आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप

आइतबार, १८ माघ २०७७, १४ : ११
आइतबार, १८ माघ २०७७

मस्कट । भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिए । “भारतमा बनाइएको कोरोना विरुद्धको खोप ओमानलाई उपलब्ध गराइएको छ, यो दुई देशको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत रहेको परिणामस्वरुप हो,” विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित क्यारेबियन देश, निकारागुवालगायतलाई कोरोनाको खोप उपहारस्वरुप दिने योजना रहेको बताए । अफ्रिकी मुलुकहरुलाई मात्रै झण्डै एक करोड खोप दिने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

भारतले साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मङ्गोलियालगायतका देशलाई पनि कोरोनाको खोप दिने योजना बनाएको छ ।   “यही जनवरी २० देखि हामीले छिमेकी देशहरुलाइ खोप सहयोग गर्न थालेका हौँ, अहिलेसम्म ५५ लाखभन्दा बढी खोप सहयोगस्वरुप प्रदान गरिएको छ,” उनले भने । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाको खोप उत्पादन गर्ने क्षमताको हिसाबले भारत अग्रस्थानमा रहेको बताएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप