मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दशैं मनाउन घर फर्कने भन्छन्– ‘भेरी एक्साइटेड’

बुधबार, ११ असोज २०७४, १२ : ०४
बुधबार, ११ असोज २०७४

‘भेरी एक्साइटेड’ ।
–अमृता गुरुङ ।
एकदम खुसी ।
–खेमराज अर्याल
अत्यन्तै रमाइलो ।
–विक्रम सापकोटा । 

उल्लिखित भनाइ दसैं मनाउन घर फर्कने गुरुङ, अर्याल र सापकोटाको हो । दसैं मनाउन घर फर्केका तीनैजनालाई रातोपाटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेको थियो । उनीहरूको मुहारमा खुसी नै खुसी पोतिएको प्रस्टै देखिन्थ्यो ।

हस्पिटालिटी र नर्सिङ अध्ययन सकेर ६ वर्षपछि बेलायतबाट फर्केकी गुरुङले भनिन्, ‘संयोगले दसैंअघि नै पढाइ सकियो । दसैं मनाउन घर फर्कन पाउँदा भेरी एक्साइटेड ।’

आठ वर्षपछि दसैं मनाउन घर फर्कन पाउँदा सुनवल नवलपरासीका खेमराज अर्याल पनि गुरुङजत्तिकै पुलकित छन् । अर्यालले भने, ‘परिवारसँग दसैं धुमधाम मनाइन्छ । दसैं मनाउने विमानस्थलबाटै परिकल्पना गर्दा मात्रै पनि एकदम खुसी छु ।’

हिन्दु धर्मावलम्बीको महान् चाड हो– दसैं । परदेशमा रहेकाहरू दसैं मनाउन सम्भव भएसम्म घर फर्कने परम्पराजस्तै बनेको छ । त्यही परम्परा धान्दै दसैं मनाउन दुबईबाट घर फर्केका हुन्– विक्रम सापकोटा । नवलपरासीका सापकोटा दुबईबाट सालिन्दा घर फर्कने गरे पनि दसैं मनाउन नै घर फर्केको पहिलोपटक हो । दुबईको पेट्रोलपम्प काम गर्ने उनी दसैं मनाउन घर फर्कन पाउँदा कम्ती खुसी छैनन् । 

सांगठनिक कामविशेषले नेपालमै रहेका गोरखा भूतपूर्व सैनिक संघ (गेसो) अध्यक्ष कृष्णकुमार राईले समेत ९७ वर्षीय बुवाको हातको टीका लगाउन पाउने भएका छन् । गेसो अध्यक्ष राईले संवत् २०४७ देखि ०७१ सम्म दसैं बहिष्कार गरे पनि ०७२ देखि मनाउन थालेका छन् ।

राई परिवारले दसैं सामान्य तरिकाले मनाउने गर्छन् । खानपान पनि त्यस्तै हुन्छ । भने, ‘दालभात, बंगुरको मासु, आलुदम, गेडागुडी, सलाद र कोल्ड ड्रिंक्स खाइन्छ । खुवाइन्छ । चल्नेलाई मादक पदार्थले स्वागत गरिन्छ ।’

दसैंकथा उही हो । बदलिएको छैन । बदलिने कुरो पनि भएन । तर, दसैं मनाउने तरिका परक÷फरक हुन सक्छन् । ‘बाजेको पालामा बलि दिने गरिन्थ्यो । हिजोआज काटरमार गर्दैनौ । तर, जमरा राख्छौं । दशमीको दिन सेतो टीका लगाउँछौं । मासु किनेर ल्याएर खाइन्छ,’ विमानस्थलबाहिर भाइबहिनीलाई पर्खिरहेकी गुरुङले सुनाइन्, ‘दसैंमा आफन्तसँगको भेटघाट । मान्यजनबाट आशिर्वादसहित दक्षिणा थाप्नुको आनन्द भनिसाध्ये छैन ।’

विदेशमा रहँदा कोठाकै साथीभाइ र घरपरिवारसँग दसैं मनाउनुको आनन्द आकाशपाताल फरक हुने सापकोटाको बुझाइ छ । उनको तर्क छ, ‘विदेशमा साथीभाइबीच दसैं मनाए पनि दसैंजस्तो लाग्दैनथ्यो । तैपनि मन भुलाउने माध्यम त हो नि ।’ उनले यसपटक मान्यजनबाट टीका, जमरासहित आशिर्वाद थाप्छन् । श्रीमती र छोरीलाई टीका लगाइदिन्छन् । 

दुबईको आर्मी क्याम्पभित्र रहेको रेष्टुरेन्टमा कार्यरत अर्यालको दसैं अरूको भन्दा फरक हुँदैन । उनले पनि आमहिन्दु धर्मावलम्बीले मनाएजस्तै दसैं मनाउँछन् । भने, ‘आठ वर्षपछि घरपरिवारसँग दसैं मनाउन पाउँदा म कति खुसी हुँला तपाईंले कल्पनासमेत गर्न सक्नुहुन्न । आठ वर्षपछिको दसैं भव्य मनाउँछु । ससुराली जान्छु ।’ 

दसैं मनाउन घरबाहिर (स्वदेश तथा विदेश) रहेकासमेत धमाधम फर्कंदै छन् । आज (असोज ११ अर्थात्) फूलपाती । नवमीसम्म नेपाल टेक्नेले दसैं मनाउन घर पुग्न सक्छन् । पूर्णिमासम्म टीका लगाउने प्रचलन छँदै छ । पूर्णिमासम्मलाई आधार मान्ने हो भने टीकाको पर्सिपल्टसम्म नेपाल टेक्नेले परिवारसँग दसैं मनाउन पाउने नै छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजोआज भेटिने अधिकांश दसैं मान्न घर फर्कनेहहरू नै भेटिन्छन् । 

दसैं मनाउन काठमाडौं उपत्यकाबाट मात्रै १९ लाख (असोज १० सम्मको तथ्यांक) बाहिरिइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप