सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्री ओलीले १० वर्षअघि नै प्रतिगमनको शुरुवात गरिसकेका थिए’

मङ्गलबार, २१ पुस २०७७, २३ : २७
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रलाई सुनियोजित ढंगबाट समाप्त पार्न लागेको आरोप सरोकारवालाहरुले लगाएका छन् । प्रधानमन्त्री ओलीले ल्याएको प्रतिवेदन आज मात्र नआएको भन्दै उनीहरुले यो १० वर्ष पहिलादेखिकै तयारी रहेको टिप्पणी गरे । देशमा पहिलो संविधानसभा भंग भएसँगै  ओलीको उदय भएको र त्यही बेलादेखि प्रतिगमन शुरु भएको उनीहरुको आरोप छ ।

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदम निरकुंश मात्र नभई गणतन्त्र विरोधी र जनमत विरोधी रहेको बताए । प्रधानमन्त्री ओलीले आफूलाई नै केन्द्रमा राखेर काम गरेका कारण यो समस्या आएको अध्यक्ष नेपालको भनाई थियो । प्रधानमन्त्री ओलीमा ‘जो हम से टकराएहा चुरचुर हो जाएगा’ प्रवृत्ति भएका कारण उनलाई पार्टीले कारवाही गरेको नेपालले स्पष्ट पारे ।

जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ओलीले पार्टीमा निरकुंश चरित्रको व्यवहार देखाएका कारण पार्टीले कारवाही गरेको बताए । नेता नेपालले प्रधानमन्त्री ओलीलाई गणतन्त्र र संघीयता मन नपरेका कारण उनले संसद विघटन गरेको टिप्पणी गर्दै उनको प्रतिगमनको विरुद्ध सामूहिक आन्दोलन गर्नुपर्नेमा जोड दिए ।  नेपालले भने, ‘मैले ओलीसँग २०२९ सालदेखि काम गरेको हुँ तर उनीभन्दा प्रचण्ड फार बेटर रहेछन् ।’ आफू प्रधानमन्त्री भएका बेला प्रचण्डले पनि टक्कर दिएको स्मरण गर्दै गर्दै नेपालले तर पछि उनी घनिष्ठ मित्र बनेको बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली महत्वकांक्षी नेता भएको आरोप लगाए । ओलीको महत्वकांक्षामा अलिअलि ठेस लागेपछि उनले संसद विघटन गरेको पौडेलले आरोप लगाए । उनले पार्टीको रिस संसदमाथि पोखेर लोकतन्त्रलाई समाप्त पार्ने प्रयत्न गरेको दावी पौडेलले गरे । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै पनि विशेष अधिकार संविधान नरहेको तर ओलीले विशेष अधिकार प्रयोग गरेको टिप्पणी गर्दै उनले संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाए ।

आफ्नै पार्टीका कतिपय नेता संसद विघटन हुँदा खुशी भएको बताउँदै उनले आफूले संसद विघटनले पार्टीलाई फाइदा भएपनि देशलाई घाटा हुने कुरा राखेको बताए । ‘लोकतन्त्र रहे मात्र हामी सांसद बन्छौ, मन्त्री बन्छौ, प्रधानमन्त्री बन्छौ भनेपछि मात्र नेताहरूको चित्त बुझेको थियो’ उनले भने, ‘कुनै नेतालाई आफ्नो स्वार्थ मिलेन भने संसद बिघटन गरिदिने , पार्टीको आन्तरिक विवादको कारण संसद विघटन गरिदिने काम विगतमा पनि भएको थियो । हाम्रो पार्टीका तत्कालिन सभापति तथा प्रधानमन्त्रीले पनि गर्नुभएको थियो ।’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले सर्वोच्च अदालतमाथि विश्वास राख्न सबैलाई आग्रह गरे । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको हुनाले संविधानअनुसार अदालतले निर्णय गर्ने कुरामा विश्वस्त रहन उनले आग्रह गरे । उनले भने, ‘सर्वोच्चको आलोचना हुनुु नराम्रो होइन, यसले अदालतलाई पनि राम्रो बाटो समाप्त प्रेरित गरेको हुन्छ, अदालतलाई गाली गर्नु, नजिर देखाउनु भनेको विरोध गर्नु होइन ।’

