सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झण्डै दुई तिहाई बहुमत छाडेर गुटमा रमाउँदै ओली

आइतबार, ०१ चैत २०७७, १४ : ३७
आइतबार, ०१ चैत २०७७

झण्डै दुई तिहाई बहुमत छाडेर प्रधानमन्त्री केपी शर्मा ओली एउटा गुटमा रमाउन थालेका छन् । आफ्नै नेतृत्वमा पार्टी एकता गरी निकै ठूलो आकारमा स्थापित कम्युनिस्ट पार्टीलाई उनले जोगाउन त सकेनन् नै पूर्ववत् अवस्थामा कायम रहेको नेकपा (एमाले)लाई पनि विभाजन उन्मुख तुल्याएका छन् । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा घेराबन्दी महसुस गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला अघि नै उक्त पार्टीलाई राजनीतिक रुपमा विभाजित गराइसकेका थिए । सर्वोच्चको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) साविककै अवस्थामा स्थापित भएपछि पनि प्रधानमन्त्री ओलीले एमालेमा आफ्ना विरोधीहरुलाई ‘स्पेस’ नदिने रणनीति बनाएका छन् । जसका कारण माधव नेपाल पक्षसामु एमाले मै आत्मसम्मान गुमाएर बस्ने वा पार्टी विभाजन रोज्ने भन्ने कठिन प्रश्न खडा भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्य गरेका माधवकुमार नेपाल र उनको समूह सर्वोच्च अदालतको फैसलाका आधारमा नेकपा एमाले साविककै अवस्थामा क्रियाशील भएपछि एमालेमै फर्किए । तर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षलाई पार्टीमा कुनै पनि हालतमा टिक्न नदिने रणनीतिअनुसार विभिन्न निर्णय गर्न थालेका छन् । यस्तो कार्यशैलीले स्वाभाविक रुपमा पार्टीलाई बलियो नबनाउने पुरानो कम्युनिस्ट नेता राधाकृष्ण मैनाली बताउँछन् ।

‘ओलीजी र माधवजीहरुको बीचमा नीतिगत भिन्नता त केही देखिँदैन,’ उनले भने, ‘उहाँहरूबीच पदीय कुरा नै मुख्य हो, पदीय कुरामा जाने बित्तिकै ओलीले माधव नेपाललाई देखिनसहने, माधव नेपालले ओलीलाई देखिनसहने भएपछि एमाले नै दुई टुक्रा हुने अवस्था देखिएको छ ।’

संसदीय अभ्यासमा रहेका कम्युनिस्ट पार्टीमा फरक मतको महत्व नीतिगत रुपमा धेरै रहने उनी बताउँछन् । मदन भण्डारीको पालासम्म पनि नेकपा एमालेमा फरक मतको अस्तित्वलाई स्वीकार गर्ने र त्यस्ता मतलाई पार्टी कमिटीभित्र बहस गर्ने गरिएको उनले बताए ।

पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी, खासगरी ठुला कम्युनिस्ट पार्टीमा फरक मत भन्नेबित्तिकै चिनियाँ कम्युनिस्ट पार्टीमा भन्दा पनि चर्को निषेधको अवस्था देखिएको उनी बताउँछन् ।

अहिले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले सोही पार्टीका अर्का नेता माधवकुमार नेपाल तथा उनको समूहमाथि गरेको व्यवहार विल्कुलै अनुचित रहेको मैनालीको भनाइ छ । ‘ओलीजी र माधवजीहरुको बीचमा नीतिगत भिन्नता त केही देखिँदैन,’ उनले भने, ‘उहाँहरूबीच पदीय कुरा नै मुख्य हो, पदीय कुरामा जाने बित्तिकै ओलीले माधव नेपाललाई देखिनसहने, माधव नेपालले ओलीलाई देखिनसहने भएपछि एमाले नै दुई टुक्रा हुने अवस्था देखिएको छ ।’

त्यसो त ओली अझै पनि आफ्नो पार्टीले दुई तिहाई मत ल्याउने दावी गरिरहेका छन् । तर मैनाली भने दुई तिहाई ल्याउने प्रधानमन्त्री ओलीको दावी र कल्पनासँग उनको कार्यशैली पटक्कै मेल नखाने बताउँछन् । ‘कल्पनाका लागि पनि एउटा धरातल चाहिन्छ,’ उनले भने ।

पार्टी जुन भए पनि पात्र र प्रवृत्ति उही

हिजो एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि ओली नै प्रधान थिए । उनले प्रचण्ड र माधव नेपाल पक्षलाई आन्तरिक राजनीतिक प्रतिस्पर्धीका रुपमा अंकित गर्दै निषेधको राजनीतिक गरेका थिए । प्रतिनिधिसभा विघटनपछि उनको उक्त कार्यशैलीका विरुद्ध प्रचण्ड–माधव पक्षले खुलेर मोर्चाबन्दी गरेपछि सो पार्टी राजनीतिक रुपमै विभाजित भइसकेको थियो ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि स्वाभाविक रुपमा माधवकुमार नेपाल पक्ष एमालेमै फर्कियो । तर ओलीले सो पक्षलाई अहिले विभिन्न निर्णयहरुमार्फत तेजोबध गर्ने प्रयास गरेका छन् ।

पुराना कम्युनिस्ट नेता मैनाली यो अवस्था आउनुमा ओलीको प्रवृत्तिनै मुख्य कारक रहेको ठान्छन् । ‘उहाँले पार्टीमा दुई धारलाई कायमै राखेको भए पनि कुनै असजिलो पर्ने थिएन, किनकि उहाँ आफै अध्यक्ष हुनुहुन्थ्यो, अरुले फरक मत राखे पनि केही हुन सक्ने अवस्था थिएन,’ उनले भने, ‘तर ओलीमा फरक मत स्वीकार गर्न नसक्ने प्रवृत्तिका कारण आफू र आफ्ना पक्षको मात्र पद राखेर अरु सबैको पद नै सिध्याउने अवस्थामा उहाँ पुग्नुभयो ।’

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउने, सर्वोच्चको फैसलापछि साविककै अवस्थामा फर्किएको एमालेलाई पनि फुटाउने यी दुवै भूमिकामा ओली नै प्रधान रहेको उनको भनाइ छ । ‘पार्टी बलियो बनाउनका लागि यस्ता काम पक्कै भएका होइनन्,’ उनले भने, ‘यसले त पार्टीलाई मात्र होइन, कम्युनिस्ट आन्दोलनलाई पनि विसर्जनमा लैजान्छ ।’

‘यो अवस्था आउनुमा अरुका पनि कमी कमजोरी होलान्, प्रचण्ड वा माधवकुमार नेपाल सोह्रैआना सही छन् भनेर म भन्दिनँ,’ उनले भने, ‘तर निर्णायक ठाउँमा त ओलीजी नै हुनुहुन्थ्यो नि, आफूलाई पार्टीको मुख्य अध्यक्ष पनि ठान्ने, प्रधानमन्त्री पनि आफै भएको अवस्थामा उहाँको जिम्मेवारी ठुलो थियो । तर त्यसअनुसार काम गर्न सक्नुभएन ।’

आफ्नै सहयोगीको भविष्य अन्योलमा

त्यसो त ओली अझै पनि आफ्नो पार्टीले दुई तिहाई मत ल्याउने दावी गरिरहेका छन् । तर मैनाली भने दुई तिहाई ल्याउने प्रधानमन्त्री ओलीको दावी र कल्पनासँग उनको कार्यशैली पटक्कै मेल नखाने बताउँछन् । ‘कल्पनाका लागि पनि एउटा धरातल चाहिन्छ,’ उनले भने, ‘मान्छेले दुई तिहाई ल्याउने कल्पना गर्न पाउँछ, त्यसको धरातल मिल्दोजुल्दो भयो भने दुई तिहाई आउन पनि सक्छ तर हिजो नेकपा फुटाएर दुईवटा बनाउने, अहिले एमाले फुटाएर दुईवटा बनाउन खोज्ने कार्यशैलीले कसरी दुई तिहाई ल्याउन सक्छ ?’

कम्युनिस्ट पार्टी सत्तामा रहेर देश र जनताको हितमा काम गरेर देखाउने, पार्टीलाई बलियो बनाउने र वर्षौंसम्म पार्टीलाई लोकप्रिय हुन सक्ने आधार निर्माण गर्ने जुन अवसर थियो, ती अवसरलाई ओलीले नामेट बनाइदिएको मैनाली बताउँछन् । ‘यो त जनताको मत र विश्वासमाथिको सरासर धोका हो,’ उनले भने, ‘मलाई लाग्छ, अब कम्युनिस्टहरुलाई जनताले यसरी सजिलै विश्वास गर्न सक्दैनन् ।’

झण्डै दुई तिहाई मतलाई लत्याएर कम्युनिस्ट आन्दोलनलाई सिध्याउने ‘हन्बेर्नु’ का रुपमा ओलीले भूमिका निर्वाह गरेको मैनालीको भनाइ छ । ‘यो अवस्था आउनुमा अरुका पनि कमी कमजोरी होलान्, प्रचण्ड वा माधवकुमार नेपाल सोह्रैआना सही छन् भनेर म भन्दिनँ,’ उनले भने, ‘तर निर्णायक ठाउँमा त ओलीजी नै हुनुहुन्थ्यो नि, आफूलाई पार्टीको मुख्य अध्यक्ष पनि ठान्ने, प्रधानमन्त्री पनि आफै भएको अवस्थामा उहाँको जिम्मेवारी ठुलो थियो । तर त्यसअनुसार काम गर्न सक्नुभएन ।’

ओलीले आफू प्रधानमन्त्री हुनकै लागि तीन वर्षअघि माओवादीसँग गठबन्धन गरेको मैनालीको ठम्याइ छ । ‘प्रधानमन्त्री भइसकेपछि उहाँले आफ्नो सत्तालाई टिकाउन पार्टी एकता गर्नुभयो,’ उनले भने, ‘अब उहाँलाई पार्टी एकता पनि चाहिएन, पार्टी पनि ठुलो चाहिएन । आफू प्रधानमन्त्री भइहाल्नुभयो, तर उहाँकै पार्टीका उहाँकै सहयोगीहरुको राजनीतिक भविष्य पनि उहाँले असुरक्षित हुने काम गरिदिनुभयो ।’

‘ओली आत्मकेन्द्रित नेता’

कम्युनिस्ट राजनीतिमै लामो समय खर्चिएका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली आफूमै केन्द्रित हुने नेतामा गनिन्छन् । ओली आफ्ना प्रतिस्पर्धी, समकक्षी लगायत फरक मत राख्ने कसैलाई मान्छेका रुपमा गन्दै नगन्ने स्वभावका नेता भएका कारण पनि पार्टीको आकार घटाएरै भए पनि आफूमात्र सर्वेसर्वा बन्ने अभियानमा रहने गरेको श्रेष्ठको भनाइ छ ।

‘कम्युनिस्ट पार्टीमा फरक विचार र बहसलाई स्थान दिइन्छ,’ उनले भने, ‘तर ओली अरुको फरक अस्तित्व स्वीकार नगर्ने, आफूले जे जे भन्यो, त्यहीमात्र गर्न र गराउन खोज्ने भएका कारण आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई उहाँले पार्टीमा जहिले पनि पेलेरै जान खोज्नुहुन्छ ।’

‘कम्युनिस्ट पार्टीमा फरक विचार र बहसलाई स्थान दिइन्छ,’ उनले भने, ‘तर ओली अरुको फरक अस्तित्व स्वीकार नगर्ने, आफूले जे जे भन्यो, त्यहीमात्र गर्न र गराउन खोज्ने भएका कारण आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई उहाँले पार्टीमा जहिले पनि पेलेरै जान खोज्नुहुन्छ ।’

प्रधानमन्त्री ओलीमा पछिल्लो समय अहंकार, आत्मकेन्द्रित चिन्तन, अरुलाई मान्छे नै नगन्ने प्रवृत्ति देखिएको उनले बताए । यस्ता गतिविधि अन्ततः ओलीकै लागि प्रत्युत्पादक हुने उनको भनाइ छ ।

पार्टीभित्र सबैले एउटै विचार राख्नुपर्छ भनेर कल्पना गर्न नसकिने श्रेष्ठले बताए । ‘पार्टीमा विभिन्न विचारसमूहबीच प्रतिस्पर्धा हुन्छ र हुनुपर्छ,’ उनले भने, ‘त्यसलाई बहसमा लगेर बहुमतद्वारा कुन विचार सही छ भन्ने छिनोफानो गरेर सोही अनुसार पार्टीलाई अगाडि बढाउनु पर्छ ।’

हिजो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि त्यस्तै फरक विचार बाहिर आउँदा ओलीले त्यसलाई विधिसम्मत ढंगले निकास दिन नसक्दा एकखालको जटिलता आएको र अहिले नेकपा एमालेमा पनि माधवपक्षलाई निषेधको राजनीति गर्न खोजेर ओलीले अहंकार र आत्मकेन्द्रित राजनीतिलाई नै बढावा दिन थालेको उनी बताउँछन् ।

फरक मतलाई पार्टीमा ठाउँ नै नदिनेजस्तो प्रवृत्ति ओलीमा देखिएको उल्लेख गर्दै उनले जुनसूकै पार्टीमा फरक मत राख्न पाउने अधिकार रहने प्रस्ट पारे । ‘कसैले फरक मत राख्नै पाउँदैन भन्ने हुँदैन,’ उनले भने, ‘यो त लोकतान्त्रिक व्यवस्था हो नि, फरक मत आयो भने विधिसम्मत ढंगले पार्टीमा त्यसलाई छलफलमा लैजाने र बहुमतको आधारमा निर्णय गर्ने परिपाटी नै लोकतान्त्रिक अभ्यास हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप