सक्नुहुन्छ भने संसदीय दलमा बहुमत पुर्याएर देखाउनुस्ः प्रधानमन्त्री ओली
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास र समृद्धिको यात्रामा अघि बढेकाले त्यसलाई देख्न नचाहने देशी–विदेशी तत्वहरु सरकार गिराउने खेलमा लागिरहेको बताएका छन् । देश विकास, समृद्धि र सुशासनका दिशामा अगाडी बढेपछि देशी–विदेशी तत्वहरु सरकार गिराउने खेलमा लागेको आरोप लगाएका हुन् ।
सोमबार पोखरामा आयोजित नेकपा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले उनीहरुको चाहना सजिलै पूरा हुन नदिने बताए । उनले नेपाली जनताको विकास र समृद्धिको चाहनालाई असफल बनाउन चाहने देशी–विदेशी तत्वका कारण आफ्नो ज्यान समेत खतरामा रहेको बताए । ‘सरकारले विकास निर्माणका काम तीव्र रुपमा अगाडि बढाएकाले बढ्दो लोकप्रियता देखेर देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेका छन’ उनले भने । ‘यसको नेतृत्व पार्टीले गरेकाले उनीहरुको शारीरिक हमला म माथि भयो भनेपनि अचम्म नमान्नुहोला ।’
उनले कुनैपनि हालतमा पार्टीको भविष्य अन्धकार जान नदिने बताए । उनले विरोधीहरुको जस्तोसुकै षड्यन्त्रसँग लड्ने बताए । प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा र विकासका लागि पार्टीले कसैसँग कुनै सम्झौता नगर्ने बताए । उनले पार्टी एकताका लागि आपूmले पूर्व माओवादीका केही नेताहरुलाई जिम्मेवारी दिएको बताउँदै त्यसपछि उनीहरु आपूm नेकपाको अध्यक्ष भएको भन्दै हिँडने गरेको आरोप लगाए । उनले पार्टीको बैठक र संसदीय दलमा आएर बहुमत देखाउन समेत चुनौती दिए । उनले पार्टीको एकताका लागि केन्द्रीय समितिमा प्रचण्ड समूहलाई बहुमत दिएर त्याग गर्दा समेत उल्टै निर्वाचित अध्यक्षलाई कारवाही गरेको भन्दै हिँडेको आरोप लगाए । उनले पार्टी एकताका लागि मात्र विभिन्न पद सृजना गरेको बताउँदै नेकपामा आफुमात्र निर्वाचित अध्यक्ष भएको बताए । ‘म मात्र पार्टीको निर्वाचित अध्यक्ष हो । अन्य पद पार्टी एकताका लागि मिलाउन बनाइएको पद हुन्’ उनले भने । ‘यदि तपाईंको बहुमत छ भने पार्टीको आधिकारीक बैठक र संसदीय दलमा बहुमत पुर्याएर देखाउनुहोस् ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यलाई आवश्यक परेका बेला पार्टी मिलाउनका लागि नियुक्ति गरेकाले चाहेको बेला हटाउन सक्ने समेत बताए । ‘पार्टी एकताका लागि नियुक्ति दिनेले नियुक्ति बदर गर्न समेत सक्छ, त्यसैले मैले संसदीय दलको मुख्य सचेतकबाट देवप्रसाद गुरुङलाई हटाइदिए’ उनले भने । उहाँ कुनै विधि र प्रक्रियाबाट निर्वाचित भएको हैन, मैले मनोनित गरेको हो मैले नै हटाएर अर्कोलाई मनोनयन गरे ।’
प्रधानमन्त्री केपी शर्माओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती समेत दिए । ‘म भाग्ने व्यक्ति होइन विधि र प्रक्रियाबाट हटाउनुहोस्’ उनले भने । विधि र पद्धतिअनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीले बताए । ‘यदि विधि र प्रक्रियाबाट हटाए डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउँछौं’ उनले भने ।
उनले मुलुक विकास, समृद्धि र सुशासनतर्फ उन्मुख भएको बताए । ‘मुलुकमा ठुलठुला पूर्वाधार निर्माणका काम अगाडि बढेका छन् । भ्रष्टाचार नियन्त्रण भएको छ, देश समृद्धिको यात्रामा अगाडि बढिरहेको छ’ उनले भने ।
प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला पछि पनि आपूm विचलित नभएको बताए ।