आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओली गुटमा बिजोग र बेहाल छ: अध्यक्ष नेपाल

शुक्रबार, १६ माघ २०७७, १५ : १०
शुक्रबार, १६ माघ २०७७

विराटनगर । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली गुटमा विजोग र बेहाल छाएको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको औचित्य समेत समाप्त भइसकेको बताए । ‘ओलीे गुटको कुनै काम छैन । ओली कहिल्यै पनि रचनात्मक काम गर्दैनन् । नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरे’ अध्यक्ष नेपालको भनाई छ । 
उनले पार्टीमा तमासा गर्ने अरु कोही नभएर केपी ओली नै भएको पनि बताए । ‘उनी पार्टीको विधि पनि मान्दैनन्, संविधान पनि मान्दैनन, उनलाई पार्टीको मतलब छैन । उहाँ कम्युनिस्ट आन्दोलन, लेकतन्त्र गणतन्त्र सिध्याउन चाहानुहुन्छ । उहाँ बनाउने होइन विगार्न चाहानुहुन्छ’ नेपालको भनाई छ । 

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीमा कोही पनि सुप्रिम नहुने भन्दै यदि कोही सुप्रिम हुन खोजे त्यो तानाशाह हुने बताए ।  उनले ४४१ जना केन्द्रीय सदस्य रहेको नेकपामा ओलीको पक्षमा सय जना मात्रै रहेकोले ३ सय भन्दा बढी सदस्य रहेको पक्ष नै मुल पार्टी हुने र त्यो मुल पार्टी प्रचण्ड र आफुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरे । 

‘नेकपाको मुल पार्टी यहि हो । सूर्य चिन्ह पनि यही नेकपाको हुन्छ ढुक्क हुनुस्’, कार्यकर्ताहरुलाई नेपालले आश्वस्त पारे । उनले केपी ओलीको गुटमात्र भएकाले त्यो पार्टी नै हुन नसक्ने बताए । उनले केपी ओली कामचलाउ भइसके पनि जथाभावी निर्णय गर्दै हिँडिरहेको आरोप लगाए । ‘हामी न्याय, संविधान, जनताको सुख दुःखमा साथ दिइरहेका छौ । देश र जनताको पीडा र वेदनामा हामी संवेदनशील छौ’ अध्यक्ष नेपालको भनाई छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप