वधशालामा अस्मिता
झम्टिँदै भुत्ल्याउँदै खसी जस्तै खुइल्याउँदै
चिथोर्दै कोपर्दै चितुवाले शिकार झम्टिएझैं
लछार्दै पछार्दै मुन्ट्याउँदै राक्षसी दाह्रा उध्याउँदै
वधशालामा सेरिएका छन् यहाँ कलिला कोपिलाहरु
खलाती चलाउँदै आरनमा डामिएका छन् वृद्धाहरु
पूर्वदेखि पश्चिमसम्म अनि हिमालदेखि तराईसम्म
कोपिला निमोठ्न प्रतिस्पर्धा गर्दै छन् यहाँ कुरुपहरु
साँढेझैँ डुक्रिँदै खुलमखुला सिँघौरी खेल्दैछन् पुरुषहरु
सिंहमा दया पलाउँदो रहेछ बरु, मृगको पाठो अगाडि पर्दा
थामिएनन् तिनका कुकृत्य, अश्मिता गुमाउँदै आँशु झार्दा
चित्कार रोदनले छोएन तिनलाई, कोचिन्छ बुजो मुखमा अझै
अस्मिता लुटेर मात्र पुगेन, घाँटी निमोठिन्छ कोपिलाको कठै
जनावरले पनि आहारा खोज्छन् तर आफ्नै क्षेत्रभित्र रमाउँछन्
गिद्धे नजर लाउँदैछन् पिपासु पुरुषहरु, उन्मादमा होस गुमाउँछन्
भरोसा कसैको देखिएन, न त भन्न सकिन्छ यो त आफ्नै मान्छे
अस्मितामा धावा बोलिन्छ यहाँ, जसलाई उसले आफ्नो ठान्छे
रक्षक नै भक्षक भएका छन् यहाँ अनि संरक्षक बन्दैछन् दानव
स्खलित भएका छन् पुरुषहरु, बन्दैछन् संवेदना हराएका मानव
पश्चातापमा होलान् नारीहरु, कुपुत्र पैदा गर्न म धिक्कार अन्मिएछु
आजीवन बलात्कारीको आमाको बिल्ला भिर्न, म किन जन्मिएछु ?
आजीवन बलात्कारीको आमाको बिल्ला भिर्न, म किन जन्मिएछु ?
सिरानचोक–५, गोरखा
हाल : टोखा नगरपालिका–१०