बेलायतमा कोरोना संक्रमण मापन दर जुलाई पछिकै कम
लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणको तह निरन्तर रुपमा घट्दै गएको सरकारी तथ्याँकले देखाएको छ । पछिल्लो तथ्याँकअनुसार संक्रमण मापन दर (आर) ०.७ देखि ०.९ को बीचमा रहेको छ । जुन जुलाइयताकै सबैभन्दा कम हो । हाल जारी लकडाउनका कारण संक्रमण दरमा कमी आएको अधिकारीहरुले बताएका छन् । यद्धपि संक्रमण दर अझै उच्च रहेको विज्ञहरुले चेतावनी दिएका छन् ।
गएको २४ घन्टामा थप १५ हजार १४४ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा कोरोना संक्रम दर लगातार बीस हजार भन्दा कम भएको यो आठौँ दिन हो यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या चार मिलियन नाघेको छ ।
शुक्रबारसम्म संक्रमितको संख्या ४० लाख १३ हजार ७९९ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ७५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १६ हजार पुगेको सरकारी तथ्याँकले देखाएको छ ।
संक्रमण दरमा कमी आएसँगै बेलायतका अस्पतालमा उपचार गराउनेको संख्या पनि घटेको स्वास्थ्य विभागले जनाएको छ ।हाल बेलायतको अस्पतालमा २४ हजार ३५२ जनाको उपचार भइरहेको छ भने करिब तीन हजार कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा एक करोड ४० लाख बढीले लगाए खोप
बेलायतमा एक करोड ४० लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँकअनुसार हालसम्म एक करोड ४० लाख १२ हजार २४४ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पांच लाख ३० हजार ९४ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।