सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निष्क्रिय कर्जाले थलियो स्ट्यान्डर्ड चार्टर्ड बैंक,  व्यवसायको आकार पनि घट्दै

शनिबार, १७ माघ २०७७, ०९ : २८
शनिबार, १७ माघ २०७७

काठमाडौं । कोभिड–१९ पछि बैंकिङ क्षेत्रको अवस्था कस्तो होला भन्ने जोखिम देखिएको थियो । यतिबेला यो जोखिम एक प्रकारले टरेको जस्तो देखिएको छ । कोरोनापछिको ‘न्यू–नर्मल’ अवस्थामा बैंकहरुले ल्याएको रिपोर्टले अहिले कोभिडको पहिलो संकटलाई बैंकहरुले एक प्रकारले सामना गर्न सफल भएको देखिन्छ । 

बैंकिङ क्षेत्र आफैंमा वृहत्तर क्षेत्रको प्रभाव पर्छ । एउटा क्षेत्रमा समस्या पर्दा त्यसलाई सजिलै सामना गर्ने क्षमता बैंकसँग हुन्छ । कोभिड–१९ महामारीले सबै क्षेत्रमा प्रभाव पार्दा भने यसले बैंकिङ क्षेत्रमा संरचनागत जोखिम सम्भावना देखिएको थियो । तर, पछिल्लो समय यो समस्यालाई बैंकहरुले ‘डिल’ गर्न सफल भएको देखिएको छ । तर, एकाध बैंकमा भने अहिले पनि यस्तो समस्या देखिएको छ । 
सबैभन्दा धेरै विदेशी लगानी र विदेशी व्यवस्थापन समेत भएको स्ट्यान्डर्ड चार्टर्ड बैंक यही बैंकमध्येको एउटा बैंक हो । कोरोना भाइरस महामारीपछि एक वर्षमा यो बैंकको वित्तीय अवस्थामा निकै ठूलो उचारचढाव देखिएको छ । बैंकका अधिकांश सूचकहरु नकारात्मक देखिएका छन् ।

निष्क्रिय कर्जा ८ गुणाले बढ्यो 
अघिल्लो वर्षसम्म सो बैंक सबैभन्दा कम निष्क्रिय कर्जा अनुपात भएका बैंकमध्ये एउटा पथ्र्यो । तर, यो वर्षको पुस मसान्तसम्म आइपुग्दा यो बैंक सबैभन्दा बढी निष्क्रिय कर्जा अनुपात भएका बैंकहरुको सूचीमा पुगेको छ । अघिल्लो वर्ष ०.१७ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहँदा बैंक सबैभन्दा कम निष्क्रिय कर्जा अनुपात हुने दोस्रो बैंकको रुपमा कायम थियो । अहिले यस्तो निष्क्रिय कर्जा अनुपात ८ गुणाले बढेर १.५४ प्रतिशत पुगेको हो । अहिले बैंकको स्थान १२ औं नम्बरमा पुगेको छ । 

सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये यो वर्ष १४ वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको थियो भने १३ वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात घटेको थियो । त्यसमध्ये निष्क्रिय कर्जाको वृद्धिदर यो वर्ष सबैभन्दा धेरै यही बैंकको रहेको देखिएको छ । 

नाफामा भारी गिरावट
निष्क्रिय कर्जा अनुपात बढेसँगै बैंकको नाफामा व्यापक संकुचन आएको छ । यो बैंकको नाफा अघिल्लो वर्षको भन्दा करिब ४० प्रतिशतले घटेको छ । यो वर्ष सो बैंकले ७२ करोड मात्रै नाफा कमायो । अघिल्लो वर्ष १ अर्ब २२ करोड नाफा कमाएको थियो । 

बैंकिङ क्षेत्रमा खुद नाफालाई मात्रै महत्वपूर्ण मानिँदैन । कसैले बैंकको पुँजीकोषमा आधारित प्रतिफल (आरओई) लाई पनि कार्यसम्पादनको मुख्य आधार बनाउने गर्छन् । तर, यो वर्ष बैंक त्यसमा समेत निकै चुकेको छ । अघिल्लो वर्ष १७.६८ प्रतिशत रहेको बैंकको आरओई यो वर्ष घटेर ९.७६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ३०.६३ प्रतिशत रहेको प्रतिशेयर आम्दानी घटेर यो वर्ष १६.९८ प्रतिशतमा झरेको छ । 

व्यवसायको आकार पनि घट्यो
यो वर्ष समग्र बैंकिङ क्षेत्रको निक्षेप करिब २५ प्रतिशतले बढेको छ । कोभिड–१९ महामारीका बाबजुद कर्जा विस्तार पनि करिब १९ प्रतिशतले भएको छ । तर, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप यो वर्ष बढ्नुको सट्टा उल्टै घटेको छ । गत असार मसान्तमा बैंकको निक्षेप ९५ अर्ब रहेकोमा यो वर्ष घटेर ८३ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष करिब ५७ अर्ब रहेको कर्जा प्रवाह समेत घटेर करिब ५६ अर्बम झरेको छ । यो बैंक हाल सबैभन्दा कम कर्जा प्रवाह गर्ने बैंक समेत हो । २७ वटा वाणिज्य बैंकको कुल निक्षेपमा यो बैंकको हिस्सा २ प्रतिशत भन्दा कम छ ।

त्यसो त यो वर्ष बैंकले गरेको ब्याज आम्दानी पनि सबैभन्दा तल्लो स्तरमा झरेको छ । बैंकले गरेको कुल ब्याज आम्दानी २ अर्ब ६९ करोड छ । जबकी त्योभन्दा पछिल्लो सबैभन्दा कम ब्याज आम्दानी भएको सिभिल बैंकले ३ अर्ब १८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । सोही बैंकले अघिल्लो वर्ष ३ अर्ब ४१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानीम भने बैंक सबैभन्दा कमको दोस्रो स्थानमा रहेको छ ।

खर्च मात्रै धेरै
स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृतदेखि अध्यक्षसम्म विदेशी नागरिक हुने गरेका छन् । अघिल्लो आर्थिक वर्षमा मात्रै बैंकको सीईओले तलब र भत्तासहित ३ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेको छ । यो मासिक करिब साढे ३२ लाख रुपैयाँ हो । यो वाणिज्य बैंकमध्येकै सबैभन्दा धेरै हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप