सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना खोपबारे किन फेरियो प्रधानमन्त्री ओलीको बोली ?

शनिबार, १७ माघ २०७७, २२ : ३२
शनिबार, १७ माघ २०७७

काठमाडौं । ‘हामी ठान्छौ करिब ३ महिनाभित्र सम्पूर्ण नेपालीलार्ई यो खोप उपलब्ध गराइसक्नेछौ’, प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनअघि अर्थात माघ १४ गते बालुवाटारबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्दै भनेका थिए, ‘मेरो विचारमा तीन महिना लाग्नसक्छ जस्तो लाग्छ ।’ 

प्रधानमन्त्री ओलीले नै यसो भनेपछि धेरै मानिसहरु खुसी नहुने कुरै भएन । तर, केहीले कसरी तीन महिनामै झण्डै ३ करोड नेपालीले खोप पाउलान् त ? जबकी विकसित र खोप उत्पादन गर्ने राष्ट्हरुमा समेत यस्तो प्रक्षेपण नगरिएको अवस्थामा नेपालमा तीन महिनामै सबै नेपालीले खोप पाउन असम्भव । तर, प्रधानमन्त्रीले नै सार्वजनिक कार्यक्रममै यस्तो घोषणा गरेपछि सरकारले कुनै न कुनै जोहो गरेर नै प्रधानमन्त्रीले यस्तो आशा जगाउने कुरा गरेका होलान् भन्ठाने । त्यसपछि उनको त्यो भनाईबारे बाहिर खासै चचापरिचर्चा र बहस भने भएन ।  

त्यतिमात्रै होइन, प्रधानमन्त्रीले कोही पनि नेपालमा बस्ने नेपाली नागरिकले निशुल्क यो खोप प्राप्त गर्ने पनि अभियानको उद्घाटनका क्रममा बताएका थिए । ‘चाहे हामी अनुदानका रुपमा प्राप्त गरौं, चाहे किन्नुपरोस् जस्तो यसपल्ट हामीले प्राप्त गरेका छौं । तर हामी हाम्रा देशवासीलाई निःशुल्क विना भेदभाव संवेदनशीलताका हिसावले प्राथमिकताका आधारमा यो खोप उपलव्ध गराउनेछौ’ प्रधानमन्त्री ओलीले अझ विश्वस्त पार्दै भनेका थिए ।  तर, प्रधानमन्त्रीले बालुवाटारमा गरेको यो घोषणा चार दिन पनि टिक्न सकेन । 

माघ १७ गते शनिबार उनै प्रधानमन्त्री ओलीले चितवन पुगेर बोली फेरे । ३ महिनामा सबै नेपालीले कोरोनाविरुद्धको खोप पाउने भनेर गरेको घोषणालाई सच्याउँदै उनले सन् २०२१ भित्रको डेडलाइन तोके ।  १७ गते चितवन पुगेर आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यहाँहरुलाई थाहा छ यही वर्ष विश्वव्यापी रुपमा कोभिड–१९ नामको महामारी आयो । विश्वका थोरै देशले मात्र खोप सुरु गरेका छन् । तर नेपालमा चार दिअघि खोप अभियान सुरु गर्यौ ।’ ओली त्यतिमा मात्रै रोकिएनन् । ‘१४ गतेबाट ७५ जिल्लामा भयो, १६ गतेबाट ७७ वटै जिल्लामा खोप अभियान लगातार अघि बढेको छ । हिजो साढे चार बजेसम्ममा ४८ हजारभन्दा बढीले खोप लाइसकेका छन् । यो क्रम अघि बढिरहेको छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।  

उनले चार दिनअघि गरेको घोषणालाई सच्याउँदै फेरि भने, ‘र मैले भनेको छु, एकदमै फोरफ्रन्टमा रहेर, कठिनाइ झेलेर काम गर्नेहरुलाई खोप दिलाउने काम आगामी ३ महिनामा गर्नेछौ र बाँकी जनतालाई यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड १९ लाई नेपालबाट भगाउनेछौ ।’ ओलीले चितवनमा गरेको सम्बोधनका क्रममा खोप लगाउनेको रेकर्ड पनि गलत भने । जबकी ओलीले भनेको हिजो अर्थात माघ १६ शुक्रबार हो । शुक्रबार बेलुका साढे चार बजेसम्मको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डले ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको थियो ।

उक्त दिनसम्म अर्थात प्रधानमन्त्रीले भनेको समय सम्ममा प्रदेश नं १ मा ७ हजार ३६९, प्रदेश नं २ मा ४ हजार ६५०, वाग्मती प्रदेशमा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएका हुन् ।

किन फेरियो ओलीको बोली ?  

माथिका यी दुई उदाहरणबाट प्रधानमन्त्रीले बोलेका कुरा कति तथ्यपरक हुदाँरहेछन् भन्ने प्रस्टै छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सबै नेपालीले तीन महिनामा खोप लगाइसक्छन् भन्ने कुरामा प्रधानमन्त्री चिप्लिएका हुन् । प्रधानमन्त्रीलाई कसैले ३ महिनामा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिन्छ भनेर कसैले व्रिफिङ पनि गरेको छैन ।

त्यस्तै तेस्रो दिनसम्म खोप लगाउनेको तथ्याङ्कमा पनि उनले गलत तथ्याङ्क दिएका छन् । जबकि ४६ हजार १९७ हो त्यस दिनको तथ्याङ्क ।’ उनकाअनुसार प्रधानमन्त्री जस्तो व्यक्तिले बोल्दा यथार्थ र तथ्यपरक ढंगले बोल्नुपर्नेमा त्यसरी नबोल्दा प्रधानमन्त्रीको ओज र विश्वासमा कमी आउने सम्भावना बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप