आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडकबाट प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने सरकारको प्रयास

नारायणहिटीको गेटबाट प्रधानमन्त्री ओलीले के सन्देश दिए ?
शुक्रबार, २३ माघ २०७७, १६ : २३
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । नेकपा ओली पक्षले काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि बृहद जनसभा गरेर प्रतिनिधिसभाको औचित्य पुष्टि गर्ने प्रयास गर्नुका साथै गणतन्त्र र संघीयताको पक्षमा आफूलाई उभ्याएको दावी गरेको छ । नेकपा ओली पक्षको वागमती प्रदेशस्तरीयसभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीका नेताहरु (प्रचण्ड–माधव) पक्षले नै सरकारलाई काम गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको औचित्य पुष्टि गर्ने प्रयास गरे ।

प्रतिनिधिसभा भंग गर्ने सरकारको निर्णयलाई प्रतिगामी र असंवैधानिक भन्दै त्यसविरुद्ध सबै राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री ओली र उनको पार्टीका नेताहरुले ओली नेतृत्वको नेकपा नै नेकपाको मुल पार्टी मात्रै नभएर देशकै मुल पार्टी भन्दै संघीयता र गणतन्त्रको रक्षा पनि यसैले गर्ने दावी गरे ।

‘सुन्ने गरी भनिदिनुस् चुनाव चाहियो’

सभामा उपस्थित संख्या देखेर हौसिएका प्रधानमन्त्री ओलीले ओलीले जनताका बीचमा जाने कि अस्थिरताका पक्षमा भनेर प्रश्न गरे ।

देश चुनावतर्फ गयो–गयो भन्दै ओलीले चुनावले कसको सरकार बन्ने भन्ने फैसला गर्ने बताए । ‘अब देश चुनावमा गयो–गयो, सरकार कसको बन्छ भन्ने फैसला चुनावले गर्छ’, प्रधानमन्त्री ओलीले चुनाव गर्दा देश संकटमा पर्छ भनेर षड्यन्त्र गरेको भन्दै जनताको चेतनास्तरमाथि उठेकाले कसैले लोकतन्त्र नमासिने बताए । लोकतन्त्रको भविश्य उज्जल छ । लोकतन्त्र सुदृढ छ’ ओलीले कसैले प्रतिगमन नसोचे हुन्छ भनेर चेतावनी दिए । ‘अस्थिरता होइन चुनावतर्फ जाउ म भन्छु । देशले सुन्नेगरी भनिदिनुस्, अस्थिरता होइन चुनाव चाहियो,’ ओलीले आफै नारा लगाए ।  उनले जनता के भन्छ ? भन्दै ‘अब सबैले सुन्यो होला’ भने । उनले प्रचण्ड माधवहरुले निर्वाचन आयोगहरुलाई धम्की दिएको भन्दै आफुहरु त्यस्तो धम्की नदिने बताए । ‘उहाँहरुको जस्तो हामी धम्की दिँदैनौ । आग्रह गर्छौँ,’ ओलीको भनाइ छ । 

‘केपी ओली हटाउनुपर्छ, देशलाई भड्खालोमा हाल्नुपर्छ भन्नुहुन्छ उहाँहरु । के त्यो स्थायित्व हो र ?,’ प्रश्न गर्दै उनले प्रचण्ड माधवहरुले व्यक्तिगत अहंकारका लागि संसद पुनर्स्थापनाको माग अघि सारेको बताए ।  उनले सरकार र पार्टीलाई काम गर्न नदिएको, फेरि पहिलेकै जस्तो समिकरणको जोरजामको राजनीति गर्न खोजेको भन्दै कामै गर्न नपाउने अवस्था भएपछि ताजा जनादेशमा जान संसद विघटन गर्नुपरेको दाबी गरे ।

‘हाम्रा बलमा संसदमा आएर हामीलाई काम गर्न नदिने त्यस प्रवृतिको जवाफ हामीले चुनावबाट खोज्नुपर्छ । भविश्य नयाँ पिढीको हो । कुनै नाटकबाजका पछि लागेर देशलाई बर्बाद पार्न दिनुहुँदैन’, ओलीको भनाइ छ । उनले जेष्ठ नागरिकहरुलाई पनि सम्बोधन गर्दै अहिलेको सरकारले जति छिटो काम गरेको थियो ?’ भनेर प्रश्न गरे । 

भात बाँड्दै तमासा देखाए

सम्बोधनका क्रममा प्रचण्ड–माधवपक्षको चर्को आलोचनामा समय खर्चेका प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालले अरुले पकाएको भात बाड्दै र फोटो खिचेर तमासा देखाइरहेको टिप्पणी गरे । उनले जनतालाई दुःख दिएर नेपाल बन्द गरेर प्रचण्ड–माधव क्रान्तिकारी बन्न खोजेको आरोप समेत लगाए ।

‘केही पूर्व प्रधानमन्त्रीहरु अरुले पकाएको भात बाँड्न लागेका छन्, हामी काम गर्न । उनीहरु काम गर्न होइन, तमासा देखाउन,’ उनले आफू भने विकास र सम्बृद्धिका काममा लाग्ने भन्दै नाटक नगर्ने पनि बताए ।

सम्बोधनका क्रममा आफुले तीन वर्षदेखि गरेका कामको फेहरिस्थ सुनाउदै अरु कसैले गर्न नसकेको काम गरेपनि कोभिडका कारण केही समस्या पैदा भएको दाबी गरे । ‘बढ्दै गरेको कोभिडलाई नियन्त्र गरेका छौ अव त खोप पनि ल्याइसकेका छौँ,’ ओलीको भनाइ छ ।

नरभक्षी आन्दोलन नगर्न चेतावनी

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी पनि दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अव नेपाल अशान्ति र हिंसामा जान सक्दैन,’ ओलीको भनाइ छ । ओलीले आजबाट कुन पार्टी मूल र सक्कली भन्ने फैसला भएको भन्दै अझै कुन पार्टी मूल हो भन्ने अन्योल छ भने त्यसलाई कठैबरा भन्नुपर्ने बताए । ‘मूल पार्टी यही हो, जहाँ हामी छौँ । देशकै मूल पार्टी हो । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा र प्रयोग गर्ने पार्टी हो,’ ओलीको भनाइ छ । उनले यो पार्टी लोकतन्त्रका लागि सात दशकदेखि संघर्ष गरेर आएको र देश बनाउने संकल्प बोकेको पार्टी भएकाले यो पार्टी नै मूल पार्टी भन्दै आजैबाट मूल पार्टी कुन हो भन्ने र सक्कली कुन हो भन्ने टुङ्गिएको दावी गरे ।

ओलीको प्रश्न–सहभागीको उत्तर

प्रधानमन्त्री केपी ओलीले जनसभालाई सम्बोधन गर्दै जनताले चुनाव चाहेको पनि दावी गरे । उनले सभामा सहभागिलाई नारा लगाएको शैलीमा सोध्दै भने–अस्थिरता होइन, जनता के चाहन्छ ? जनता के चाहन्छ?’ ओलीको प्रश्नात्मक भीडबाट नेता कार्यकर्ताले भने, ‘चुनाव चाहियो..!’

त्यसपछि ओलीले उत्साहित हुँदै अब अस्थिरता होइन जनताले चुनाव चाहेकाले देश चुनावमा होमिएको प्रस्ट्याउने प्रयास गरे । उनले देश चुनावतर्फ गएको भन्दै कसको नेतृत्वमा सरकार बन्छ भन्ने जनताले नै फैसला गर्ने बताए ।

‘अब देशक चुनावतिर गयो–गयो सबै कुरा चुनावले फैसला गर्छ’, उनले भने ।  सो क्रममा नेता कार्यकर्ताले ओलीको समर्थनको पक्षमा नाराबाजी गरेका थिए ।

इतिहासकै ठूलो जनसभा !

प्रधानमन्त्री ओलीले काठमाडौंमा शुक्रबारको सभा इतिहासकै ठूलो जनसभा भएको पनि दाबी गरे । उनले भ्रम फिजाउने तत्त्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंसा पनि गरे । आफूहरुको जनसभा विथोल्न कतिपय ठाउँमा प्रचण्ड–नेपाल समूहले बम राखेर विप्लव लेख्ने काम भएको भन्दै जनसभा विथोल्नकै लागि हिजो हड्ताल भएको ओलीको दावी थियो ।

शुक्रबारको सम्बोधनका क्रममा ओलीले विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा गर्ने कतिपयको अनुमानविपरित त्यस्तो कुनै घोषणा भने गरेनन् ।

ईश्वरको दावी–अराजकता मच्चाउन दिन्नौँ

कार्यक्रममा ओली अघि सम्बोधन गरेका उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षले मुलुकमा फेरि अराजकता सिर्जना गर्न खोजेको आरोप लगाए ।

पोखरेलले ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको अवस्थामा केही तत्वहरु निर्वाचन नगर्न भन्दै निर्वाचन आयेग पुगेर निर्वाचन नगर्न धम्की दिएर अस्थिरता मच्चाउन खोजिरहेको आरोप लगाएका हुन् । ‘सम्पूर्ण चीजको फैसला गर्ने जनता भएकाले ताजा जनादेशका लागि जान प्रमले ऐतिहासिक घोषणा गर्नुभयो । हामी त्यही अभियानमा लागिरहेका छौँ,’ पोखरेलको भनाइ छ । उनले प्रचण्ड–माधव पक्षले अराजकता निम्त्याउन, आर्थिक विकास कमजोर बनाउन खोजेपनि त्यो कुनै हालतमा सफल हुन नदिने दावी गरे ।

‘जनताले चाहेको राजनीतिक स्थायित्व, सम्मृद्धि र संविधानको रक्षा हो । त्यो सोचाइका विरुद्धमा जाने तत्त्वहरु देखिए । जसले सम्बृद्धिको कुरालाई पछाडि पार्न र अराजकता निम्त्याउने प्रयास गर्दैछन् त्यो सफल हुन दिदैनौँ,’ पोखरेलको भनाइ छ ।

मांसाहारी आन्दोलन गर्नेलाई ‘जु’ लैजाने

सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ,’ गृहमन्त्री थापाको भनाइ छ ।

त्यस्तै उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको दावी पनि गरे । भने, ‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । यसलाई ठीक ढंगले बुझेर मात्रै समाना गर्न सकिन्छ । मुख्यतः राजनीतिक सत्ता र नेतृत्वसँग ३ वटा प्रश्न जोडिएको छ,’ थापाले भने, ‘केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, अध्यक्षसँग र राष्ट्रपतिसँग पनि जोडिएको हुन्छ । तीनटै नेतृत्व अपदस्त गर्ने कुरालाई बुझेनौँ भने असाधारण स्थितिलाई समाधान गर्न सक्दैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप