बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनको कुम्भमेलामा को-को छन् प्रत्यासी ?

शुक्रबार, २० असोज २०७४, ११ : ५७
शुक्रबार, २० असोज २०७४

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनको चुनावी सरगर्मी बढेको छ । अन्तराष्ट्रिय सम्मेलनका लागि विश्वभर रहेका महाधिवेशन प्रतिनिधिहरु राजधानी ओर्लिसकेका छन् । आगामी चुनावी समिकरणका विषयमा प्रतिनिधीहरु बीच बहस र वार्ता शुरु भएको छ । आगामी नेतृत्वका लागि आफ्नो पक्षमा रिझाउन कोठे बैठकहरु पनि शुरु भएको छ । 
७७ देशमा शाखा रहेको एनआरएनको मुख्य नेतृत्वको लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । असोजको २८ देखि ३१ एनआरएनको 'कुम्भ मेला' हुँदैछ । 
को–को भिड्दैछन् अध्यक्षमा ?
दुई कार्यकाल उपाध्यक्षको पदमा भूमिका निर्वाह गरेका भवन भट्ट आठौं विश्व सम्मेलनका लागि अध्यक्ष पदका बलियो उम्मेदवार देखिएका छन् । घोषित उम्मेदवारहरुमा  भट्टसंग चुनावी मैदानमा प्रतिस्पर्धी देखिएका छन् – कतारबाट डिबी कार्की । वर्तमान अध्यक्ष शेष घलेसँग सातौं विश्व सम्मेलनमा पराजित भएका कार्कीले यसपटक पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका  भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्तले सहयोग गर्ने बुझिएको छ । भट्ट र पन्त बीच भएको  भित्रि सहमति अनुसार यसपटक पन्तले अध्यक्षमा भट्टलाई सहयोग गर्ने र अर्को अधिवेसनमा भट्टले अध्यक्षमा पन्तलाई सहयोग गर्ने  चर्चाले चुनाबी बाताबरण गर्माएको छ । भट्टलाई एनआरएन संरक्षक जीवा लामिछानेको पनि समर्थन रहेको छ । 
वर्तमान अध्यक्ष शेष घलेले आफ्नी पत्नी जमुना घलेलाई अध्यक्षमा अगाडी सार्ने विषयले पनि चर्चा पाएको  छ । यद्यपी जमुनाको अहिलेसम्म उम्मेदवारी  घोषणा  भएको छैन । घलेले आफ्नो कार्यकालमा शुरु गरेको लाप्राक एकीकृत वस्ती निर्माणलाई सम्पन्न गर्न  र भिजन ट्वान्टी ट्वान्टीको एजेण्डालाई कार्यान्वयन तहमा लानका लागि श्रीमतीलाई अध्यक्षमा उठाउने सोंच बनाएको बुझिएको छ ।  
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भट्ट मुलतः जापानको रेष्टुरेन्ट व्यवसायबाट आर्थिक क्षेत्रमा फड्को मारेका हुन् । नेपालमा सञ्चारमा क्षेत्रमा पनि लगानी गरेका भट्ट नेपाल पुर्वाधार कम्पनीको अध्यक्ष पनि बनिसकेका थिए । भट्टको लगानी रहेको बिबि एअरलान्स भने गति लिन नसकि बन्द अवस्थामा रहेको छ । 
हालसम्म अध्यक्षमा उम्मेदवारी घोषणा नगरेपनि दावेदारी मनस्थिती बनाएकी जमुना गुरुङ घले अष्ट्रेलियामा धनाढ्य महिलाहरुको सुचिमा छन् । घले अष्ट्रेलियाको प्रख्यात मेलर्बन इन्सिच्युट अफ टेक्नोलोजीको प्रवन्धक हुन् । घले अष्टे«लियामा ११ औं धनाढ्य महिलाको सुचिमा छिन् । घले दम्पतीको २६५ मिलियन डलर सम्पत्ती रहेको छ । 
अध्यक्षका अर्का प्रत्यासी डिबी कार्की एनआरएनको स्थापनाकाल देखि संस्थामा आवद्ध छन् । कार्कीको  कतारमा निर्माण कम्पनी द बेच जनरल सर्भिस छ । कार्कीको कम्पनीमा नेपाली कामदारहरु पनि कार्यरत छन् । 
तीन उपाध्यक्षका लागि पाँच उम्मेवार 
खुला दुई र महिला उपाध्यक्ष एक गरी  विधानमा तीन जनाको उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षमा सपिला राजभण्डारीले उम्मेदवारी घोषणा गरेकी छन् । राजभण्डारी महिला उपाध्यक्षमा निर्विरोध बन्ने सम्भावना रहेको छ । नेपालमा स्वास्थ्य शिविर , जागरूकता कार्यक्रम, परोपकारी परियोजना र प्राकृतिक प्रकोपको समयमा सक्रिय रहेर राजभण्डारीले काम गरिरहेकी छिन् । 
सन् २०१५ मा बेष्ट एनआरएन र केहि समय अघि ‘युरोप वर्ष व्यक्तित्व’ बाट उनलाई सम्मानित गरिएको थियो । 
भवन भट्टलाई अध्यक्षमा सहयोग गर्ने गरि पुनः उपाध्यक्ष पदका आकांक्षी उम्मेदवार हुन् – कुमार पन्त । जर्मनीमा रेष्टुरेन्ट व्यवसायी रहेका पन्तको गृहजिल्ला गोर्खा हो । भट्टसँग आलोपालो गरि मुख्य पदमा रहने गरि पन्तको भित्री सहमती भएको बताइएको छ । 
उपाध्यक्षमा पुष्प थापा ,कुल आचार्य र चिरन्जीवी थापा पनि आकांक्षी देखिएका छन् । पुष्प थापा सार्तौ विश्व सम्मेलनमा वर्तमान प्रवक्ता रञ्जु थापालाई महासचिवमा  हराउन मुख्य भुमिका खेलेको भन्दै आलोचना गरिएका थियो । 
महासचिवमा पुनः बद्रि केसीको सम्भावना
एक महासचिव पदका लागि हालसम्म तीन जना उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एक कार्यकाल महासचिवको पदमा विताईसकेका बद्रि केसी पुनः सोहि पदमा आकांक्षी देखिएका छन् । संचालित योजनाहरु एक कार्यकालमा पुरा गर्न असम्भव रहेकोले पुनः महासचिवमा उम्मेदवारी दिन लागेको केसीले बताए । रसियामा कार्यरत केसीले नेपालमा हाईड्रो र चिया प्रशोधन कम्पनीमा लगानी गरेका छन् । एक कार्यकाल महासचिव विताउनुको साथै पुर्व अध्यक्षहरु उपेन्द्र महतो र जिवा लामिछानेको साथ रहेकोले केसी बलियो उम्मेदवार बनेका छन् । 
हङकङ एनआरएनको दुई कार्यकाल नेतृत्व गरेका त्रिलोक गुरुङले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरेका गुरुङले लमजुङमा जन्मेका हुन् । गुरुङ हाल एनआरएनएको केन्द्रिय सल्लाहकार छन् । 
एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा लागि अनुभव र सिपलाई उपयोग गर्ने एजेण्डा सहित बेल्जियमबाट आठौं अन्तराष्ट्रिय सम्मेलनमा अर्जुन कुमार श्रेष्ठले महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । बेल्जियममा  डेढ दशक रहेका श्रेष्ठ होटल व्यवसायी ब्यबसायी हुन् । श्रेष्ठ २०१३ देखि २०१५सम्म  युरोप संयोजक बनेका थिए । 
युरोपबाट उम्मेद्वारी संख्या बढि 
 युरोप क्षेत्रबाट उपाध्यक्षका आकांक्षीहरु बढी देखिएका छन् । कुमार पन्त र पुष्प थापा  उपाध्यक्ष र अर्जुन कुमार श्रेष्ठ महासचिवका लागि भिड्ने भएका छन् । 
त्यस्तै युरोपबाट उपाध्यक्षमा  कुल आचार्य अर्का बलियो प्रतिस्पर्धी देखिएका छन् । युरोपबाट महिला उपाध्यक्षमा सपिला राज भण्डारी , महिला संयोजकमा रजनी प्रधान र युवा संयोजकमा लोकराज शर्माले उम्मृदवारी दिने निर्णय गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि क्षेत्रीय संयोजकमा वेलायतका थर्क सेनले आफ्नो उम्मेदवारी  घोषणा गरेका छन् ।
स्विजरल्याण्डबाट उम्मेदवारी घोषणा गरेका युरोप संयोजकका अर्का बलियो प्रतिस्पर्धी डक्टर विनय श्रेष्ठ हुन्  । गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डका संस्थापक उपाध्यक्ष  डा. श्रेष्ठ एनआरएनका वर्तमान आइसीसी सदस्यसमेत हुन् । युरोप संयोजकमा उम्मेदवारी दिएका श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् ।
युरोपबाट नै  जर्मनीमा रहेका  दावा जी शेर्पा र बेल्जियमबाट प्रेम गुरुङ युरोप क्षेत्रिय संयोजकका प्रत्यासी हुन् । बेल्जियमबाट अर्का उम्मेदवार गंगाधर गौतम  युरोप संयोजकका आकांक्षीको रुपमा देखिएका छन् । युरोप क्षेत्रिय महिला उपसंयोजक पदमा बेलायतबाट संगिता मरहट्ठाले उम्मेदवारी घोषणा गरेकी छन् । होल्याण्डबाट  हरि पौडेलले पनि युरोपको क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएन पोर्चुगलका निबर्तमान अध्यक्ष भिम केसी कमलले युरोप सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
एसियाबाट को–को ?
वर्तमान प्रवक्ता रञ्जु थापा पदाधिकारीको आंकाक्षी देखिएपनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी भने छैनन् । गोविन्द प्रसाद श्रेष्ठ (रोविन्द)ले जापानबाट  एसिया प्यासिफिक संयोजकमा  उम्मदेवारीको घोषणा गरेका छन् । एसिया संयोजकमा उम्मेदवारी घोषणा गरेका रोविन्द  एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै दुई पटक एसिया प्यासिफिक सहसंयोजक पदमा रहेका थिए । 
त्यस्तै एसियाबाट मध्यपुर्व संयोजकमा कतारबाट आरके शर्माले उम्मेदवारी दिने बताएका छन् । शर्मा कतारका सफल व्यवसायी, समाजसेवी र एनआरएनका अभियन्ताका रुपमा चिनिन्छन् । यस्तै साउदी अरबका धरम केसीले पनि संयोजक पदमा उम्मेद्बारी घोषणा गरेका छन् । केसी बिभिन्न टास्क फोर्समा बसेर काम गरिसकेका ब्यक्ति हुन् ।
वर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरुबीच टकराव 
चार वर्ष शेष घलेमय एनआरएन भएको थियो । भुकम्प तथा बाढी पिडितहरुको राहतका कार्यले घले संस्थामा हावी भएका थिए । लाप्राक एकीकृत वस्ती , एनआएन भवन निर्माण प्रक्रिया, वैदेशिक रोजगार राहत कोष स्थापना र भिजन  २०–२० एण्ड बियोण्डका कारणले घले चर्चामा रहिरहे । 
भिजन  २०–२० एण्ड बियोण्डको कार्ययोजनालाई प्रक्रियासंगत तरिकाले छलफलमा नल्याइएको भन्दै एनआरएनका संरक्षक जीवा लामिछानेले दशौं युरोपेली बैठकमा  प्रश्न उठाएका थिए । वर्तमान उपाध्यक्षद्धय भवन भट्ट र कुमार पन्तलाई एक आपसमा भिड्ेको अवस्थामा पुनः घलेको समर्थन निर्णायक हुने आशंकाले भट्ट र पन्तको आपसी समझदारीमा पुर्व अध्यक्षहरुको पहल गरेको बताइएको छ ।  
एनआरएनहरुको कुम्भमेलाका रुपमा परिचित विश्व सम्मेलन हयात होटलमा हुँदैछ । सम्मेलनमा विश्वभरबाट एक हजार बढी सम्मेलन प्रतिनिधि सहभागी हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप