आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद् हमलाको २४ घण्टापछि सार्वजनिक भए ट्रम्प, सुव्यवस्थित सत्ता हस्तान्तरणको बाचा

शुक्रबार, २४ पुस २०७७, ०९ : ०७
शुक्रबार, २४ पुस २०७७

अमेरिकी संसद् भवनमा भएको हिंसाको २४ घण्टापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक भिडियो ट्वीट गरेर आफ्ना समर्थकको हिंसामाथि निन्दा गर्दै आफूले व्यवस्थित सत्ता हस्तान्तरण चाहेको बताएका छन् । 

उनले भने, ‘म अमेरिकी संसद् भवनमा भएको हिंसाबाट भाषणको सुरुवात गर्न चाहन्छु । अन्य अमेरिकी जस्तै म पनि अमेरिकी संसद् भवनमा भएको हिंसा र अराजकताले क्रोधमा छु । मैले भवनको सुरक्षा र घुसपैठ गर्नेहरुलाई निकाल्नका लागि नेशनल गार्ड र ल एन्फोर्समेन्ट फोर्सलाई तत्काल तैनाथ गराएको थिएँ ।’

यद्यपि, थुप्रै समाचार एजेन्सीले सुरक्षाबलको तैनाथी माइक पेन्सले गराएको र ट्रम्प यसको विरोधमा भएको बताएका छन् । 

उनले अमेरिका सधैं एक कानून–व्यवस्था भएको देशको रुपमा परिचित हुनु आवश्यक भएको बताएका छन् । उनका अनुसार संसद् भवनमा हिंसा गर्ने घुसपैठीहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र पारेका छन् । 

राष्ट्रपति ट्रम्पले भने, ‘जो मानिसहरु हिंसा र तोडफोडमा संलग्न थिए उनीहरुले हाम्रो देशको प्रतिनिधित्व गर्दैनन् र जसले कानून तोडेका छन् उनीहरुले यसको मूल्य चुकाउनुपर्छ ।’

सत्ता हस्तान्तरणका लागि राजीः

राष्ट्रपति ट्रम्पले भिडियोमा आफू व्यवस्थित सत्ता हस्तान्तरणका लागि प्रतिबद्ध भएको बताएका छन् । 

उनले नयाँ प्रशासन २० जनवरीदेखि आउने र सुचारु, सुव्यवस्थित र निर्वाध सत्ता हस्तान्तरणको बचन दिएका छन् । 

अमेरिकी संसद् भवनको हमला पछि राष्ट्रपति ट्वीटरमा फर्किएका छन् जबकी फेसबुकमा उनको अकाउन्ट दुई हप्ताका लागि सस्पेन्ड छ । यसबाहेक इन्स्टाग्राममा पनि उनको अकाउन्ट सस्पेन्ड छ । 

ट्रम्पले सोसल मिडियामार्फत् आफ्ना समर्थकलाई अमेरिकी चुनाव परिणाम नमान्न अपिल गरिरहेका थिए । संसद् भवनमाथि हमलाका लागि आफ्ना समर्थकलाई भड्काएको भन्दै उनको अत्यधिक आलोचना भइरहेको छ । उनलाई सत्ताच्यूत गर्न पनि थुप्रैले माग गरिरहेका छन् । 

ट्रम्पले चुनाव भर्खरै समाप्त भएकोले मानिसहरुको भावना अत्यधिक गहिरो भएको तर मनोभावलाई शान्त गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘हामीले अमेरिकाको जनजीवनको हिसाबले चल्नुपर्छ ।’

उनले भने, ‘मेरो चुनावी अभियानले निकै जोडतोडका साथ चुनावी परिणामका लागि हरेका कानूनको सहारा लियो । मेरो लक्ष्य इमान्दार मतपत्रलाई सुनिश्चित गर्नु मात्रै थियो । यस्तो गरेर अमेरिकी लोकतन्त्रको रक्षाका लागि लड्नु थियो । मेरो सधैं यही मान्यता रहँदै आएको छ कि हामीले सबै मतदाताको पहिचान र वैधानिकताको अनुसनधानका लागि हाम्रो चुनावी कानूनमा परिवर्तन आवश्यकता छ । यसो गरेर भविष्यका सबै चुनावमा विश्वास र साहस सुनिश्चित गर्न चाहन्छु ।’

ट्रम्पले अब संसदले परिणामका लागि प्रमाण पत्र जारी गरिसकेको र २० जनवरीमा नयाँ प्रशासन आउने बताएका छन् । 

उनले भिडियोको अन्त्यमा आफ्ना समर्थकलाई पनि सन्देश दिए । 

उनले भने, ‘मलाई थाहा छ, तपाईंहरु निराश हुनुहुन्छ तर म तपाईंहरुलाई भन्न चाहन्छु कि हाम्रो अविश्वसनीय यात्रा भर्खर अहिले सुरु भएको छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप