सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

६ महिनामा १४ प्रतिशत मात्रै विकास खर्च, आकार घट्दा पनि सुधार भएन

शनिबार, ०३ माघ २०७७, १५ : ५४
शनिबार, ०३ माघ २०७७

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विकास खर्च १४ प्रतिशतमा सीमित भएको छ । महालेखा नियन्त्रकको कार्यालयको प्रारम्भिक आँकडा अनुसार यो वर्षको पुस मसान्तसम्म १४.०१ प्रतिशत पुँजीगत खर्च भएको हो । यो वर्ष पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएकोमा यो अवधिमा ४९ अर्ब ४२ करोड रुपैयाँ मात्रै खर्च भएको छ । 

महालेखाको प्रारम्भिक तथ्यांक प्राप्त भएको यो खर्च आर्थिक वर्ष २०७३/७४ पछिकै कम हो । सो वर्ष ११.३० प्रतिशत मात्रै खर्च भएको थियो । त्यसपछिको ३ वर्षको पुस मसान्तमा क्रमशः १४.३५ प्रतिशत, १७.७० प्रतिशत र १५.४० प्रतिशत खर्च भएको थियो । यो तथ्यांक कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले दिएको विवरण अनुसार भएकोले अर्धवार्षिक समीक्षामा हुँदा यो विवरणमा केही समायोजन हुनसक्ने कार्यालयले जनाएको छ । 

यो वर्ष कुल बजेटको आकारसँगै पुँजीगत खर्चको आकार समेत घटाइएको थियो । आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत खर्चको आकार ४ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा यो वर्ष यस्तो आकार घटाएर ३ खर्ब ५२ अर्ब रुपैयाँमा झारिएको हो । बजेटको आकार घट्दा खर्चको हिस्सा बढाउन सहयोग पुग्ने भए पनि कोभिडका कारण यो वर्ष यस्तो खर्च घनै घट्न पुगको हो । 

चालु खर्च बढ्यो, वित्तीय खर्च आधा घट्यो 
पुँजीगत खर्च घटे पनि चालु खर्च भने यो वर्ष सुधार भएको छ । चालु शीर्षक अन्तर्गत पुस मसान्तसम्म ३ खर्ब ४० अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो । विनियोजनको तुलनामा हालसम्मको खर्च ३५.८४ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो खर्च ३२.४ प्रतिशतमा सीमित थियो । 

उता, वित्तीय व्यवस्थातर्फ विनियोजित खर्च पुँजीगत खर्चकै अवस्थामा छ । यो वर्षको मध्येसम्ममा १२.९५ प्रतिशत मात्रै वित्तीय व्यवस्थातर्फ खर्च गरिएको छ । यो वर्ष १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ पुँजीगत खर्च छुट्याएकोमा २२ अर्ब ३८ करोड मात्रै खर्च भएको छ । अघिल्लो वर्ष १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ खर्च छुट्याइएकोमा यही अवधिमा करिब ३० प्रतिशत खर्च भएको थियो ।

चालु, पुँजीगत र वित्तीय व्यवस्था खर्च समेत समायोजन गर्दा चालु वर्षको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको विनियोवित बजेटमध्ये ४ खर्ब ११ अर्ब ९० करोड रुपैयाँ खर्च भएको छ । यो २७.९३ प्रतिशत हो । अघिल्लो वर्ष २७.६ प्रतिशत मात्रै खर्च भएको थियो । चालु खर्चमा सुधार हुँदा कुल बजेट खर्चमा सामान्य सुधार देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप