सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाजु–बहिनीः जसले सामाजिक सञ्जालमार्फत विदेशी बनेर ठगे

परिवार नै ठगीमा, दाजु–बहिनी पक्राउ
मङ्गलबार, १४ पुस २०७७, २२ : ४४
मङ्गलबार, १४ पुस २०७७

काठमाडौं । आशा श्रेष्ठ र सन्तोष श्रेष्ठ सहोदर दाजु–बहिनी हुन् । पूर्वी रुकुमको भुमे गाउँपालिका घर भएका उनीहरु कीर्तिपुर बस्थे । अहिले दाजु–बहिनी नै प्रहरीको हिरासतमा छन् । पूर्वी रुकुमको भुमे गाउँपालिका–३ मोरवाङका हुन उनीहरु ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई ठगी अरोपमा पक्रेको हो । फेसवुक र ह्वाट्सएप मार्फत विदेशी नागरिकको भेषमा कुरा गरेर उनीहरुले ठग्ने गरेको महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अहिलेसम्म उनीहरुले करिब ४२ लाख ठगेको खुलेको छ ।

बेलायत सपना, २५ लाख स्वाहा

आशा र सन्तोषको ठगी शैली पुरानै हो । फेसबुक र ह्वाट्स एपमार्फत साथी बनाउने, जाल बिछ्याउने अनि ठग्ने । सन्तोषले विदेशी नागरिकको फोटो राखेर फेसबुक चलाउँथे । काठमाडौंकी एक अधबैंशे महिलालाई उनले फेसबुकमा रिक्वेस्ट पठाए । पहिले उनको चाहनाबारे अध्ययन गरे । अनि प्रस्ताव गरे– ‘म बेलायतमा छु, मेरी पत्नी छैन्, तिमीसँग विहे गरेर लण्डन शहर घुमाउने र सँगै जिउने इच्छा छ ।’

लण्डन शहरमा जिन्दगी बिताउने रहर कसलाई हुँदैन् । अनि, ती महिला सन्तोषसँग नतमस्तक भईन् । ह्वाट्स एपमा पार्सलको फोटो पठाए । त्यहाँ नेक्लेश र सुनको हार लगायतका सामान भएको जानकारी दिए । त्यसपछि उनी केही समय सम्पर्कविहिन भए । काठमाडौंमा रहेकी महिलालाई कहिले भारतको रिजर्ब बैंक त कहिले विमानस्थल भन्सारबाट फोन आउन थाल्यो ।

पार्सलमा डलर, सुन र लाखौंको हिरा भएकाले भन्सार तिर्न पैसा डिपोजिट गर्नुपर्ने प्रस्ताव आयो । हुनेवाला पतिले पठाएको सामान लिन उनले ऋण काढेर, गहना बेचेर उनले २५ लाखसम्म पठाइन् । मान्छे नचिनिकन फोनबाट भनेको भरमा २५ औं लाख बुझाएपछि बल्ल उनको चेत खुल्यो ‘म ठगिएछु ।’

त्यसपछि उनी प्रहरी कार्यालय पुगिन् । अनुसन्धान गर्दै जाँदा सन्तोषको दाजु–बहिनी मिलेर उनलाई ठगी गरेको खुल्यो । ‘उनीहरुलाई सुन्धाराबाट पक्राउ गरेर थप अनुसन्धान शुरु गरेका छौं’–एसएसपी दिपक थापाले भने ।  

परिवार नै ठगीमा

सन्तोष (२२ वर्ष) र आशा श्रेष्ठ (१९ वर्ष)का जेठा दाजु भारतमा बस्छन् । त्यहाँ उनले ठगीको योजना बनाउँछन् । अनि, भन्सार प्रमुख र भारतीय रिजर्व बैंकको मेनेजर बनेर नेपालमा फोन गर्छन् । दाईको डिलअनुसार सन्तोष र आशाले नेपालमा आइएमईमार्फत प्राप्त हुने पैसा निकालेर भारतमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

माईला दाई मलेशियामा बस्छन् । बेलायती र अष्ट्रेलियन नागरिक बनेर कुरा गरेर ह्वाट्स एपमार्फत पठाएको सामान मलेसिया आईपुगेको भनेर माईलो दाईले त्यहाँका नम्बरबाट पनि पीडितलाई फोन गरेर विश्वास दिलाउँछन् । वुवाचाहिँ वैदेशिक रोजगार ठगी मुद्धामा जेलमा छन् ।

यी दाजु बहिनीबाट ठगिएका तीनजना महिला अहिले प्रहरी सम्पर्कमा आएका छन् । एक जनालाई चिठ्ठा परेको भनेर ५ लाख र अर्की एकजनालाई ११ लाख ठगेको पीडितको दावी छ । ठगीका लागी उनीहरुले धेरैजसो महिलालाई नै टार्गेट गर्थे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप