आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डग्लास ब्राभो: सदाबहार विद्रोही

चे, क्यास्ट्रोदेखि चावेजसम्मका आलाेचक
मङ्गलबार, २० माघ २०७७, १० : ४०
मङ्गलबार, २० माघ २०७७

भेनेजुएलाका मिथकीय बामपन्थी क्रान्तिकारी नेता डग्लास ब्राभोको २०२१ जनवरी ३१ मा कोरोना भाइरसका कारण निधन भएको छ। उनी ८८ वर्षका थिए। अचेल डग्लास ब्राभोको खासै चर्चा नभए तापनि ६०-७० को दसकमा  उनी भेनेजुएला र ल्याटिन अमेरिकाकै प्रभावशाली व्यक्ति मानिन्थे। आफ्नो जवानीमा चेग्वेभारा जस्तै लामो कपाल, दारी र सैन्य बर्दी लगाउने र उस्तै जीवन शैली बिताउने डग्लास ब्राभोले दुई दशक जति भेनेजुयेलामा छापामार आन्दोलनको नेतृत्व गरे। उनले आफ्नो जीवनको लामो समय पहाड र जंगलमा क्रान्तिको सपना बोकेर बिताए। 

डग्लास ब्राभो किशोर अवस्थामै राजनीतिमा सामेल भए। उनी विद्यार्थी र ट्रेड युनियन राजनीति गर्दै भेनेजुएलाको कम्युनिस्ट पार्टीमा संलग्न बने। उनी भेनेजुएलाको कम्युनिस्ट पार्टीले गठन गरेको राष्ट्रिय मुक्तिका लागि सशस्त्र बलमा सुरुदेखि नै सामेल थिए। त्यहाँको कम्युनिस्ट पार्टीसंग मतभेद भएपछि उनले भेनेजुएला क्रान्ति पार्टी(PRV ) गठन गरे। डग्लास ब्राभोले कम्युनिस्ट पार्टीबाट अलग भएका र अन्य बामपन्थी पार्टीका लडाकुहरू समेत समेटेर रास्ट्रिय मुक्ति मोर्चा (FALN)  नामक छापामार संगठन निर्माण गरे। तर केही वर्षभित्रै अमेरिकाको सहयोगमा भेनेजुएलाको सरकारले सो संघर्षलाई दबाउन सफल भयो।  सरकारले आममाफीको घोषणा गर्‍यो, जसलाई स्वीकार गर्दै थुप्रै छापामारहरु सामान्य जीवनमा फर्के।  तर डगलास ब्राभोले  संघर्ष जारी राखे। 

१९६५ मा कंगोको अभियान विफल भएपछि चे ग्वेभारा ल्याटिन अमेरिकाको कुनै देशमा सशस्त्र संघर्ष सुरु गर्ने सोचमा थिए। त्यस बेला डग्लास ब्राभोले चेलाई आफ्नो देशमा आएर लडाईको नेतृत्व गर्न अनुरोध गरेका थिए। तर चेले बोलिभिया रोजे। बोलिभियामा नै छापामार आन्दोलनको क्रममा चेको दुखद मृत्यु भयो। डग्लास ब्राभो भन्ने गर्थे - चे ले ठुलो गल्ती गरे। यहाँ भेनेजुएलामा हामीले किसानहरुसंग राम्रो सम्बन्ध विकास गरिसकेका थियौं र उनीहरुमाथि समर्थन र सहयोगको लागि भर पर्न सकिन्थ्यो। त्यो कुरा बोलिभियामा चे ले पाउन सकेनन्। चे आफैँ भेनेजुएलामा नगए पनि क्युबाले त्यहाँको छापामार आन्दोलनलाई राम्रै सहयोग गरेको थियो। क्युबाले त्यहाँ सहयोगस्वरुप १५ जना स्वयंसेवकहरु पठाइदिएको थियो। तीमध्ये प्रमुख थिए अर्नाल्दो ओचॉ । उनी पछि गएर क्युबाका सैनिक जनरल बने। तर पछि क्युबामा लागु पदार्थ तस्करीको अभियोगमा उनलाई मृत्युदण्ड दिइयो। 

सन् ६० को दशकको अन्त र ७० को सुरुवातताका सोभियत संघ र अमेरिका बीचको सम्बन्ध तनाव शिथिलता (detente) को चरणमा प्रवेश गरेको थियो। सोभियत संघले त्यसबेला क्युबाको क्रान्ति निर्यात गर्ने नीति बन्द गर्न दवाब दियो । त्यसको परिणति भेनेजुएला लगायतका देशहरुमा चलिरहेका बामपन्थी छापामार आन्दोलनमा  नकारात्मक असर पर्‍यो। त्यसपछि डगलास ब्राभो क्युबा र फिडेल क्यास्ट्रोका कटु आलोचक बने। डग्लास ब्राभोले क्यास्ट्रोमाथि आफूलाई रसियनहरुलाई बेचेको र सशस्त्र बामपन्थी आन्दोलनप्रति गद्धारी गरेको तिखो आरोप लगाए। उनका अनुसार क्यास्ट्रोको सोभियत संघप्रतिको झुकावले बिश्वभर नै छापामार आन्दोलनको हत्या गर्‍यो।

पेरुको माओबादी छापामार आन्दोलन साइनिङ्ग पाथका नेता गोञ्जालोले डग्लास ब्राभोका बारेमा रोचक टिप्पणी गरेका छन्। गोञ्जालो भन्छन्- १९७० तिर जब फिडेल क्यास्ट्रोले सशस्त्र संघर्षको रणनीति विफल भएको घोषणा गरे, तब डग्लास ब्राभोले सशस्त्र संघर्षको रणनीति विफल भएको होइन, बरु क्यास्ट्रोको रणनीति चाही विफल भएको भएको हो भनेर गतिलो जवाफ फर्काएका थिए। दुर्भाग्यवश डग्लास ब्राभोले पनि पछि आममाफीको नै सहारा लिए।

 भेनेजुएलाको जंगलमा १८ वर्ष बिताएपछि डग्लास ब्राभोले आममाफीको सहायता लिएर छापामार आन्दोलन परित्याग गर्दै खुला जीवनमा आए। त्यसपछि उनले क्युबाली छापामार रणनीति फोकोवाद छोडेर नागरिक-सैन्य गठबन्धनको रणनीति अपनाउन थाले। त्यसै क्रममा उनले एकजना सरकारी सेनाका जुनियर अफिसर हुगो चाभेज संग भेट गरेका थिए। चावेज त्यसबेला सरकारी सेनाले विद्रोहीहरु लाई गरेको दमन र बिद्रोहीहरुको प्रतिरोधबाट भइरहेको मानवीय क्षतिबाट दु:खित हुदै आफ्नो जागिर छोड्ने मनस्थितिमा पुगेका थिए। डग्लास ब्राभोले चावेजलाई सैनिक विद्रोहमार्फत सत्ताकब्जा गरेर नागरिक र सेनाको गठबन्धनले देश सञ्चालन गर्नुपर्छ भन्ने सल्लाह दिए। त्यस कार्यलाई सफल बनाउनका लागि सेनाभित्र क्रान्तिकारी विचारधारा प्रचार गर्न सुझाव दिए।  चावेजले यो घटनालाई सम्झँदै भनेका थिए- डग्लास ब्राभोले मलाई प्रेरित गरे र मैले महसुस गरे कि मैले सेना छोड्नु हुँदैन। डग्लास ब्राभो र चावेजको सहकार्य एक दसकसम्म जारी रह्यो।  

डग्लास ब्राभो र चावेजको सहकार्यले १९९२ फेब्रुवरी ४ का दिन मुर्तरुप लियो। त्यो दिन भेनेजुएलाली सेनाका ३८ वर्षीय लेफ्टिनेन्ट कर्नेल हुगो चावेजले आफ्ना समर्थकसहित सैनिक विद्रोह सुरु गरे। यो विद्रोह असफल भयो। चावेजले राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको सबै जिम्मेवार आफूले लिदै आफ्ना समर्थकहरुलाई आत्मसमर्पण गर्न आदेश दिए। यो असफल विद्रोहले चावेजलाई भेनेजुएलामा अत्याधिक लोकप्रिय बनाइदियो। यसैको फलस्वरूप चावेज १९९९ मा भेनेजुएलाको राष्ट्रपति बने। तर त्यही १९९२ को सैनिक विद्रोहको समयदेखि डग्लास ब्राभो र चावेज बीचको सम्बन्ध बिग्रियो। डग्लास ब्राभोका अनुसार चावेजले आफ्नो लागि सत्ताकब्जा गर्न तर्फ नलागी कुनै प्रबुद्ध नागरिकलाई अगाडि सार्नु पर्थ्यो। साथै चाभेजले पहिला बाचा गरेअनुसार विद्रोहको समर्थनमा उत्रिएका प्रदर्शनकारीहरुलाई ३०,००० राइफल बाँड्नु पर्थ्यो। त्यो उनले गरेनन्। ब्राभोको मुख्य चासो विद्रोहमा नागरिकको सहभागिता रहोस् भन्ने थियो भने चाभेज यसलाई केवल सैनिक विद्रोहको रुपमा सम्पन्न गर्न चाहन्थे। सो असफल विद्रोहपछि ब्राभो पनि जेल परे र केहि समयपछि रिहा भए।  

चावेज रास्ट्रपति बनेपछि ब्राभो उनका झन् कटु आलोचक बने। ब्राभोले चाभेजमाथि धनी देशका पेट्रोलियम कम्पनीहरु माथि भेनेजुएलाको अत्याधिक निर्भरतालाई तोड्न नसकेकोमा आलोचना गरेका थिए। उनले भनेका थिए– चावेजको भाषण र प्रवचनहरुलाई हेर्ने हो भने उनको सरकार क्रान्तिकारी जस्तो देखिन्छ तर यसले हासिल गरेका उपलब्धिहरु हेर्ने हो भने यो नवउदारवादी नै हो। डग्लास ब्राभोका अनुसार  भेनेजुएलाको इतिहासमै हुगो चाभेज र निकोलस मादुरोको सरकारले जति यो देशको बर्बादी कसैले पनि गरेको थिएन। आफ्नो जीवनको उत्तरार्धमा डग्लास ब्राभोले पुँजीवाद र स्टालिनवादलाई परित्याग गर्दै तेस्रो बाटो आन्दोलन गठन गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केदार सिटौला
केदार सिटौला
लेखकबाट थप