लेखक एवम् समाजिक अभियन्ता युग पाठकले केपी ओलीको उत्थान नै प्रतिगमनका लागि भएको टिप्पणी गरे । उनले केपी अ‍ोलीको उत्थानसँगै प्रतिगतमको शुरुवात भएको दाबी गर्दै त्यो १० वर्षअघि नै विजारोपण भएको टिप्पणी गरे । उनले भने, ‘जब पहिलो संविधानसभा भंग भयो, तब केपी ओलीको उत्थान भएको थियो र त्यही बेलादेखि प्रतिगमनको शुरुवात भएको थियो ।’ जहाँ प्रतिगमनको शुरुवात भएको थियो त्यहीबाट सच्चिए मात्र लोकतन्त्रलाई बचाउन सकिन्छ नत्र यही अवस्थामा संसद पुनःस्थापना भएपनि लोकतन्त्रमाथि एउटा खतरा रहिरहने उनले बताए ।

नेकपा (प्रचण्ड–माधव समूह) का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री ओलीको कदम असवैधानिक मात्र होइन, निरंकुश समेत रहेको बताए । उनले देशमा प्रतिगमन ल्याउनुमा एक दिनको तयारी नभई वर्षौंदेखि तयारी गरेर संसद विघटन गरी लोकतन्त्रलाई समाप्त पार्न लागेको पुनले बताए ।

आफु ओलीको कार्यशैली र सोचबाट परिचित रहेको बताउँदै पुनले इन्टिलिजेन्स, सम्पत्ति शुद्धिकरणलगायतका निकाय आफ्नो मातहतमा लिएपछि नै उनीमाथि आशंका शुरु भएको बताए । ‘त्यो कुरा पार्टीमा पनि उठेको थियो तर उनले आफूलाई सच्याउन चाहेनन्’ पुनले खुलासा गरे । ‘विभिन्न शृङ्खला हेर्दा ओली गणतन्त्रप्रति प्रतिबद्ध नरहेको कुरा प्रष्ट हुन्छ’ पुनले भने । संघीयता र समावेशीलाई उनले मन नपराएको टिप्पणी गर्दै पार्टीभित्रको आन्तरिक विवादलाई उनले सिगैं देशमाथि लादेको टिप्पणी पुनले गरे ।

नागरिक समाजका अगुवा कृष्णराज खनालले प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत लडाईका कारण देशलाई प्रतिगमनतर्फ धकेलेको टिप्पणी गरे । ‘संसद विघटनको मुद्दा सर्वोच्च अदालतको मुुद्दा मात्र नभएर जनताको मुुद्दा पनि हो, जनताले फैसला गरिसक्यो कि यो गलत हो, प्रधानमन्त्री ओलीले गलत गरेको हो, संविधान विपरित कार्य गरेको हो भनि भनिसकेको हुनाले अब अदालतको बाटो पर्खिन हुँदैन’ खनालले भने । अदालत पनि संविधानअनुसार चल्ने भएको हुनाले उसले पनि कसैको मुख हेरेर बस्न नहुने खनालको भनाई छ । उनले अदालतलाई जनताको अवाज सुुन्न सुझाव दिए ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले राज्य सञ्चालनमा नेकपा असफल भएका कारण देशमा संकट आएको बताए । संविधानको बारेमा आज बहस शुरु भएको तर आफूूहरुले शुरुदेखि नै त्यसको विरोध गर्दै आएको बताउँदै उनले देशमा शुरुदेखि नै प्रतिगमन रहेको र अहिले त्यसमाथि अर्को प्रतिगमन शुरु भएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप