आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा एक हप्ताभित्र नौ हजारलाई कोरोना विरुद्धको खोप

बुधबार, २१ माघ २०७७, १३ : ४८
बुधबार, २१ माघ २०७७

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो । 

माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले जानकारी दिए ।  प्रदेशमा सबैभन्दा बढी दुई हजार १८ जनालाई खोप लगाइएको छ । 

यस्तै  अछाममा एक हजार १९५, बैतडीमा एक हजार ६५, कञ्चनपुर ९६४, डडेल्धुरामा ९४२, डोटीमा ९४०, दार्चुलामा ७४७, बझाङमा ६९१ र बाजुरामा ५११ जनलाई खोप लगाइएको हो ।  खोप कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा खोप केन्द्र तोकिएको छ ।  

सरकारले सुदूरपश्चिमसहित देशका सबै प्रदेशमा यही माघ १४ गतेदेखि पहिलो चरणको कोरानाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक र कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाउने कार्य भइरहेको छ ।  

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप सङ्घीय सरकारले सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप पठाएको थियो । सुदूरपश्चिममा यही माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुनेछ । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप निर्देशक डा. गुणराज अवस्थीले लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप