बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस, एमाले र माओवादीको चुनावी टक्करले गुल्मीका रेडियो मालामाल

रुरुका उम्मेदवार भन्छन्– जसले जितेपछि हातेमालो हरेर विकासमा लाग्छौं
बिहीबार, ०८ असार २०७४, १५ : २९
बिहीबार, ०८ असार २०७४

गुल्मी–  स्थानीय तहको दोस्रो चरणको चुनाव आउन मात्र ६ दिन बाँकी रहँदा गुल्मीका  राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र पारेका छन् ।  
उम्मेदवारहरुले घरदैलो अभियान र सभासम्मेलन मात्रै होइन सामाजिक सञ्जालदेखि आमसञ्चारमाध्यमसमेतलाई प्रयोग गरेर माहोल तताइरहेका छन् । 
चुनावी रिपोर्टिङका क्रममा रातोपाटी टीम गुल्मीका विभिन्न गाउँपालिकामा पुग्दा उम्मेदवारहरुले  प्रचारप्रसार अभियानलाई तीब्र पारेको पाइयो । उनीहरुले अभियानलाई तीब्र पार्दै गर्दा  नतिजा आफ्नो पक्षमा आउने दाबी समेत गरेका छन् । 
बिहिबार दिउँसो रातोपाटी टीम गुल्मीको रुरु गाउँपालिका पुग्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिरहेका देखिन्थे भने मतदाताहरु पनि कसको पक्षमा माहोल  रहेको र कसले चुनाव जित्ला भनि चियापसलदेखि चौतारीसम्म छलफल र बहसमा  देखिन्थे ।  

रुरु गाउँपालिकामा एमालेको एकल उम्मेदवारी पर्दा माओवादी  र कांग्रसबीच गठबन्धन रहेको छ । एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई हराउँदै  दोस्रो संविधानसभा निर्वाचनमा चन्द्र भण्डारीले बाजी मारेको क्षेत्र पनि हो, रुरु गाउँपालिका । दुई नेताको प्रतिष्ठाको समेत सवाल रहेका कारण यो गाउँपालिकामा कसले बाजी मार्छ भनि समग्र गुल्मीबासीले नै चासोका साथ हेरेका छन् । 


रुरु गाउँपालिकामा एमालेका तर्फबाट निलकण्ठ गौतम र  उपप्रमुखमा लक्ष्मी पुनको उम्मेदवारी परेको छ ।  यस्तै माओवादी केन्द्र र कांग्रेस गठबन्धनबाट माओवादीका  यदु ज्ञवालीको प्रमुखमा उम्मेदवारी परेको  भने उपप्रमुखमा  कांग्रेसका देवीन्द्र मल्लको उम्मेदवारी परेको छ । 
माओवादी– कांग्रेस गठबन्धनले बेराजगारीको समस्या समाधान, स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्नेदेखि विकास निर्माणका एजेण्डा उठाएका छन् । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार  यदुले त आफूले गाउँपालिकाको अध्यक्ष जितेको खण्डमा  हरेक नागरिकले २० हजार मासिक आम्दानी दिलाउने योजना आफूसँग रहेको बताए ।
 एजेण्डाका हिसावले कांग्रेस–माओवादी गठबन्धनको पनि उस्तै खालको योजना रहेका छ । एमालेका  गाउँपालिका प्रमुखका उम्मेदवार निलकण्ठ गौतमले   बेरोजगारीको समस्या समाधान, खानेपानी, बृद्धभत्ता लगायतका विषय नै आफ्नो मुख्य एजेण्डा रहेको बताए । 

प्रचारमा होडबाजी
रुरु क्षेत्रमा भेटिएका स्थानीय श्याम गौतमले चुनाव नजिकिएसँगै जिल्लाबाट सञ्चालित एमएमहरुले अरु विज्ञापन छाडेर हालका दिनमा    राजनीतिक दलको प्रचारमै व्यस्त रहेको बताए ।  उनले भने– यहाँका एफएम रेडियोले बिहान खुलेदेखि  बन्द नभएसम्म  राजनीतिक दलकै प्रचारप्रसार गर्छन् ।’
उनका अनुसरा   प्रचारप्रसारमा कांग्रेस माओवादी र एमाले अग्रस्थानमा रहेका छन् । उनीहरुले  एफएमबाट प्रचारमा मात्रै लाखौं रकम खर्च गरेको जानकारहरु बताउँछन् ।   यसले एकातिर राजनीतिक दलहरुलाई आफ्नो एजेण्डा आम सर्वसाधारणसम्म पुर्याउन सहज भएको छ भने आर्थिक रुपमा पनि आफूहरुलाई पाइदा पुगेको  जिल्लाका एक एफएम सञ्चालकले बताए । तर, रकम पाइने लोभमा कतिपय  एफएम रेडियोले आचारसंहिता विपरितका प्रचारसमेत गरिरहेको बताइन्छ । 
गुल्मीमा रेडियो रेसुंगा, रेडियो गुल्मी,  रेडियो स्काई, रुरु एफएम, सेडियो पुष्पाञ्जिली, पहिलो एफएम, ऋषिकेश एफएमलगायत जिल्लाका प्रमुख एफएम स्टेसन हुन् ।   

साना दललाई समस्या
कांग्रेस, माओवादी र  एमालेले सबै विधि अपनाएर प्रचारप्रसार तीब्र पारेपनि साना दलहरु  भने समस्यामा परेका छन् ।  आर्थिक अभावका कारण न त उनीहरुले  ठूला खालका कार्यक्रम गर्न पाएका छन् न त  रकम खर्चिएर विज्ञापन नै बजाउन सकेका छन् ।  पार्टीको भूगोलमा बलियो उपस्थिति समेत नभएको र  प्रचारप्रसार समेत प्रभावकारी हुन नसक्दा  चुनाव जित्न गाह्रो रहेको जनमोर्चाका एक उम्मेदवारले बताए ।  यसो त रुरुका श्याम गौतमले पनि प्रचार प्रसारमा पछाडि देखिएका उम्मेदवारले हार्ने खतरा देखिएको बताए । उनले भने– सबै एमएफमा कांग्रेस, एमाले र माओवादीका चुनावी प्रचार भइरहेका छन् ।  जसले  रेडियोमा विज्ञापन दिएन र फिल्डमा राम्रो उपस्थिति देखाउन सकेको छैन   त्यसले हार्ने जस्तो देखिइएको  छ। 
रुरु गाउँपालिकामा साविकको रुरु, ग्वाडी, खानापति, बलेटक्सार, बम्घा र रिम्बुवा  गाविस मिलेर बनेको गाउँपालिका हो ।  
चन्द्र गर्जिए, ज्ञवाली कता गए ?
आफ्नै क्षेत्र भएपनि चुनावी अभियानमा एमाले सचिव प्रदीप ज्ञवाली   अहिलेसम्म रुरु पुगेका छैनन् । बरु यसअघिको निर्वाचनमा ज्ञवालीलाई हराउँदै विजयी भएका कांग्रेस नेता चन्द्र भण्डारी भने माहोल बनाउन जुटिसकेका छन् । केहि दिनअघि मात्रै बलेटक्सारमा आयोजित एक कार्यक्रममा उनले एमालेले कम्युनिष्ट झण्डा छाडिसकेको भन्दै  अब माओवादी कांग्रेसको गठबन्धनलाई कसैले हराउन नसक्ने दाबी गरेका थिए । 

गुल्मीमा १० गाउँपालिका र २ नगरपालिका रहेका छन् भने ती स्थानीय तहमा ठूला पार्टीकै बीचमा कडा टक्कर  पर्ने  बताइएको छ । 

उम्मेदवारको सकारात्मक प्रतिबद्धता
 दलहरु अहिले जति आफ्नो पक्षमा   माहोल बनाउन जुटिरहेका छन्  त्यो राजनीतिक विषय रह्यो तर उनीहरुले चुनाव जसले जितेपनि  एकले अर्कालाई सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।  रातोपाटीसँगको अन्तरक्रियाका क्रममा उनीहरुले  यस्तो प्रतिबद्धता जनाएका हुन्  ।  माओवादी केन्द्र रुरु गाउँपालिकाका उम्मेदवार यदु ज्ञवालीले चुनावी प्रतिश्पर्धामा जसले जिते पनि गाउँ बनाउन सबै हातेमालो गरेर अघि बड्ने बताए ।  यस्तै प्रतिबद्धता  एमाले उम्मेदवार ज्ञवालीले पनि जनाउँदै विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने र त्यसका लागि आफ्नो पार्टीबाट राजनीतिक प्रतिशोध साध्ने काम नहुने बताए । 


देशका विभिन्न स्थानीय तहमा  राजनीतिक पूर्वाग्रहकै कारण  विकास निर्माण बाधा पुगेको भन्ने खालका समाचार समेत सार्वजनिक हुने गरेको बेलामा रुरु  गाउँपालिकाका यी उम्मेदवारहरुले गरेको प्रतिबद्धता साँच्चै नै सह्रानीय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप