सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा प्रधानमन्त्रीलाई सांसदको प्रश्न- ‘चुच्चे जमिन ल्याउन नसकेर संसद भंग गर्नुभएको हो ?’

आइतबार, २६ पुस २०७७, १६ : ३२
आइतबार, २६ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रियसभाका सांसदहरुको प्रश्नको जवाफ दिएका छन् । आइतबार बसेको राष्ट्रियसभाको हिउँदे अधिवेशनको अन्तिम बैठकमा प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा चुनाव घोषणा गर्नु संवैधानिक भएको दावी गरे । उनले आफ्नो सरकारले गरेका कामहरुको फेरिस्त पनि प्रस्तुत गरे । राष्ट्रियसभामा ५ सांसदले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेको भन्दै संविधान पढ्न भन्दै कटाक्ष गरेका थिए । 

कुन सांसदले के भने ? 

जितेन्द्र देव
प्रधानमन्त्रीज्यूले अहिलेको परिस्थिति र संविधानबारे राखेका भनाईहरुप्रति म पूर्ण असहमत छु । प्रधानमन्त्री आफै दावी गर्दै हुनुहुन्छ नेकपा भित्र र संसदीय दलभित्र बहुमतमा छु तर पार्टीका साथीहरुले काम गर्न रोके । पुरै संसदको ६४ प्रतिशतको कमाण्ड गरेको पनि दावी कसरी गर्नुभएको छ ?

प्रमिलाकुमारी  

२००७ सालको संविधानलाई राणाहरुले तुहाए, २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरे । राजा ज्ञानेन्द्रले लोकन्त्रको घाँटी निमोठे, ठ्याक्कै त्यसरी तपाईले पनि  प्रतिनिधिसभाको विघटन गरी अहिलेका सबै उपलव्धीहरु नास गरी गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षतामाथी तरवार झुण्डाउनुभएको छ । जसको प्रतिकार सदन र सडकबाट भइरहेको छ । त्यसैले नै तपाईले सदन बन्द गर्न खोज्नुभएको हो ? हामी राष्ट्रियसभाका सदस्यहरु सदन बन्द होस् भन्ने पक्षमा छैनौं । र यसै सदनबाट प्रतिनिधिसभा पुनस्स्र्थापनाको पनि माग गर्दछु । 

रमेशजङ्ग रायमाझी

प्रधानमन्त्रीले नेपालको संविधानको धारा ७६ को १ अनुसार बनेको सरकार भन्नु भयो । यो होइन । यो संविधान अहिले पढियोस् । अध्यक्ष ज्यू र प्रधानमन्त्रीज्यूले पनि पढ्नुस् । नेकपा माओवादी र नेकपा एमाले मिलेर संयुक्त सरकार धारा २ अन्तर्गत बनेको हो । धारा ५ लाई प्रयोग नगरीकन धारा ७ प्रयोग गरेर प्रधानमन्त्री जानुभएको छ । त्यसकारण संसदले अर्को सरकार बनाउने सम्भावना हुँदाहुँदै यो कदम प्रधानमन्त्रीले किन चाल्नुभयो ? 

प्रकाश पन्त

मृत्युपर्यन्त आँखा दान गरेको यो त मर्ने चिज रैछ भनेर त्यसलाई मारेरै आँखा निकालियो । संसदको विघटन पनि यस्तै भयो । संविधान च्यातेर निर्वाचन कसरी हुन्छ । यो त नहर भत्काएर रोपाई गर्न जा भने जस्तो भएन ? नहर नभएसम्म रोपाई हुन सक्दैन । संविधान बचे चुनावमा जाउँला । चुनाव त राजाले पनि गर्छु भनेका थिए । जमिन खोजेको चित्र त बाँड्नुभयो । चुच्चे जमिन ल्याउन नसकेर संसद भंग गर्नुभएको हो ? जतिसुकै तर्क गरेपनि संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक छ ।  यो अन्यन्तै खेदजनक छ । गेस पेपर पढेर भएन प्रधानमन्त्री ज्यू संविधान पढ्नुपर्यो ।  

अनिता देवकोटा
संविधानले दिँदै नदिएको असंवैधानिक कार्यको म घोर भत्र्सना गर्न चाहन्छु । आफ्नो सत्ता यात्रा टुंगिदै गर्दा संसदको घाँटी रेट्न पछि नपर्ने प्रधानमन्त्रीले कसरी निर्वाचन गर्छ भनेर प्रश्न गर्न चाहन्छु । त्यसै गरी धनगढीमा भएको आमसभामा निर्मला पन्तका बलात्कारी खै भन्ने टिसर्ट लगाएकालाई समातियो ।

अब के संविधानमा मौलिक हक अन्तर्गत धारा १७ पनि विघटन भएको हो ? संविधानको १०१ माहा लेखिएको छ ११९ राज लेखिएको छ, अब यहाँले महाराज घोषणा गरियोस् भनेर राष्ट्रपतिकहाँ पठाउनुहोला अनि राष्ट्रपतिले त्यो विज्ञप्ति जारी गर्नु होला के हामीले तपाईलाई महाराज भनेर मान्ने ? राष्ट्रिय पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन २ साता नबित्दै ५ वटा बैठक राखेर अन्त्य भएको छ । सरकारले आज अधिवेशन अन्त्य गर्ने निर्णय गरेर राष्ट्रपति भण्डारीलाई सिफारिस पठाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप