बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

महेन्द्रको शालिक र समाजवादको विशाल भूगोल

मङ्गलबार, २७ माघ २०७७, १० : २४
मङ्गलबार, २७ माघ २०७७

प्रमाणपत्र तह उत्तीर्ण गरेको खोस्टो माया मारेर

आस्था र विश्वासको रातो झण्डा बोकेर

सहरको विद्यार्थी राजनीतिबाट गाउँ पसेको म

 

आफ्नै गाँउबाट देशको प्रधानमन्त्री बनाउन

सहरीया नेताको

फलामको किला ठोकेको

छालाको कालो जुत्तालाई

आफ्नै कलिलो काँधमा टेकाएर

चुनाव जिताएर काठमाण्डौ पठाएपछि

टुरिष्ट बस चढेर सित्तैमा

लामो समयपछि देशको राजधानी छिरेर

दरवार मार्गको आमसभाको बिच भागमा बसेर

भाषण सुन्दै गर्दा

मुख्य वक्ताले –

हाम्रै योगदानको कारण

वहाँ हालको अवस्थासम्म पुगेको बताउनु भयो

हाम्रै साथीहरुका बलिदानको कारण

वहाँ सत्ता र शक्तिको नजिक पुगेको बताउनु भयो, र

युवाहरुमा इतिहास बदल्न सक्ने

सामर्थ्य हुन्छ भन्ने पनि अर्थ्याउनु भयो

मुख्य वक्ताले बोलिरहँदा -

चुनावताका आफ्नै काँधमा टेकाएर

मञ्चहरुसम्म उकालेको सम्झन्छु

भोट गन्दै गर्दा आफ्नै घरमा राखेर

उधारोमा किनेको कुखुराको मासु र भात खुवाएको सम्झन्छु

सहर पठाउँदा आफैले बोकेर मोटर साइकलमा राखेको, र

नेटो नकाटेसम्म हात हल्लाएको पनि सम्झन्छु

अतितको सम्झनाले रमाईलो अनुभूति भएकै हो 

भाव विह्वल भएर अनायसै

आँखाबाट आँसुको थोपा भूइँमा झरेकै हो, र

देशको सीमा र झण्डाको रातो रङ्ग सम्झेर

देशप्रेमले ओतप्रोत भएर गर्वले छाति ढक्क फुलेकै हो

आफ्नै त्याग सम्झेर रोमाञ्चित हुँदै

शरीरभरि एकाएक सरर… काँडा उम्रेकै हो

 

महेन्द्रको शालिक भएको स्थान

जहाँ भूइँमा बसेर म भाषण सुनिरहेको छु

शोषण र वर्गीय उत्पीडनको

थलो नै यहि हो जस्तो लाग्दै आयो

मेरो ढाड पछाडिको

श्रीपेच पहिरिएको महेन्द्रको शालिक

वर्गीय दुश्मन त्यहि हो जस्तै लाग्दै आयो

दरवारको दक्षिण ढोका पट्टीको पटाङ्गिनी

समाजवादको विशाल भूगोल त्यहि हो जस्तो लाग्न थाल्यो

ढाडमा न्यायो घामले तातो स्पर्श गरेको अनुभूति भयो

रङ्गिन चस्मा पहिरिएको मुख्य वक्ता

वर्गीय मित्र जस्तो लाग्न थाल्यो

कति नजिक

महेन्द्रको शालिक र समाजवादको विशाल भूगोल

कति नजिक

श्रीपेच पहिरिएको राजा र रङ्गिन चस्मा पहिरिएको वक्ता

म भावनामा हराउँदै थिए क्यारे

एकाएक चिसो सिरेटो चल्न थाल्यो

पानीका थोपाहरु खस्न थाले

आङ चिसो भएर आयो

उठ्न खोजे, तर

समाजवादका भुसतिघ्रे स्वयमसेवकले रोके

अन्तमा

आमसभा टुङ्गियो

मुख्य वक्ता सुरक्षा कर्मीद्वारा घेरिएर

सेतो ल्याण्डक्रुजरभित्र छिरे, र

गाडीको कालो सिसाबाट बाहिर हेर्दै

साइरन बजाउँदै अलप भए

 

महेन्द्रको शालिकदेखि

समाजवादको विशाल भूगोलसम्मका मानिसहरु छरपस्टिए

समाजवादका भुसतिघ्रे स्वयमसेवकहरु

गच्छे र विवेक अनुसारका होटेलहरु छिरे

ऐतिहासिक र गौरवशाली पार्टिको रातो झण्डा

फाल्न सकिन बोकेरै अगाडि बढ्दै गर्दा

नक्सालको चोकसम्म आइपुगेको म

चोकमा केहि अरु म जस्तै दिशा विहिनहरु उभिएको देखें

म पनि टक्क अडिए र वहाँहरुसँगै मिसिए

 

कसैको आँखामा कुनै उद्देश्य र उत्साह थिएन

कसैको शरिरमा कुनै जोश र गन्तव्य थिएन

कसैलाई डोर्‍याउने कुनै अगुवा र विचार पनि देखिएन

थियो त मात्र सबैका काँधहरुमा

नेताहरुले टेकेका जुत्ताका डोवहरु

आमसभापछिको साँझ र नजिकिदै गरेका रातहरु,

आफ्नै वेरोजगारी, र

हुर्किदै गरेका छोराछोरीको भविष्यको कहालीलाग्दा दृष्यहरु …

***

२३ माघ २०७७

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्रप्रसाद अधिकारी
राजेन्द्रप्रसाद अधिकारी
लेखकबाट थप