आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के ट्रम्पलाई बाँकी रहेको १४ दिनको कार्यकालमा बन्न दिइने छैन राष्ट्रपति ?

बिहीबार, २३ पुस २०७७, १४ : २९
बिहीबार, २३ पुस २०७७

अमेरिकाका प्रमुख उद्योगी समूहले ट्रम्पलाई सत्ताच्यूत गर्न माग गरेका छन् । 

नेशनल एसोसिएसन अफ म्यानुफ्याक्चरर्सले उपराष्ट्रपति पेन्स र मन्त्रीमण्डलले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हटाउनेतर्फ सोच्नुपर्ने माग गरेका छन् । 

एसोसिएसनमा अमेरिकाका १४ हजार कम्पनीहरु आबद्ध छन् । त्यसमा एक्जन मोबिल कर्प, फाइजर इंक, टोयोटा मोटर कर्प जस्ता विश्वप्रसिद्ध कम्पनीहरु पनि आबद्ध छन् ।

एसोसिएसनका अध्यक्ष एवं कार्यकारी अधिकारी जे टिम्मोन्सले‘ट्रम्पले सत्तामा टिकिरहनका लागि हिंसा भड्काएको आरोप लगाएका छन् । उनले ‘एउटा निर्वाचित नेताले त्यस किसिमको कार्य गर्नुभनेको आफूले संविधानप्रति गरेको प्रतिबद्धतालाई उल्लंघन गर्नु हो र त्यो भनेको अराजकताको पक्षमा प्रजातन्त्रलाई इन्कार गर्नु पनि हो’ भन्दै ‘उपराष्ट्रपति पेन्सले आफ्ना मन्त्रीमण्डलसँग सहकार्य गर्दै प्रजातन्त्रको रक्षाको लागि संविधानको २५ औं संशोधनलाई लागू गर्नुपर्ने’ माग गरेका छन् । 

अमेरिकाको संविधानको २५ औं संशोधनअनुसार राष्ट्रपति आफ्नो कार्य सम्पादन गर्न असफल वा अयोग्य साबित भएमा उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार सम्हाल्न सक्नेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल अब दुई हप्ताजति मात्र बाँकी छ । आगामी जनवरी २० मा उनको कार्यकाल समाप्त हुँदैछ । तत्पश्चात नवनिर्वाचित बाइडेनले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले गरेको हिंसात्मक विद्रोहका विरुद्धमा अन्य व्यवसायी संगठनहरुले पनि आवाज उठाएका छन् । तर यसरी राष्ट्रपतिलाई नै सत्ताच्यूत गर्ने माग चाहिँ उनीहरुले गरेका छैनन् ।

अमेरिकाका केही ठूला कम्पनीहरुका प्रमुखहरुको एसोसिएसन ‘द बिजिनेस राउण्ड टेबल’ले ‘मुलुकको राजधानीमा भएको अराजकता प्रजातान्त्रिक निर्वाचनको माध्यमबाट आएको वैधानिक नतिजालाई उल्टाउने गैरकानूनी प्रयास हो’ भनी टिप्पणी गरेको छ । 

उनीहरुले ट्रम्प र अन्य सम्बन्धित पदाधिकारीहरुलाई सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि अहिलेको अराजकता अन्त्य गर्नुपर्ने माग पनि गरेका छन् ।

त्यसैगरी, ह्वाइटहाउस निकट मानिने तथा अमेरिकाका शक्तिशाली व्यवसायिक समूह ‘यूएस च्याम्बर अफ कमर्श’ ले पनि  ‘मुलुकको क्यापिटल भवन र प्रजातन्त्रमाथि भइरहेको आक्रमण अन्त्य हुनैपर्ने’ माग गरेको छ ।

च्याम्बरका प्रमुख कार्यकारी अधिकृत थोमस डोनोहुवेले एक वक्तव्य प्रकाशित गर्दै ‘अमेरिकाका कंग्रेसले इलेक्टोरल कलेजको रिपोर्टलाई स्वीकारेर आफ्ना संवैधानिक दायित्वलाई पूरा गर्नुपर्ने’ माग पनि गरेको छ ।

त्यसो त ट्रम्पलाई पदच्यूत गर्नका लागि पहिले पनि एक पटक महाभियोग लगाउने कोसिस भएको थियो जुन सफल हुन सकेन । बुधबारको घटनापछि ट्रम्पलाई पदबाट हटाउनका लागि व्यापक माग भइरहेको छ । 

भर्जिनियाबाट डेमोक्रेटिक पार्टीका सांसद डोनाल्ड बेयरले बुधबार भने, ‘डोनाल्ड ट्रम्प हाम्रो लोकतन्त्रका लागि खतरा हुन् । म उनलाई पदबाट हटाइने र महाभियोग लगाइने कुराको समर्थन गर्छु । संविधानको २५ औं संशोधनमार्फत् ट्रम्पलाई पदबाट हटाउन थप सहज हुनेछ ।’

न्यूयोर्ककी डेमोक्रेट एलेक्जेन्ड्रिया कार्टेजले पनि आफ्नो ट्वीटमा ट्रम्पविरुद्ध महाभियोग लगाउन माग गरेकी छिन् । तर ट्रम्पको कार्यकाल छोटो रहेकोले महाभियोगको विकल्प खासै व्यवहारिक नहुने बताइएको छ । 

ट्रम्पकै पार्टीका थुप्रै सदस्य उनलाई पदबाट हटाउने माग गरिरहेका छन् । वर्मोन्टबाट रिपब्लिकन पार्टीका गभर्नर फिट स्कटले ट्वीट गरे, ‘अब अत्ति भो । राष्ट्रपति ट्रम्पले कि त राजिनामा दिनुपर्छ कि मन्त्रीमण्डल वा संसदले उनलाई पदबाट हटाउनुपर्छ ।’

अमेरिकाको प्रमुख पत्रिका ‘द वासिङ्टन पोस्ट’ को सम्पादकीय टीमले ट्रम्पलाई हटाउने कुरा गरेको छ र संविधानको २५ औं संशोधनको प्रयोगको समर्थन गरेको छ । पत्रिकाले आफ्नो सम्पादकीय टिप्पणीमा लेखेको छ, ‘राष्ट्रपति ट्रम्प अबको १४ दिनका लागि पदमा बसिरहनका लागि अयोग्य छन् । उनको कार्यकलको एक–एक सेकेन्ड कानून व्यवस्था र राष्ट्रिय सुरक्षाका लागि खतरा हो ।’

वासिङ्टन पोस्टले अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सलाई क्याबिनेट बोलाएर संविधानको २५ औं संशोधन लागू गर्न र ट्रम्पको बाँकी कार्यकालको जिम्मेवारी सम्हाल्न अपिल गरेका छन् । सन् १९६७ मा अमेरिकी संविधानमा २५ औं संशोधन लागू गरियो । यसअनुसार राष्ट्रपनि यदि शासन गर्न अक्षम भए वा उनको निधन भएको खण्डमा उनको स्थानमा अन्य कोहीलाई यो जिम्मेवारी दिन सकिने कानून व्यवस्था छ । यसका साथै, राष्ट्रपतिको राजिनामा वा निधनको स्थितीमा उप–राष्ट्रपतिलाई स्थायी रुपमा सत्ता सुम्पिन सकिने प्रावधान पनि छ ।

यस्तो प्रावधान पहिले पनि प्रयोग भएको थियो ?

डिसेम्बर सन् १९७३ मा अमेरिकी उप–राष्ट्रपति स्पिरो एग्न्यूले राजिनामा दिएका थिए । राजिनामा दिएको दुई महिनापछि फोर्डलाई संविधानको २५ औं संशोधनमार्फत् राष्ट्रपति रिचर्ड निक्सनले उप–राष्ट्रपति बनाएका थिए । संविधानको २५ औं संशोधनमार्फत् उप–राष्ट्रपति बनाइएको फोर्ड पहिलो व्यक्ति थिए । यसका लागि संविधानको २५ औं संशोधनको पहिलो दुई धारा प्रयोग गरिएको थियो । अगस्त सन् १९७४ मा राष्ट्रपति निक्सनको राजिनामा पछि फोर्डले राष्ट्रपति पदको कार्यभार सम्हालेका थिए । कार्यकालका बेला मृत्युको परिस्थितीलाई छोड्ने हो भने अमेरिकाको इतिहासमा फोर्डको राष्ट्रपति कार्यकाल सबैभन्दा छोटो रह्यो ।

संविधानको २५ औं संशोधनको तेस्रो धारामा राष्ट्रपतिलाई अस्थायी रुपमा उप–राष्ट्रपतिलाई आफ्ना शक्ति र जिम्मेवारी सुम्पिने अनुमति दिइएको छ । यसको प्रयोग सन् १९८५ मा गरिएको थियो जब अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको शल्यक्रिया गर्नुपर्ने थियो । सन् २००२ र सन् २००७ मा जर्ज डब्ल्यू बुशलाई जब एनिस्थिसिया दिइएको थियो तब यो धाराको प्रयोग गरिएको थियो । यस्तै संविधानको २५ औं संशोधनको चौथो धारामा यदि राष्ट्रपति सत्ता हस्तान्तरण वा आफ्नो जिम्मेवारी निभाउन अक्षम भएको खण्डमा उनलाई पदबाट हटाउन सकिने प्रावधान पनि छ । तर यो धाराको प्रयोग अहिलेसम्म गरिएको छैन । 

के छ प्रक्रिया ?

अमेरिकाका उप–राष्ट्रपतिको सहमित र मन्त्रीमण्डलको बहुमतले राष्ट्रपति आफ्नो जिम्मेवारी पालना गर्न अक्षम छन् भनेर घोषणा गर्न सकिन्छ । यदि यसको विरोध भए दुबै सदनमा उप–राष्ट्रपतिलाई सत्ता सुम्पिनका लागि दुई तिहाईको बहुमत आवश्यकता हुनेछ । यद्यपि, संविधान संशोधनमा कुनै राष्ट्रपतिलाई अक्षम घोषित गर्नका लागि कस्ता शर्त हुनेछन् भन्ने कुरा निश्चित गरिएको छैन । विशेषज्ञले यस्तो जानीजानी गरिएको बताउने गरेका छन् । 

के माइक पेन्सले ट्रम्पलाई हटाउनेछन् ?

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सले राष्ट्रपति ट्रम्पको क्षमतामा प्रश्न गर्ने कुरामा अहिलेसम्म त्यस्तो कुनै संकेत दिएका छैनन् । सन् २०१९ मा पेन्सले यस्तो प्रकारको सुझावलाई बकवास बताएका थिए । 

यद्यपि, पेन्स बुधबार ट्रम्पमाथि बेस्सरी बर्सिए । पेन्सले आफूले कानून व्यवस्था भंग हुन नदिने बताउँदै ‘कांग्रेसलाई इलेक्टोरल भोटको गन्ति गर्नबाट रोक्न ट्रम्पलाई उनको संवैधानिक शक्तिको दुरुपयोग गर्न पनि नदिने’ जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप