक बानियाँले अघि सुनाए, ‘पर्वतको इतिहास लेखिएको छैन । कसैले लेखेन मैले लेखी हालौँ भनेर लेखे । मसँग थुप्रै कथाहरु संकलित छन् । मलाई के लाग्यो भने मैले यि कथा भावी पुस्तालाई सुनाउनु पर्छ भन्ने लाग्यो र महारानीको जन्मभयो ।’

पाठकको हातमा पुगेपछि पहिलो दिनदेखि नै प्रशंसा हुन लाग्यो महारानीको । नयाँ समालोचकहरुले नेपालमा लेखिएका ऐतिहासिक उपन्यास मध्येको एक हो भनि दिए । महारानीका पात्रमध्ये ९० प्रतिशत पात्र इतिहासबाट लिइएका हुन् ।

‘उपन्यासमा घनश्याम राजा संवेदनशील देखिएका छन् । यसरी लेख्नुको अर्थ अहिलेको वर्तमान राज्य पनि त्यस्तै भै दिए हुन्थ्यो भन्ने हो रे ! भर्खर सामन्तवादमा उक्लिदै गरेको राजा, गोरखामा दौडेर राजा हुने चलन थियो । तै पनि मेरो कल्पनामा राजा त्यस्तो भयो,’ लेखक बानियाँ अघि सुनाउँछन् । ‘उनी जनमैत्री राजा थिए ।’

‘त्यति बलियो राजाले चलाएको राज्य कसरी धुलिसात भयो ?,’ सहजकर्ता बानियाँले प्रश्न गरे ।

‘दुई भाइको लडाइँ भयो भाइ मारियो । यो ऐतिहासिक कथा हो । घनश्यामले ऐतिहासिक घटना हेरेर काशी तिर्थ गए । मैले घनश्यामलाई काशी पठाएँ । मैले इंगित गरे जस्तै घनश्यामले गल्ति गरेका हुन् । दुई भाईको लडाइँ मिल्नु पर्ने थियो भन्ने हो । यो राजनीतिसँग जोडिएको छ ,’ लेखक बानियाँले भने ।

‘पहिलो संविधान सभा बनायौ । राम्रो संविधान बनाउने बाटोमा थियौं । त्यो कसैलाई पचेन । परिवर्तनकारी शक्ति बलियो हुन पनि सकेन,’ उनले थपे, ‘दोस्रो संविधान बनाउँदा मतदाता कमजोर भयौँ । परम्परागत शक्तिलाई जितायौँ । संविधान त बनायौं । तर, जनताले खोजे जस्तो बनेन । चाहेर नचाहेर केही राम्रा कुरा परे ।’

नेपाल आइएमइ लिट्रेचर फेस्टिभलका नवौं संस्करण भर्चुअल्लि रुपमा पोखरा १८ सराङकोटमा चल्दै छ । आयोजक संस्था बुकवर्म फाउन्डेसनले यो पालिको साहित्य मेलामा १६ सेसन छन् । ४७ वक्ताले यो पालिको साहित्य मेलामा साहित्य बहस छेड्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप