सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संघर्षबाट प्राप्त उपलब्धिको हत्या हुँदा हाँस्न सक्दैनौंः अध्यक्ष प्रचण्ड

आइतबार, ०४ माघ २०७७, १४ : २४
आइतबार, ०४ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दालहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्नेमा जोड दिएका छन् ।  राष्‍ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीजीले ठूलो षड्यन्त्र गरेका छन् । संविधानमाथि प्रहार भएको छ । हामी आक्रामक हुनुपर्ने देखिएको छ ।असंवैधानिक रुपमा संसद विघटन गरिएपछि हामी पक्कै पनि गम्भीर स्थितिमा छौँ । हाम्रो आन्दोलन पनि आवेग र आक्रोशका साथ अलिकति जुझारु हुन जरुरी छ ।’ 

प्रधानमन्त्री ओलीमा रहेको प्रवृत्ति आफूहरूमा पनि केही देखिएजस्तो रहेकोले अपरेशन गर्नुपर्ने अवस्था रहेको बताए ।  ‘तपाईंको रोग हामीभित्र पनि सर्न लागेको हो कि भन्ने डर छ। मेजर अपरेशन गर्न पर्ने देखिएको छ । गलत मान्छेसँग बस्दा हामीलाई पनि अलिकति संक्रमण भएको छ। केपी प्रवृत्तिको अपरेशन गर्नुपर्ने छ’ उनले भने ।

यस्तै गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको भन्दै संघर्षबाट प्राप्त उपलब्धिको हत्या गरेर हाँसी रहेको प्रचण्डको भनाइ छ । उनले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’

संविधानको मूल मर्ममाथि प्रहार भएको बेला आफूहरु रमाइलो गर्न नसक्ने उनको भनाइ छ । चार दशकको संघर्षबाट प्राप्त उपलब्धिको संकेन्द्रित अभिव्यक्ति संविधान भएको उनले बताए।  ‘मैले हसाएँ भनेर किन पीर पर्‍याहोला ? भनेर केपी ओलीले मलाई नै भन्नुभएको हो। संघर्षबाट प्राप्त उपलब्धिको हत्या भएको छ। हामी जन्ती जाँदा रुँदै जाने र मलामी जाँदा पनि हास्दै हिँड्ने हामी केपी ओली जस्तो होइनौं । हामी मलामी जाँदा चिन्ता गरेरै हिँड्छौँ र जन्ती जाँदा हाँस्ने गरेरै हिँड्छौँ । हामी त्यस्ता स्वभाविक मान्छे हौंँ । तर, उहाँ अस्वभाविक हुनु भएको छ । हामी मजाकको मुडमा छैनौं’ प्रचण्डले भने ।

प्रधानमन्त्री ओलीले भनेको कुरा न गर्ने नभनेको कुरा गर्ने गरेको उनको आरोप छ । प्रचण्डले भने, ‘उहाँ जे भन्नु हुन्छ त्यो गर्नु हुन्न। म भ्रष्टचार गर्दिनँ गर्न पनि दिन्न भनेर उहाँ भन्नुहुन्छ। यो भन्दा भ्रष्टाचारविरोधी अर्को अभिव्यक्ति अर्को हुन्न तर भ्रष्टाचारीलाई बचाउन र जनतालाई मुर्ख बनाउन अघि सारिएको अभिव्यक्ति हो यो ।’  

खुलेआम भ्रष्टाचार भयो भनेर विरोध गर्दा न्यायाधीशजस्तो बनेर ओलीले सफाइ दिने गरेको प्रचण्डको आरोप छ । ‘खुलेआम भ्रष्टाचार भयोभन्दा तपाईं न्यायाधीश टोपलिएर आफैंले संरक्षण गर्ने ? होइन उहाँ त भ्रष्टचारी भन्ने ? अख्तियार र अदालतमा मुद्दा परेका मानिसलाई सफाइ दिँदै तपाईं किन हिँड्दै हुनुहुन्छ ?’ उनले प्रश्न गरे। 

प्रचण्डले संसद विघटनसम्बन्धी मुद्दाको निर्णय अदालतले संविधानको अक्षर र भावनालाई हेरेरै गर्ने पनि विश्वास व्यक्त गरे । ‘संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । यसबारेमा म धेरै भन्न चाहन्न तर अदालतले संविधानको अक्षर र भावनालाई हेरेर निर्णय गर्छ भन्ने हामी विश्वास छ’ उनले भने । प्रचण्डले दुई तिहाइ केन्द्रीय कमिटी आफूहरुतिर रहेकाले नेकपा र सूर्य चिन्ह आफूहरुले नै पाउने दाबी गरे । ‘नेकपा हाम्रो हो र सूर्य चिन्ह पनि हाम्रै हुनेछ’ उनले भने- ‘यो विषयमा तपाईंहरु द्विविधामा बस्नु पर्दैन ।’

यो पनि...


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप