आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऊर्जा क्षेत्रको कामको निम्ति एमसीसी  पर्खेर बसिन्न : मन्त्री रायमाझी

बुधबार, २९ पुस २०७७, १४ : २७
बुधबार, २९ पुस २०७७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्नुनहुने बताएका हुन् ।

विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उनले बताए । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने उनको भनाई छ ।

ऊर्जा मन्त्री रायमाझीले बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युतको अपर्याप्तताका कारण बिद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उनको भनाई छ । मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्धाहरु नै गुम्ने स्थिति आएका कारण मध्यावधि निर्वाचनमा जानुपरेको उनले बताए ।

उनले मध्यावधि निर्वाचनमा जानु प्रगतिशील कदम भएको टिप्पणी गरे । देशको परिवर्तनको रक्षा गर्न निर्वाचन आवश्यक रहेको उनको भनाई छ । उनले प्रतिपक्षी दलहरु निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताए ।

मन्त्री रायमाझीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहिबारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्तरविरोध न्युनीकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिए । मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्र मन्त्री स्तरीय नियमित भ्रमण रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप