मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्लेषकको नजरमा बाम ध्रुवीकरणः के माओवादी र एमालेबीच एकीकरण सम्भव छ ?

मङ्गलबार, १७ असोज २०७४, १९ : ४९
मङ्गलबार, १७ असोज २०७४

काठमाडौं– एमाले स्थायी कमिटी बैठकले आगामी चुनावमा माओवादीसँग तालमेल गरेर जाने निर्णय गरेसँगै नेपाली राजनीतिले नयाँ मोड लिन थाल्यो । एमाले निर्णयको भोलिपल्ट नै माओवादी केन्द्रले तालमेल मात्र होइन, पार्टी एकता नै गर्ने प्रस्ताव अघि बढायो । तत्पश्चात एमाले र माओवादी केन्द्रबीच एकता संयोजन समिति बने ।

मंगलबार विहान ललितपुरको मानभवनमा सहमतिको अन्तिम ड्राफ्ट तयार गरी त्यही दिन सम्झौता सार्वजनिक गर्नेबेलासम्म नयाँ शक्ति पार्टीका डा.बाबुराम भट्टराई पनि तालमेल र एकता कार्यक्रममा मिसिए । सम्झौता घोषणा कार्यक्रममा ६ बुँदे सम्झौता पत्र पढेर सुनाएपछि तीनै पार्टीका नेतृत्वले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षर गरेपछि तीनै जना नेताले प्रतिवद्धता मन्तब्य राख्दै अब एउटै बामशक्ति रहने उद्घोष गरेका छन् । 

यी तीन पार्टीबीचको एकता प्रकृयाले नेपाली राजनीतिमा तरङ्ग नै ल्याएको छ । यो तालमेललाई राजनीतिक बिश्लेषकहरुले चाँहि कसरी लिएका छन् त ?

राजनीतिक बिश्लेषक डा.सुरेन्द्र केसी र हरि रोकाको बिश्लेषण यस्तो छ ः  

डा. सुरेन्द्र केसी, राजनीतिक विश्लेषक ः

नेताहरुले एकता गरौं भनेर अगाडि बढ्दा असंभव छैन । नेताहरुले यति भन्नु नै हामीले अपेक्षा गरेभन्दा बढी हो । किनभने तिक्तता गहिरोसँग अघि बढिरहेको थियो । तर उनीहरुले एकता किन गरेका हुन् भन्ने कुरा चाँही ब्यवहारबाट सिद्ध गर्नुपर्छ । ब्यवहारबाट सिद्ध नहुँदासम्म हामी यसमा सही थाप्ने अवस्थामा छैनौँ ।

किनभने अहिले पनि माओवादी सत्तामा पनि छ, प्रतिपक्षीसँग चुनावी गठबन्धन गर्ने मात्र होइन पार्टी एकताकै कुरा छ । जुन अव्यवहारिक हुन्छ । त्यसैले अहिलेको अवस्थामा यस्तो नै हुन्छ भनेर भन्न सकिँदैन तर नेताहरुले चाहे भने नहुने कुरा चाँही केही छैन् भन्न सकिन्छ  ।

कम्युनिष्ट पार्टीहरुको विगत हेर्ने हो पनि राम्रो छैन् । २०४६ मा संयुक्त बाममोर्चा बनेको पनि थियो तर २०४७ को परिवर्तनपछि त्यो विघटित भयो । तीन पार्टीका टुक्राहरु एकातिर लागे । टुटफुटको प्रक्रिया अगाडि बढ्यो ।

अहिले भएको माओवादी केन्द्रले पनि जनयुद्धको बाटो लिनुप¥यो । कुनैपनि विगत हेर्दा,अभ्यास हेर्दा कुनै पनि पक्ष र कोणबाट पनि परिणामदायी मोर्चागत एकता र पार्टीगत अभ्यास हुन सकेको छैन् । अहिले पनि माओवादी विभिन्न टुक्रामा छ । त्यसैले अहिलेको परिस्थितीमा पार्टी एकताको कुरालाई म सहज रुपमा लिन सक्दिन । 

हरि रोका, राजनीतिक बिश्लेषक ः 

दुई कम्युनिष्ट पार्टी बिच एकीकरणको कुराले अहिले एकखालको ‘सेन्टिमेन्ट’ सिर्जना गरेको छ । एमालेले स्थायी कमिटीको बैठकले प्रस्ताव ल्यायो, माओवादीले त्यसलाई सकारात्मक रुपमा लियो । 

हामीकहाँ गफ ठूलो हुन्छ, भावुक कुरा पनि हुन्छ तर ब्यवहारमा जाँदा फरक हुन्छ । पदको भागभण्डा, बिचार नीति जस्ता कुराले फेरी पछि हट्ने अबस्था पनि आँउछ । अहिले नै यी दुई पार्टीको भविष्य यस्तो हुन्छ भनेर भन्न सकिँदैन् । नाम के राख्नेदेखि कुन चुनाव चिन्हमा चुनाव लड्ने जस्ता धेरै कुरामा सहमती जुट्न सजिलो हुँदैन् । 

हिजोसम्म घाँटी काट्नेसम्मको प्रतिष्पर्धा गर्ने दलहरुमा के त्यस्तो कुरा मिल्यो भन्ने पनि छ । बिचारको फराकपनलाई उनीहरुले कसरी मिलाँउछन् ? नेताहरुको पद÷तह कसरी मिलाँउछन् ? कस्तो संगठन बनाँउछन् ? कस्तो नीति बनाँउछन् ? भन्ने जस्ता कुराहरुका अनगिन्ती श्रृङ्खलाहरु हुन सक्छन् । त्यसको लागि गृहकार्य गर्न एमाले र माओबादीबाट भर्खर बनाइएको टोलीले कसरी गृहकार्य गर्छन् भन्नेमा भर पर्छ । 

हामीले ब्यवहारमा हेर्दै आएका छौँ । एमाले, माओवादी र फोरमको नेतृत्वमा प्रचण्ड प्रधानमन्त्री बनेका बेला संविधानसभाको हलमा बाबुराम भट्टराईले ‘अब बामपन्थीहरुको एकता भयो, यो एकताको सरकार लामो समयसम्म जान्छ, लामो समयसम्म टिक्छ’ भनेका थिए । तर ९ महिनामा ढल्यो, माओवादीलाई तल पार्नका लागि एमालेले भयङ्कर ठूलो भूमिका पनि खेल्यो । हामीसँग बिगतका त्यस्ता तिता अनुभव पनि छन् । फेरी माओवादीको सहयोगमा झलनाथ खनालको नेतृत्वमा सरकार बन्यो तर ६ महिना भन्दा लामो समय जान सकेन ।

संबिधान बनेपछि प्रचण्डले काँधमा हालेर खड्ग ओलीलाई प्रधानमन्त्री बनाए । यो पनि बामपन्थी सरकार लामो समय जान्छ भनेको ९ महिना भन्दा अघि बढ्न सकेन । त्यसकारण अहिले नै एकताको बाटो कहाँ, कसरी, कुन ढाँचाबाट हुन्छ त्यो अहिले तत्कालै हुने कुरा हैन् । अहिले निर्वाचन जित्नका लागि एउटा लहर सिर्जना गर्न खोजेको हो कि ? पार्टी एकता नै नभईकन सूर्य चिन्ह माओवादी हँसिया हतौडामा चिन्हमा एमाले जान्छ कि जाँदैन् ? अहिले सूर्य चिन्हमा माओवादी गयो र पछि मिलेनन् भने हँसिया खोज्न फेरी चीन नै जानुपर्ने हुन्छ । 

अहिले दुई पार्टी एकीकरण हुन लाग्यो भनेर भावुक रोमाञ्चकतामा डुब्न आवश्यक छैन्, यथार्थमा अहिले जुन प्रक्रिया शुरु भएको छ, यो प्रक्रियालाई नेताहरुले कसरी अगाडि बढाँउछन्, कुराकानी कसरी अगाडि बढ्छ ? यसबारे सकारात्मक सोच्ने जति मान्छे छन् त्यति नै नकारात्मक सोच्नेहरु पनि छन् । चुनावका बेला लहर ल्याउन दुई पार्टीले एकताको बाजा बजाएको मात्र पनि हुनसक्छ । किनभने हामीले १० बर्षको विगत मात्र हेर्ने हो भने दक्षिणपन्थी एकता जुन ढाँचाबाट गयो, माओवादीलाई एक्ल्याएर केपी ओलीको एकखालको सरकार पनि बनेको थियो । हिजो कांग्रेस र एमाले मिलेर सरकार बनाएको ठाँउ पनि त हो यो । यसकारण सिद्धान्त, ब्यवहारमा, संगठनमा धेरै ठाँउमा हेर्नुपर्ने हुन्छ । त्यसकारण कसरी प्रक्रिया अघि बढाँउछन् भन्ने कुरामा भरपर्ने हुन्छ । 

बामपन्थी मिले भने सर्लक्क दुई तिहाई आँउछ, साशन सत्तामा सधै हात रहन्छ भनेर रोमाञ्चक हुनु त एउटा कुरा हो । तर त्यो खालको खुसी निर्माणका लागि नेताहरुले कसरी गृहकार्य गर्छन ? कसरी ब्यवस्थित गर्छन् त्यो महत्वपूर्ण कुरा हो । यसैबीच, राजनीतिक बिश्लेषक सिके लालले भने यो बिषयमा आफूले कुनै प्रतिक्रिया नजनाउने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप