सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दोब्बर पुग्यो घरजग्गा कारोबार, एक महिनामा ७ हजार घरजग्गा किनबेच

शनिबार, ०३ माघ २०७७, १२ : २९
शनिबार, ०३ माघ २०७७

काठमाडौं । कोभिड–१९ महामारीसँगै शिथिल भएको घरजग्गा कारोबारले पुरानै बाटो समातेको छ । पुस महिनामा देशभर भएको घरजग्गाको किनबेच तथा कारोबारले पुरानै लयलाई समात्न थालेको देखिएको हो ।  
पुस महिनामा देशभर जग्गासँग सम्बन्धित २ लाख ३६ हजार कारोबार भएका छन् । यो भूमि व्यवस्थापन सूचना प्रणाली (एलआरएमबिआईएस) मा आवद्ध भएका देशभरका मालपोत कार्यालयबाट प्राप्त भएको विवरण हो । यस्तो कारोबार मंसिर महिनामा १ लाख ६८ हजारमा सीमित थियो भने मंसिर कात्तिक महिनामा १ लाख ४ हजार कारोबार मात्रै भएका थिए । पुस महिनामा भएको यो कारोबार मंसिर महिनाको तुलनामा ४० प्रतिशत बढी हो भने कात्तिक महिनाको तुलनामा १ सय २६ प्रतिशत बढी हो ।  

मालपोत कार्यालयहरुले अहिले निजी तथा गुठी जग्गाको लिखत पारित, नामसारी, संशोधन, हाल साविक, दाखिल खारेज, रोक्का, फुकुवा लगायतका सेवाहरु दिँदै आएको छ । यी सबै सेवा समेत गरी एक महिनामा सो परिमाणका कारोबार भएको हो । त्यसमध्ये सबैभन्दा धेरै कारोबार जग्गाको लिखित पारित गर्नेसँग सम्बन्धित भएका छन् । एक महिनामा करिब ९० हजार कारोबार यसअन्तर्गत भएको पाइएको छ । 

७ हजार जग्गा किनबेच
पुस महिनामा मात्रै देशभरका कार्यालयबाट ७ हजार भन्दा बढी जग्गा किनबेच भएका छन् । यो महिनामा कुल ७ हजार ३ सय ५२ वटा घरजग्गाहरु किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको एकीकृत तथ्यांकले देखाएको छ । अघिल्लो महिना ३ हजार ३ सय ५९ वटा जग्गा मात्रै किनबेच भएका थियो । पुस महिनाको जग्गा किनबेच मंसिर महिनाको भन्दा दोब्बर बढी हो । 

जग्गाको किनबेच बाहेक रोक्का तथा फुकुवा गर्ने क्रम समेत पुस महिनामा बढेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रयोजनका जग्गाको रोक्का राख्ने गरिन्छ । पुस महिनामा ७७ हजार ३६ वटा जग्गाको रोक्का राखिएको छ । मंसिर महिनामा ५३ हजार २ सय ८१ वटा जग्गाको रोक्का राखिएको थियो । 

त्यस्तै, अघिल्लो महिनामा ३२ हजार २ सय ६० वटा जग्गाको रोक्का फुकुवा गरिएकोमा पुस महिनामा यो संख्या ४४ हजार ४ सय १५ पुगेको छ । ऋणको करार सकिएपछि बैंक तथा वित्तीय संस्थाको सिफारिसमा मालपोत कार्यालयले रोक्का जग्गाको फुकुवा गर्ने गर्छ । यसपटक जग्गा फुकुवा अघिल्लो महिनाभन्दा बढी भए पनि जग्गा रोक्काको संख्या फुकुवाको भन्दा बढी छ । यसले जग्गा धितोमा राखेर ऋण लिनेको संख्या बढ्दै बुझाउने विभागको भनाइ छ ।

कारोबारको हटस्पट पूर्वी तराई
पुस महिनामा पनि सबैभन्दा धेरै कारोबार हुने कार्यालयमा पूर्वी तथा मध्य तराईका मालपोत कार्यालयहरु अगाडि देखिएका छन् । यो महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबार सुनसरीस्थित मालपोत कार्यालयबाट भएको छ । त्यस्तै, मोरङ, झापा जिल्लाका मालपोत कार्यालयहरुको कारोबार समेत उल्लेख्य रहेको छ । यी तीन जिल्लाको कारोबारले देशभरको कुल कारोबारको करिब १५ प्रतिशत हिस्सा ओगटेका छन् । 

मध्य तराई क्षेत्र अन्तर्गत चितवनको कारोबार उच्च छ । त्यस्तै, काठमाडौं उपत्यकामा पनि अघिल्लो महिनाको तुलनामा कारोबार बढेको छ । तर, पूवी तराईभन्दा काठमाडौं उपत्यका निकै पछि परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप