सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पार्टीमा दुईचारजना मान्छे रहुन्जेल संवैधानिक आयोगहरुले पूर्णता पाउन सकेन: प्रधानमन्त्री ओली

शुक्रबार, २३ माघ २०७७, ०९ : ००
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट दुईचारजना मान्छे बाहिरिएपछि संवैधानिक आयोगहरुले पूर्णता पाएको जिकिर गरेका छन् । शुक्रबार नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उक्त पार्टीका अध्यक्षसमेत रहेका ओलीले ती दुईचारजना मानिस पार्टीमा रहुन्जेलसम्म आयोगहरुलाई पूर्णता दिनबाट रोक्ने काम भएको दावी गरे ।

‘तीन वर्षसम्म आयोगहरु बनेनन्, दुई÷चारजना मान्छे पार्टी छाडेर गएपछि आयोगहरु बने,’ उनले भने, ‘ती मान्छे छउन्जेलसम्म हामीले आयोगहरु गठन गर्न सकेनौं ।’ अहिले पनि आयोग बनेकोमा उनीहरुलाई पिर परिरहेको ओलीको भनाइ थियो । ‘आयोग बनेकोमा कत्रो पिर ? आयोग बनेको भोलिपल्ट नेपाल बन्द !’ उनले भने ।

उनले विगतमा लामो समय नेपालमा चलेको द्वन्द्वले कयौंको मृत्यु भएको, कयौं घाइते भएको जिकिर गर्दै अगाडि भने, ‘जुनसूकै कारणले होस् हिजो द्वन्द्वकालबाट पीडित भएकाहरुको हेरबिचार गर्न सरकारले समिति बनाएको छ, सबैको हेरबिचार गर्छ ।’

अलमलमा परेकाहरुलाई सम्झाएर बुझाएर अलमलबाट मुक्त गरेर देश निर्माणको यो अभियानमा सरिक हुन पनि उनले आह्वान गरे । आफूले देशलाई समृद्ध बनाइछाड्ने, भ्रष्टाचारमुक्त गरिछाड्ने अभियान थालेको उल्लेख गर्दै उनले यसमा पनि केहीलाई आपत्ति रहेको आरोप लगाए ।

उनले देशको हितमा काम गर्न खोज्दा आफ्नो नेतृत्वको सरकारलाई हटाउने खेल हुने गरेको जिकिरसमेत गरे । जतिबेला उत्तरतिर पारवहन सम्झौता गरेँ, मलाई सरकारबाट हटाइयो,’ प्रधानमन्त्री ओलीले भने, ‘जब नक्सा छापियो, फेरि मलाई सरकारलाई नहटाइ नछाड्ने काम सुरु हुन थाल्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप