आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोना विरुद्धको खोपका लागि स्वेतपत्र सार्वजनिक गर्न काँग्रेसको माग

बिहीबार, ०६ फागुन २०७७, १७ : ०१
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं ।  नेपाली काँग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाका सहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै काँग्रेसले सबै जनतालाई खोपको सुनिश्चितता दिनेगरी कार्ययोजना सहितको स्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो ।

बिहीबार कुराकानीमा काँग्रेस सह–महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाका सहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनियताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको पनि बताए ।

उनले भने– ‘खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनियताको बारेमा पनि नेपाली जनतालाई सुनिश्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाका सहितको विस्तृत समयकालिन कार्यतालिका सहित, स्रोत सहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ । यो हामी माग गर्छौं ।’

खोप लागउने विषयमा सरकार गम्भिर नभएको पनि सह-महामन्त्री महतले बताए । भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिएपनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाई छ । उनले भने- ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरुले तयार गरेका छन्, त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्भिर भइराखेको छैन । भारतले १० लाख निःशुल्क दिएको कुरा छ र त्यो खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।’

सबैभन्दा पहिला अग्रपंतिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठिक भएपनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको बताए । निःशुल्क खोप कहाँ कहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सह–महामन्त्री महतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप