सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गरौंः प्रधानमन्त्री ओली

सोमबार, ०३ फागुन २०७७, १८ : ०३
सोमबार, ०३ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आफु निकट उद्योगी तथा व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीमाझ आग्रह गरेका हुन् ।

देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले जमिन, जल, वनजंगल, जडिबुटीलाई अधिकतम प्रयोग गरी उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने काममा सरकारले पूर्ण रुपमा सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले कोभिडका बाबजुद पनि गरिबी नघटेको दावी गर्दै  आगामी वर्ष आर्थिक वृद्धिलाई डबल डिजिटमा पुर्याउने बताए । आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उनले बताए । साथै प्रधानमन्त्री ओलीले बलात्कारका घटनाका अपराधीहरुलाई नियन्त्रण गरेर कारबाही गर्ने पनि बताए । आफु सरकारमा रहुञ्जेल अपराधबाट बच्न कुनै शक्ति काम नलाग्ने भन्दै उनले अपराधीहरुलाई न्यायको कठघरामा उभ्याएर पीडितलाई न्याय दिने दाबी गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशलाई अस्थिरताको भुमरीबाट मुक्त गर्नका निम्ति ताजा जनादेश दिन जनतालाई आह्वान गरेको बताए । समृद्धिको निरन्तरताको लागि र राजनीतिक स्थिरता सुनिश्चितताको लागि निर्वाचन आवश्यक रहेको उनको भनाई छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारको रहेको बताए । मन्त्री रायमाझीेले प्रचण्ड–माधव पक्ष राष्ट्रको समृद्धिका विपरित सडकमा गएको बताए । आजको आवश्यकता निर्माणको आवश्यकता भएको उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप