सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हल खुल्यो, दर्शक शुन्य !

हलमा दर्शक बोलाउन चाहन्छन् फिल्मकर्मी, योजना पनि शून्य !
बुधबार, ०७ माघ २०७७, १३ : ३७
बुधबार, ०७ माघ २०७७

काठमाडौँ । कोरोनाका कारण बन्द भएका धेरै फिल्म हल अहिले खुलेका छन् । विगत ९ महिनादेखि बन्द रहेका फिल्म हल चलचित्र सङ्घले विभिन्न आन्दोलनको घोषणा गर्दै गत १० गतेबाट सञ्चालनमा ल्याएको हो ।

चलचित्र सङ्घको एकलौटी निर्णयबाट खुलेका फिल्म हल केही समयपछि नेपाल सरकारले स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड पालना गर्नेगरी फिल्म हल सञ्चालन गर्न दिने निर्णय समेत गर्यो ।

हल खुले पनि कोरोनाको कहर यथावत् रहेका कारण दर्शक अभाव देखिने भन्दै प्रदर्शनको सुरुमा पुराना दुई फिल्म ‘आमा’ र ‘सेन्टिभाइरस’बाट गरियो । यो फिल्म प्रदर्शनमा ल्याउनुको अर्काे कारण लकडाउन अगाडि यी दुवै फिल्म रिलिजमा थिए । केही साता पहिले नै चलेर नाफासमेत कमाएका यी फिल्ममा दर्शक देखिएनन् ।

पुरानो फिल्म भएर होला दर्शक आएनन् । नयाँ फिल्म रिलिज गर्न सकियो भने दर्शक आउँछन् । धेरैको तर्क एउटै थियो । दर्शक देखिएको अवस्था नयाँ फिल्म किन दिने, आफ्नो फिल्म दिएर जोखिम मोल्न कसले ? यस्तै प्रश्न उठिरहेको समयमा पुराना अभिनेता शिव श्रेष्ठले आफ्नो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ दिएर जोखिम मोले । दर्शक फर्काउन आफूले चुनौतीको सामाना गरेको भन्दैै शिवले रिलिज गरेको नयाँ फिल्ममा पनि दर्शक देखिएन् ।

नयाँ फिल्म रिलिज हुँदा पनि दर्शक हलमा नदेखिएपछि अब नयाँ फिल्म कसले दिने ? भन्ने प्रश्न फिल्मकर्मीमाझ खडा भएको छ । दर्शक अब कसरी फर्काउने भन्ने चिन्ताले फिल्म प्रदर्शक, निर्माता, वितरक, कलाकारलगायत सबैलाई सताएको छ ।

सबै फिल्मकर्मीमा अब रिलिज भएका फिल्मले पहिले हिट भएका फिल्मझैँ १००औँ दिन मनाओस्, व्यावसायिका सफलता हात पारोस्, फिल्मको चर्चासँग कलाकार पनि हिट हुन् भन्ने चाहना त रहेको छ ।

तर पहिलेझैँ हलमा दर्शक कसरी फर्काउने, फिल्महल दर्शकले कसरी भरिभराउ बनाउने र लगानी सुरक्षित गर्ने भन्नेतर्फ भने कुनै योजना र पहलकदमी देख्न र सुन्न पाइन्न ।

‘फिल्म हलमा दर्शक फर्काउने योजना र पहलकदमी के छन् ?’ फिल्मसम्बन्धी विभिन्न सङ्घसंस्थालाई हलमा दर्शक फर्काउने योजना, पहलकदमका विषयमा हामीले एउटै प्रश्न राखेका थियौँ । उनीहरुको जबाफ जस्ताको तस्तै

केही पहल छैन

मधुसूदन प्रधान (अध्यक्ष, चलचित्र सङ्घ नेपाल)

अहिले यस विषयमा बोल्ने केही छैन । दर्शक फर्काउने चाहना थियो । त्यहीअनुसार हामीले हल खोल्यौँ पनि । दर्शक आएन् । तपाईंहरु समाचार मात्र बनाउनुहुन्छ । हामीलाई सिकाउनुस् न ! त्यो केही योजना अहिले हामीसँग छैन । तपार्इं नै सिकाउनुस् त । हामी त्यहीअनुसार चल्छौँ । कहाँबाट कसरी दर्शक फर्काउने ।

अहिले कन्ट्याक्टबिना दर्शक आउने अवस्था छैन । त्यसका लागि राम्रो फिल्म दिनुपर्छ । हामीले फिल्म हलमा बाहिर बजारमा एउटा सामान किन्दा अर्काे सामान उपहार पाएजस्तो बोनस दिन पनि सक्दैनौँ । हल त्यस्तो प्रकारको बिजनेस गर्ने स्थान पनि होइन ।

अहिले राज्यको स्वास्थ्य मापदण्ड अपनाएर आधा दर्शक पनि राख्न नपाउने नियम छ । त्यसमा पनि विभिन्न प्याकेज दिएर निर्मातालाई हामी के सेयर दिने । विभिन्न शुल्क राज्यलाई तिर्नुपर्छ, के तिर्ने ?

यस्तो अवस्थामा फिल्म हल ताला लगाएर बस्यो भने बरु फाइदा छ । खोल्दा झनै नोक्सान हुन्छ । दर्शक बोलाउने प्याकेज दिन त पहिल राम्रो फिल्म आउनुपर्यो । त्यसको एक्सरसाइजमा हामी छौँ । ६, ७ वटा राम्रा फिल्मसँग कुरा भएका पनि छन् । सम्झौता हुन बाँकी छ । अहिले राम्रो फिल्म ल्यायो भने दर्शक आउँछन् भन्ने हाम्रो बुझाइ छ ।

त्यसपछि आकर्षक प्याकेजतिर लागौँला । दर्शकका लागि प्याकेजको कुरो ल्याउँला । अहिले हलमा दर्शक नै आएका छैनन् । प्याकेज के दिने ? दर्शक आए प्याकेज ल्याउन सकिन्छ ।

हामी खोप दिन्छौँ भन्न सक्दैनौँ

आकाश अधिकारी (अध्यक्ष– चलचित्र निर्माता सङ्घ) 

फिल्म क्षेत्र त खुल्यो । तर फिल्म हलमा दर्शक आएका छैनन् । उनीहरुलाई पहिले झैँ हलमा ल्याउनुपर्छ भन्ने हामीलाई पनि लागेको छ ।

दर्शक फिल्ममा फर्काउने भनेर घरघरमा गएर, बस रोकेर बोलाउने कुरो भएन । त्यसका लागि सुरक्षाको उपाय अपनाउनुपर्यो । त्यो हलले गरेको छ ।

निर्माताहरुले नयाँ फिल्म दिन आफ्नो लगानी सुरक्षाको कुरो पनि आउँछ । एक पटक फिल्म लाग्यो र त्यो समयमा लगानी उठेन भने फेरि फिल्म लाग्ने कुरो आउँदैन । त्यसैले छिटोभन्दा छिटो भ्याक्सिन आओस् भन्ने चाहना र कामना मात्र गर्ने हो अहिले । अहिले हामी भ्याक्सिनको पर्खाइमा छौँ ।

फिल्म हेर्ने इच्छा भएका दर्शक आएर हेर्छन् । नभएका आउँदैनन् । राम्रो फिल्म रिलिजका लागि हलले सपोर्ट गर्नुपर्यो । त्यसका लागि निर्माताहरु पनि तयार छन् ।

निर्माता सङ्घले नेपाल सरकारलाई भनेर निर्माताका लागि विकास बोर्डमार्फत केही राहतका प्याकेज ल्याएको छ । छायाङ्कनमा जाने फिल्मका लागि पनि राहत छ ।

अहिले फिल्म क्षेत्र अति प्रभावित क्षेत्र भएकाले राज्य तथा राष्ट्र बैङ्क लगायतबाट अझै केही राहत लिन सकिन्छ कि भनेर लागिपरेको छु । यसका लागि अर्थमन्त्रीलाई पनि हामीले भेटेका छौँ । केही गर्छु भन्नु भएको छ । पर्ख र हेरौँको अवस्थामा छौँ हामी ।

दर्शकका लागि हामीले केही प्याकेज ल्याउन सकेका छैनौँ । किनभने अहिलेको प्राथमिकता स्वस्थ्य र उपचार हो । यो निर्माताको बसभन्दा बाहिर छ । हामी हलमा फिल्म हेर्न आउनुस् । खोपको व्यवस्था हामी गर्छाैं भन्न पनि सक्दैनौँ ।

छिट्टै खोप ल्याउने काम गर्नु पर्यो भनेर हामीले राज्यलाई झकझक्याउने काम गरिरहेका छौँ । खोप नआएसम्म हामीले राम्रो फिल्म दिए पनि दर्शक आउने विश्वास छैन ।

फागुनमा फिल्मको मारामार

गोपाल कायस्थ (चलचित्र निर्माता तथा वितरक)

ठूलै सङ्घर्षले हल खोलियो तर दर्शक आएनन् । अहिले आएका दर्शकले फिल्म हल चन्दैन । दर्शक फर्काउने चाहना त सबैको छ । दर्शक फर्काउन राम्रो फिल्म नै दिनुपर्यो नि । राम्रो फिल्म नआएसम्म दर्शक फेरि हलमा आउँदैनन् यो मैले मात्र होइन, सबैले बुझेको विषय हो ।

धेरै पहिले जस्तो फिल्मको पोस्टरमा चलेको कलाकारको टाउको राखेर झुक्याउन पनि सकिन्न अहिले । दर्शक बोलाउन अहिले दर्शकको चाहनाअनुसारको फिल्म नै निर्माण गर्नुपर्छ ।

सबैले दर्शकका लागि राम्रो फिल्म बनाएको भनेर दाबी त गर्छन् । केहीले मात्र विश्वास जितेका छन् । अहिले जात्रै जात्रा, छक्का पञ्जा, प्रेम गीत टिम, अनमोल केसी र प्रदीप खड्काका फिल्मले मात्र दर्शक बोलाउन सक्छन् । यी दर्शकको रोजाइमा छन् । अन्य फिल्मको भरोसा छैन ।

भारतमा पनि नयाँ फिल्म आएको छैन । अङ्ग्रेजी फिल्म पनि आएको छैन ।

फिल्म हलमा दर्शक बोलाउन राम्रो फिल्म ल्याउने हात हामी वितरकको हो । राम्रो फिल्म पनि तुरुन्त त दिन सकिन्न । त्यसका लागि प्रचारप्रसार हुनुपर्यो । निर्माताले लगानीको सुरक्षा देख्नुपर्यो ।

मेरो विचारमा अहिले नभए पनि फागुनको पहिलो साताबाट नयाँ फिल्म मारामार आउँछ । राम्रो फिल्म दिन सकियो भने दर्शक त्यसै फर्किन्छन् । दर्शक आउने वातावरण बनेपछि राम्रो फिल्म दिने सोच धेरैको हुन्छ ।

हामीले बोलाउँछौँ भनेका थियौँ

रवीन्द्र खड्का अध्यक्ष (नेपाल चलचित्र कलाकार सङ्घ)

अहिले फेरि नयाँ प्रकारको कोरोना आएको हल्ला छ । त्यसले झन् समस्या देखिएको छ । फिल्म हल खुल्यो, दर्शक फर्किएन् । दर्शक फर्किए फिल्म चल्थ्यो, फिल्महरु बन्थे । कलाकारले काम पाउँथे भन्ने मेरो विचार हो ।

हामीले फिल्म हलमा दर्शक फर्काउन पहल पनि गरेका छौँ, अनुरोध पनि गरिरहेका छौँ । विज्ञप्ती पनि जारी गरेका छौँ ।

यस विषयमा विकास बोर्डले केही अगाडि सल्लाह सुझावसमेत मागेको थियो । हामीले लिखित सुझावसमेत बुझाएका छौँ ।

त्यसमा हामी कलाकारले चेतनामूलक कार्यक्रम गर्छाैं, हलमा हामी दर्शकसँगै फिल्म हेर्ने, हलमा आउनुस् भनेर हलमा गएर बोलाउने लगायतका कार्यक्रम बनाएका थियौँ ।

विकास बोर्डसँग मिलेर स्वयं सेवक कामसमेत  गर्र्छाैं भनेर फिल्मसम्बन्धी सङ्घसंस्थालाई भनेका थियौँ । तर कहीँबाट अगाडि बढ्ने खबर आएको छैन ।

उल्टै कलाकार हलमा गएपछि भिडभाड हुने भनेर जिल्ला प्रशासनले विकास बोर्डलाई पत्र पठाएको छ रे । सायद त्यसैले बोर्ड चुप होला ।

अभिनेता शिव श्रेष्ठको फिल्मका लागि पनि हामी कलाकार आउनुपर्छ भने सबैतिर आउन तयार छौँ भनेका थियाँै । उहाँले केही भन्नु भएन ।

राम्रो फिल्म नभए दर्शक आउँदैनन्

दयाराम दाहाल (अध्यक्ष, चलचित्र विकास बोर्ड)

राम्रो फिल्म रिलिज नभएसम्म दर्शक हलमा किन आउँछन् । राम्रो फिल्म रिलिज गर्नुछैन, पुरानो फिल्म लगाएर दर्शक आएनन् भन्न मिल्दैन अहिले ।

फिल्म दिने जस्तो व्यावसायिक कुरो विकास बोर्डले गर्ने पनि होइन । बोर्डले फिल्मलाई राहतको प्याकेज दिने हो । त्यो घोषणा भएको छँदैछ । यसले मात्र निर्माणको लगानी सुरक्षित हँुदैन होला । हलवालाहरुले पनि केही राहत दिनसक्छन् कि ? त्यो उनीहरुको विषय हो ।

अहिलेको समय हलवालालाई पनि गाह्रो होला । फिल्मको एमजी (मिनीमा ग्यारेन्टी) दिने अवस्था पनि उनीहरुको छैन होला । न्यूनतम केही सुरक्षित वातावरण नभएसम्म निर्माताले नयाँ फिल्म पनि दिँदैनन् । आशा गरौँ बिस्तारै बिस्तारै नयाँ फिल्म रिलिज हुन्छ ।

दर्शक बोलाउन हलमा नयाँ फिल्म नै चाहिन्छ । त्यो बोर्डले दिने होइन । बोर्डले हल सुरक्षित छ भनेर बाहिर  सबै ठाउँमा सूचना गरेको, सञ्चार माध्यमबाट प्रचारलगायत सबै गरेको छ ।

राम्रो फिल्मबिना हलमा दर्शकलाई आउनुस् भनेर बोर्डले त के अरू कसैले भने पनि आउँदैनन् । त्यसका लागि नयाँ फिल्म दिनुपर्छ । नयाँ फिल्मका लागि राहतको प्याकेज बोर्डले ल्याएको भए पनि फिल्मको पूरै लगानी तिर्न सक्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप