बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको चार सङ्केत

शुक्रबार, २८ फागुन २०७७, १४ : ५४
शुक्रबार, २८ फागुन २०७७

भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि वृद्धि हुन थालेको छ । यसअघि फेब्रुअरीको मध्यमा महाराष्ट्र र पञ्जावमा संक्रमितको संख्या बिस्तारै बढ्न लागेको थियो, तर पछिल्लो साता धेरै स्थानमा यस्तो अवस्था देखिएको छ । 
केही विज्ञहरुले भारतमा कोरोनाको दोस्रो लहर देखिएको हुनसक्ने अनुमान समेत गरेका छन् । तर के यो साँच्चै संक्रमणको दोस्रो लहर हो ? केही सिमित क्षेत्रमा मात्रै छ वा देशैभर संक्रमित बढेका छन् ?

खोप लगाउने कार्यक्रम चलिरहेको र बदलावसहित  कोरोनाको नयाँ रुप फैलिरहेको अवस्थामा भारतमा दोस्रो लहर कसरी फैलिएको हुनसक्छ भन्ने विषयबारे यो चार्टले प्रकाश पार्नसक्छ –

१. नयाँ संक्रमणको राष्ट्रव्यापी लहर जारी 
 

फेब्रुअरी ११ मा भारतमा महामारी निकै न्युन अवस्थामा थियो । यतिबेला सातामा प्रतिदिन औसत १० हजार ९ सय ८८ बिरामी भेटिएका थिए । त्यसयता पछिल्लो साता यो संख्या फेरि बढेको छ । गत बुधबारसम्म एक साताको अवधिमा प्रतिदिन औसत १८ हजार ३ सय ७१ जनामा संक्रमण देखिएको छ । यसरी, महामारीको पहिलो लहर न्युन बिन्दुमा आइसकेपछि फेरि संक्रमितको संख्या ६७ प्रतिशतले बढेको छ । 

सुरुवातमा यो वृद्धिदर निकै कम थियो । धेरै आर्थिक र सामाजिक गतिविधिहरुमा लगाइएका कडाई खुकुलो भएर मानिसहरुले सहज अनुभव गर्न थालेपछि यो संख्या बिस्तारै बढ्दै गयो । ग्रामिण भारतका कतिपय स्थान र केही शहरमा समेत मानिसले मास्क लगाउन छाडिसकेका छन् । 

चिन्ताजनक विषय यो छ कि धेरै पश्चिमा देशमा कोरोनाका धेरै लहर आइसकेका छन् । दोस्रो लहर (कतिपय अवस्थामा तेस्रो ) पहिलोको दाँजोमा फैलावटको हिसाबले धेरै शक्तिशाली देखिएको छ, यद्यपी मृत्युदर भने निकै कम छ । यही समय भारतमा परीक्षण दर पनि निकै घटेको छ । गत साता औसतमा भारतमा प्रतिदिन ७ लाख २५ हजार ६ सय २६ वटा नमूना परीक्षण गरिएको थियो । जबकी, अक्टुबर १० सम्म यहाँ एक साताको अवधिमा प्रतिदिन औसतमा  ११ लाख ९६ हजार ९ सय ७२ जनामा परीक्षण गरिएको थियो । 


२. यी राज्य जहाँ राष्ट्रिय औसतको दाँजोमा दोब्बरले संक्रमण बढिरहेको छ 

एक साताको अवधिमा पञ्जावमा औसत दैनिक संक्रमित सबैभन्दा धेरै देखिएका छन् । पहिलो लहरपछि यहाँ ५ सय ९ प्रतिशतले संक्रमितको संख्या बढेको छ । राष्ट्रिय औसतको दाँजोमा यो झन्डै ८ गुणाले बढी हो ।  पछिल्ला ४–५ महिनादेखि किसान आन्दोलनको केन्द्र बनेको यस राज्यमा जनवरी २७ सम्म एक साताको अवधिमा दैनिक १ सय ८१ जनामा संक्रमण देखिएको थियो । 

त्यसयता, फेब्रुअरीको सुरुवाती दुई सातामा यहाँ बिस्तारै संक्रमण बढ्न थाल्यो । पञ्जावपछि फेरि संक्रमितको संख्या बढ्ने मामिलामा महाराष्ट्र अगाडि छ । यस राज्यमा ११ फेब्रुअरी ११ सम्म जुन संख्यामा संक्रमित देखिएका थिए, अहिले त्यसको ३३१ प्रतिशतले संक्रमण बढेको छ । त्यतिबेला प्रतिदिन संक्रमित हुनेको संख्या २ हजार ४ सय १५ थियो भने पछिल्लो समय बढेर १० हजार ४ सय १० पुगेको छ । त्यस्तै हरियाणामा पनि ८ फेब्रुअरीसम्मको साता औसतमा प्रतिदिन ७४ जना संक्रमित देखिएकोमा पछिल्लो साता संक्रमित बढेर प्रतिदिन २ सय ९७ पुगेको छ । यहाँ ३ सय २ प्रतिशतले संक्रमित संख्या बढेको हो । त्यसैगरी मध्य प्रदेशमा पहिलो लहरको न्युन बिन्दुको दाँजोमा १ सय ६४ प्रतिशत, दिल्लीमा १ सय ४० प्रतिशत,  आसाममा १ सय ३८ प्रतिशत, गुजरातमा १ सय २५ प्रतिशत राजस्थानमा १ सय ११ प्रतिशत र आन्ध्र प्रदेशमा  १ सय ५ प्रतिशले वृद्धी देखिएको छ ।  धेरै जनसंख्या बसोबास गर्ने २० राज्यमध्ये १७ राज्यमा संक्रमण २० प्रतिशतभन्दा धेरैले बढेको छ । 


३. पोजेटिभको दर फेरि उकालो लाग्यो 

पछिल्लो साता भारतमा परीक्षण भएका सबै नमुनामध्ये औसत २ दशमलव ६ प्रतिशत नमूना पोजेटिभ देखिएका छन् । विश्व स्वास्थ संगठनको सुझाव अनुसार बिस्तृत परीक्षण कार्यक्रम भएको क्षेत्रमा पोजेटिभिटी दर ५ प्रतिशत वा त्यसभन्दा कम हुनुपर्छ । त्यसैले, यो दर निकै कम हो । यद्यपी, पोजेटिभिटी रेट बढेकाले चिन्ता गर्नुपर्ने अवस्था भने देखिएको छ । किनकी, एक महिनाभन्दा पहिले औसत साप्ताहिक पोजेटिभिटी दर १ दशमलव ६ थियो (१४ फेब्रुअरीअघिको १ साता) ।

विज्ञहरुका अनुसार पोजेटिभिटी दरले भाइरस कसरी समुदायमा फैलिरहेको छ भन्ने देखाउँछ । र, बढ्दो संख्यासँगै जब यो दर पनि बढ्छ, तब यसले जनसमुदायमा यो भाइरस सामान्य बनिरहेको मात्र होइन, चाडों फैलिएको पनि संकेत गर्छ । 

४. २० दिनदेखि सक्रिय संक्रमित बढ्दै 
कुल संक्रमितमध्ये मृतक र निको भएकाहरुको संख्यालाई घटाएर सक्रिय संक्रमितको आँकडा निकालिन्छ । त्यसकारण, यो अहिले तत्काल संक्रमित अवस्थामा भएका मानिसहरुको तथ्य हो । यसलाई पहिचान गर्नु महत्वपूर्ण छ किनकी यसले कुनै क्षेत्रमा कति परिमाणमा भाइरस फैलिरहेको छ भन्ने देखाउँछ । धेरै सक्रिय संक्रमित हुनु भनेको त्यस क्षेत्र भाइरसबाट धेरै भावित हुनु हो र अन्य थप व्यक्तिहरुमा पनि भाइरस सर्ने खतरा छ भन्ने हो । भारतमा पछिल्ला २० दिनदेखि प्रति साता सक्रिय संक्रमितको संख्या बढेको छ ।

जबकी १७ फेब्रुअरीभन्दा ८० दिन पहिलेसम्म संक्रिय संक्रमितको संख्या प्रतिसाता घट्दै थियो । अर्थात्, प्रत्येक साता भारतमा सक्रिय संक्रमित कम हुँदै थिए । यद्यपी, पछिल्लो साता भारतमा दैनिक औसत २ हजार २ सय ५१ जनामा सक्रिय संक्रमण देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप