मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा वाम एकता अभियान घोषणाको उछित्तो

‘काँग्रेससँग अफेयर चलिरहँदा एमालेसँग माओवादीको इंगेजमेन्ट’
बुधबार, १८ असोज २०७४, ११ : ५१
बुधबार, १८ असोज २०७४

दीपेन्द्र राई
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दृष्टिगत गर्दै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच ६ बुँदे चुनावी तालमेल र निर्वाचन सम्पन्न भएपछि पार्टी एकीकरण गर्ने सहमति भएपछि सामाजिक सञ्जालमा पत्रकारले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

'संवत् २०४७ मा मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष स्वीकारेर अत्यन्त गतिशील नेता मदन भण्डारीले हृदयको विशालता प्रदर्शन गर्नुभएको थिएन र ?’

पत्रकार किशोर श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा सोध्छन्, ‘अनि एमालेले आफू ठूलो पार्टी भईकन सानो माक्र्सवादी समूहबाट आउनुभएका मनमोहनलाई ०५१ मा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मानेको होइन र ?’ 

०६४ पछिका माओवादी÷एमाले तालमेल पनि आफ्ना ठाउँमा छन् । पत्रकार श्रेष्ठको भनाइ छ, ‘राजनीति प्रचुर सम्भावनाको खेल हो । मनका तुषभन्दा राष्ट्रिय आवश्यकता कैयन गुणा महान् हुन् । बुझ्नेलाई यो कुरा गहिरो छ ।’ 

मुख्य वाम राजनीतिक शक्ति एकैठाउँमा उभिन राजी भएपछि नेपाल टेलिभिजन महाप्रबन्धक सचिन रोका कम्ती खुसी छैनन् । महाप्रबन्धक रोकाले फेसबुकमार्फत खुसी व्यक्त गरे, ‘खुसीको सन्देश, राजनीतिक दलको संख्या घट्दै छ । राजनीतिक स्थिरताको सम्भावना बढ्दै छ । किनकि राजनीतिक स्थिरता नै समृद्धिको सूचक हो ।’

दसैं मान्न घर (नुवाकोट) पुगेका पत्रकार राजकुमार सिग्देललाई समेत वाम एकताको खबरले पुलकित बनाएको छ । खबर सुन्नासाथ पत्रकार सिग्देलले फेसबुमा लेखिहाले, ‘गाउँमा छु । एमाले माओवादी केन्द्र एकताको अपुष्ट खबर सुनें । यस्तै हो भने खबर सुखद हो । वाम एकता आजको आवश्यकता हो ।’ 

पत्रकार सिग्देलमात्रै होइन, रामकुमार एलन पनि त्यत्तिकै हर्षित छन्, ‘साँच्चै, साँच्चै हर्षका दिन । देशले चाहेको घडी । सबै वाम शक्ति एक ठाउँ ।’

पत्रकार विष्णु सापकोटाको ठहर छ, ‘आज (असोज १७ गते) रातभरिमा केही भएन भने नेपालको वामपन्थी आन्दोलनमा अर्को छलाङको संकेत हो ।’ 

पत्रकार मनोज घर्तीमगर लेख्छन्, ‘डा. बावुराम भट्टराई पुनः कम्युनिस्ट हुने भए । आजको खबर ।’

‘एमाले, माके, नयाँ शक्तिबीच भएको चुनावी तालमेल र एकता गर्ने उद्घोषले व्यावहारिक रूप लियो भने त धेरै राम्रो,’ पत्रकार महेश्वर चाम्लिङ राईको ठम्याइ छ, ‘अन्यथा यसबाट दुई खतरा निम्तिने सम्भावना देखिन्छ । १. भएका वामपन्थी शक्ति छिन्नभिन्न हुने । किनभने चर्केको हाँडी जोड्दा धेरै टुक्रा भएर फुटेजस्तो यसअघि जति पार्टी एकीकरण भएका छन् । थपिएको संख्यामा फुटेका छन् । २. रअले नेपालमा भएको परिवर्तन संस्थागत हुन नदिई देशलाई पुनः पश्चगमनतर्फ धकेल्ने गम्भीर खतरा ।’ 

कामना गरौं त्यस्तो दुःखद अवस्था नआओस् । नेपालका वाम सबै एकैठाउँ ध्रुवीकृत होऊन् । मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ र परिवर्तन चाहने मधेसवादी शक्तिलाई समेत समेट्न पत्रकार चाम्लिङले आग्रह गरेका छन् । 

झन्डै पाँच महिनादेखि थालिएको एकता र सहकार्य अभियानले मूर्त रूप लिएपछि खुसीका साथै दुःख व्यक्त गर्ने पनि त्यत्तिकै छन् । पत्रकार टीकाराम प्रधान व्यंग्य गर्छन्, ‘इंजेगमेन्ट भो, बिहेचाहिँ कहिले हुने कुन्नि ?’ पत्रकार प्रधान र रोशन सावाको बुझाइ मिल्दोजुल्दो छ । पत्रकार सावा शंका गर्छन्, ‘काँग्रेससँग अफेयर चलिरा बेला एमालेसँग माओवादीको फ्याट्ट इंगेजमेन्ट भो । अब बिहे हुन्छ हुँदैन, हेर्नु छ । आफैं टाप कस्ने÷अर्कोले उडाउने सम्भावना जो छँदै छ ।’

हरेस खानुभन्दा चरेस खानु जाती भन्ने नेपाली उखान प्रचलित छ । सोही उखान उदारहण दिँदै पत्रकार अर्जुन जम्नेलीको फरकमत छ, ‘विचार हुनेहरू विचार राख्छन् । विचारविहीन, पछुवा र अवसरवादी पछिपछि लाग्छन् । आत्तिनु किन ? आत्तिनुभन्दा बढी मात्तिनु किन ? चरेस खानु हरेश नखानू भन्ने बूढापाका ।

नेताले हरेस खाए पनि कार्यकर्ता किन सती जानु ? विचारले भत्केको घरमा पस्दा नेताका लागि क्रान्ति भए पनि कार्यकर्ताका लागि प्रतिक्रान्ति सुरु ।’ 

‘कति जुट्छन् । कति छुट्छन् यो यात्रामा । साह्रै फोन बजेको बजेकै भो, अहिले यति भनौं,’ पत्रकार राजेश चाम्लिङले संयमित हुन आग्रह गर्दै फेसबुकमा लेख्छन्, ‘जागा बसौं साथी जागै बसौं । के हुँदै छ, राम्ररी नियालौं । नमात्तियौं । फाइनल गेम के हुन्छ । अनि मात्र निष्कर्षमा जाऔं । यो ट्रेलरजस्तो मात्रै छ । किनारामा बसेर खेल हेरौं । अन्तिममा सबै गलेपछि गोल गरौं क्या । कि कसो, कहिलेकाहीं त हामी पनि सिकौं ।’ 

पत्रकार मातृका पौडेलले वाम एकता अभियान घोषणालाई अमेरिकी मोडेल, दुईदलीय प्रजातन्त्रको अभ्यासमा नेपाल भनेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै पत्रकार राजेन्द्र महर्जन सोध्छन्, ‘देशको जन्मकुण्डलीमा २०७४ मा वामपन्थी सरकार लेखिएको छ ।

जन्मकुण्डलीचाहिँ उत्तरका ज्योतिषीले लेखेको रै’छ कि ओलीज्यू । भाग्यवादी वामपन्थ ।’

वाम एकताप्रयासलाई पत्रकार कमन देवान याक्खालाई समेत चित्त बुझेको छैन । ‘आदिवासी जनजाति, मधेसी, शिल्पी, मुस्लिम, उत्पीडित, खसलगायत लैंगिक, धार्मिक अल्पसंख्यक, वर्गीय उत्पीडनग्रस्त समुदायकाको सपना, भावना र चाहनालाई बलात्कार गरेपछि आज केही कठपुतली वाम होइन, हराम एकताको झ्याली पिटिरहेका छन्,’ पत्रकार याक्खा भन्छन्, ‘नपत्याए उनीहरूका कर्मठ योद्धा, घाइते, राजनीतिक बन्दी र इमानदार कार्यकर्ता हेर्नुस् त, जसको मुहारमा नक्कली हाँसो देखिएको छ, प्रस्टसँग ।’

‘बावुरामले त कम्युनिस्ट त्यागेकै हुन् । उनी कम्युनिस्ट होइनन् । प्रचण्ड र ओली बिग्रेका कम्युनिस्ट,’ पत्रकार कुसुम भट्टराईले आरोप लगाए, ‘अतः एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच गठबन्धनलाई वाम गठबन्धन होइन, दाम गठबन्धन भन्नु ठीक होला । कोही पनि कम्युनिस्ट नभएपछि यत्राको वाम गठबन्धन ।’ 

वाम गठबन्धन प्रयासले पत्रकार अखण्ड भण्डारी अन्योलमा छन् । भण्डारी सोध्छन्, ‘सत्तामा काँग्रेसतिर, राजनीतिमा एमालेतिर, खासमा माओवादी कतातिर ?’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप