सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा म्युचुअल फण्डको मूल्य ‘अन्डरभ्यालुड’ !

शनिबार, १७ माघ २०७७, १४ : २८
शनिबार, १७ माघ २०७७

काठमाडौं । भनिन्छ, दोस्रो बजारमा सेयरको खरिद वा बिक्री गर्ने व्यक्तिले एक अर्कालाई मुर्ख ठान्छ । सेयर बेचिरहेको व्यक्तिलाई लाग्छ, बजारमा अब यो कम्पनीको मूल्य बढ्दैन । त्यसैले सो व्यक्तिले सेयर बिक्री गर्न चाहेको हुन्छ । तर, अर्को व्यक्तिलाई त्यो मूल्य अझै कम हो भन्ने लाग्छ । भविष्यमा नाफा कमाउन सक्ने योजना बनाएर उसले सो सेयर किन्छ । 

सेयर बजारमा दैनिक हुने कारोबारको सामान्य प्रवृत्ति यही हो । केहीले भने दैनिक खर्च चलाउन तथा अन्य व्यवहारिक प्रयोजनको लागि सेयर बेचिरहेका हुन्छन्, यो एउटा अपवाद हो । तर, बजारमा वास्तविक कारोबारीहरु भने बजारमा एक अर्कालाई मुर्ख ठानेरै सेयरको कारोबार गरिरहेका हुन्छन् । सेयरमूल्यको भावी उचारचढावले उनीहरुको सोचाईलाई सही र गलत सावित गरिरहेको हुन्छ ।

यद्यपि बजारमा लगानी गर्नेले कुन सेयर स्क्रिपको मूल्य कम छ भन्ने छुट्याउनु भने सबैभन्दा महत्वपूर्ण कुरा हो । यसले लगानीकर्ताको लगानीसम्बन्धी निर्णयमा महत्वपूर्ण प्रभाव समेत पर्न सक्छ । यद्यपि अहिले म्युचुअल फण्डको मूल्य भने 'अन्डरभ्यालु'ड अवस्थामा रहेको विज्ञहरु बताउँछन् । 

कसरी निर्धारण म्युचुअल फण्डको मूल्य ? 
बजारमा आएका बन्दमुखी (क्लोज इन्ड) म्युचुअल फण्डहरु दोस्रो बजारमा कारोबार हुन्छन् । नेपालमा १० रुपैयाँ मूल्यका म्युचुअल फण्डका इकाईहरु बिक्री हुँदै आएको छ । अहिले करिब १८ वटा क्लोज इन्ड म्युचुअल फण्डको योजना सञ्चालनमा रहेको छ । खुलामुखी (ओपन इन्ड) योजना पनि केही सञ्चालन भए पनि त्यो दोस्रो बजारमा यसको कारोबार हुँदैन । 

बजारमा बिक्री भएका क्लोज इन्ड म्युचुअल फण्डको कारोबार दोस्रो बजारमा अंकित मूल्यबाटै सुरु हुन्छ । नेपालमा बिक्री भएका १० रुपैयाँ बराबरको इकाईको बिक्री १० रुपैयाँबाटै सुरु हुने गरेको छ । तर, भावी मूल्य भने बजारले निर्धारण गर्छ । सामान्यतया म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य (एनएभी) ले बजारमूल्यलाई निर्देशित गर्ने गरेको विज्ञहरु बताउँछन् । 

फाइनान्सियल इकोनोमिष्ट मुक्ति अर्यालका अनुसार क्लोज इन्ड म्युचुअल फण्डको बजारमूल्य एनएभी भन्दा केही कम हुने बताउँछन् । एनएभीले म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्यांकन गरे पनि त्यसलाई नगदमा रुपान्तरण गर्न लाग्ने कमिसन शुल्क तथा अन्य व्यवस्थापन खर्चका कारण यस्तो हुने गरेको उनको भनाइ छ । 

अहिले कुनै सेयर बेच्नका लागि अधिकतम ०.४० प्रतिशतसम्म शुल्क लाग्ने गरेको छ । यो बाहेक भावी दिनमा लाग्ने व्यवस्थापन शुल्कलाई समेत खर्च नानिने भएकोले एनएभी भन्दा बजारमूल्य कम हुने उनको भनाई छ । ‘विगतमा भएका खर्चको समायोजन त एनएभीमा भइसकेको हुन्छ । तर, आज म्युचुअल फण्डसँग रहेको सेयर बेच्न लाग्ने समयसम्मको खर्च र कमिसन खर्च समायोजन गर्दा बजारमूल्य केही कम हुन्छ भन्ने मान्यता राखिन्छ’ अर्यालले भने, ‘तर, यसको फरक त्यति धेरै चाहिँ हुँदैन ।’

म्युचुअल फण्ड र एनएभीको तुलना 
अहिले बजारमा सञ्चालित सबैजसो म्युचुअल फण्डको मूल्य त्यसको प्रतिइकाई खुद मूल्यभन्दा कम नै छ । तर, कुनै म्युचुअल फण्डको मूल्य एनएभी भन्दा निकै कम छ भने कुनैको योभन्दा निकै बढी छ । 
बिहीबारको अन्तिम कारोबारका आधारमा क्लोज इन्ड म्युचुअल फण्डको प्रतिइकाई बजारमूल्य ९.४७ रुपैयाँदेखि १३.३३ रुपैयाँसम्म छ । तर, म्युचुअल फण्डहरुको पुस मसान्तसम्मको एनएभी भने ११.८५ रुपैयाँदेखि १६.३६ रुपैयाँसम्म रहेको छ । म्युचुअल फण्डहरुको पछिल्लो बजारमूल्य र पुस मसान्तको एनएभीबीच ०.८४ रुपैयाँदेखि ४.१६ रुपैयाँसम्म फरक रहेको छ । पुस मसान्तमा सबै म्युचुअलहरुको खुद सम्पत्ति उल्लेख्य रुपमा बढेको छ ।

सेयर बजार परिसूचक बढ्दा यस्तो मूल्यमा प्रत्यक्ष प्रभाव परेको विज्ञहरु बताउँछन् । एनएभीको प्रभावस्वरुप म्युचुअल फण्डहरुको बजारमूल्य समेत बढ्दै गएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप