हो कि होइन ल भन्नुस्त ?
-श्रीकृष्ण सिम्खडा
बाउ मरेको छ
ऊ क्रियाकर्म गर्दैन
तर बाउको जेथामा
ऊ रजाईं गर्छ l
गाई ब्याएको छ
ऊ सालनाल सोर्दैन
तर साँझ बिहानमा
ऊ मज्जाले दुध खान्छ।
डढेलो लागेको ठाउँमा
ऊ पानी हाल्दैन
लडेको छ मान्छे सडकमा
ऊ उठाउँदैन
दीन दु:खीको आगनमा
ऊ पुग्दै पुग्दैन
आर्तहरुको पुकार पनि
ऊ सुन्दै सुन्दैन ।
ऊ त्यही मान्छे हो
अस्तिसम्म त्यो नदी किनारतिर
हिँड्दै थियो लुखुर लुखुर
आज मेरै अगाडि
टन्न माला र खादाले सजिएर
विराजमान छ मन्चको बीचमा
प्रमुख अतिथि भएर ।
पवित्र बाग्मतीमा चोपेर हात
हो कि होइन ल भन्नुस्त ?
ऊ गुंडाहरुबाट घेरिएको छ
बिचौलियाहरुबाट पूजिएको छ
हो, ऊ ठूलो नेता भएको छ
के मात्र छैन ऊसँग ?
के के छ छ ऊसँग !
टन्न सम्पती जोडेको छ
आलिशान बंगला घर छ
महँगो चिल्लो कार छ
बैंकमा टन्न 'ब्यालेन्स छ
शेयर पनि जोडेको छ
काठमाडौंमा उस्को
ठूलो टावर ठडिएको छ ।
ऊ तर अरुको घर बिगार्छ
उसकै बंगलाको बगलमा
एउटा असल कर्याकर्ता बस्छ
कोठा भाडा तिर्न सक्दैन ऊ
बच्चाको 'फी' तिर्न सक्दैन ऊ
घरमा झगडा परिरहन्छ
श्रीमती कालीमाटि गा'छिन् भर्खर
एघार बजे फर्किनेछिन् साग बेचेर
ऊ भने त्यही नेता भेट्न गएको छ
उस्को त्यही टावरवाला नेता
उसको त्यही पावरवाला नेता
तर भोकले भाउन्निदै फर्कन्छ ऊ
नेताको फोस्रे गफ खाएर।
एउटा डाँकाको दर्खास्त परेको छ
अर्को इमान्दार बर्खास्त परेको छ
इमानदार माथी पुग्ने
सिंढी नै टुटेको छ
बेइमान चैं माथी जाने
साइनो जुटेको छ
हेर्नुहोस्त यहाँ
गाई गधा भएको छ
गधा गाई भएको छ l
अस्तिसम्म त्यो नदी किनारतिर
लुखुर लुखुर हिँड्ने मान्छे
आज मेरै अगाडि ठूलो नेता बनेर
टन्न माला र खादाले सजिएर
विराजमान छ मन्चको बीचमा
प्रमुख अतिथि भएर ।
पवित्र बाग्मतीमा चोपेर हात
हो कि होइन ल भन्नुस्त ?