सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकको सरुवा, युवराज खतिवडाका ज्वाइँ फेरि ‘पुरस्कृत’

सोमबार, ०२ चैत २०७७, २२ : ०५
सोमबार, ०२ चैत २०७७

काठमाडौं । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको व्यापक सरुवा भएको छ । विभागीय प्रमुखको हैसियत हुने कार्यकारी निर्देशकको जिम्मेवारीमा गभर्नर महाप्रसाद अधिकारीले सोमबार व्यापक हेरफेर गरेका हुन् । डा. निलम ढुंगाना र बमबहादुर मिश्र कार्यकारी निर्देशक डेपुटी गभर्नरमा नियुक्त भएसँगै रिक्त स्थान मिलाउँदै २ जना निर्देशकलाई कायम मुकायमको जिम्मेवारी समेत दिएका छन् । उनीहरुसँगै ११ जनाको जिम्मेवारी परिवर्तन भएको छ ।  
को कहाँ पुगे ? 
गभर्नरले तोकेको नयाँ कार्यविभाजन अनुसार हाल बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको रिक्त ठाउँमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई लगिएको छ । 

त्यस्तै, हाल विकास बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा  वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सरुवा गरिएको छ । 

बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यलाई राष्ट्र ऋण व्यवस्थापन विभागमा पठाइएको छ । डा. निलम ढुंगाना डेपुटी गभर्नर भएपछि यो विभाग कार्यकारी निर्देशकविहीन थियो । शाक्यलाई राष्ट्र ऋणमा पठाएसँगै रिक्त भएको बैंकिङ विभागमा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरलाई पठाइएको छ । 

त्यस्तै, सम्पत्ति सेवा विभागमा रहेका सुमनकुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ । लघुवित्त सुपरिवेक्षणका कार्यकारी निर्देशक रहेका डा. प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागमा सरुवा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारका रुपमा काजमा अर्थ मन्त्रालयमा खटिएका उनलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको हो । 

अहिले जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक रामु पौडेललाई विदेशी विनिमय विभागमा पठाइएको छ । बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियुक्त भएसँगै यो विभाग रिक्त थियो । सोही विभागमा निर्देशक रहेका तुल्सीप्रसाद घिमिरेलाई कामु कार्यकारी निर्देशक बनाएर जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । 

उता, रामबहादुर मानन्धर बैंकिङ विभागमा सरुवा भएपछि खाली रहेको संस्थागत योजना विभागमा हाल मुद्रा व्यवस्थापन विभाग निर्देशक रहेका दयाराम शर्मा पंगेनीलाई पठाएर कामु मुकर्रर गरिएको छ । 

खतिवडाका ज्वाइँदेखि छिमेकीसम्म ‘पुरस्कृत’
कार्यकारी निर्देशकको व्यापक सरुवाबाट निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइँ पुरस्कृत भएका छन् । हाल कनिष्ठ निर्देशक रहेका खरेललाई अप्रत्यक्ष रुपमा अनुसन्धान विभागको कायम मुकायम हुनेगरी व्यवस्था मिलाइएको छ । 

अहिले अनुसन्धान विभागमा सरुवा गरिएका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ काजमा छन् । अर्थमन्त्रीमा विष्णु पौडेल रहेसम्म उनी फिर्ता हुने छैनन् । डा. श्रेष्ठले तत्कालै मन्त्रालयबाट फिर्ता हुने योजना नभएको बताए । ‘यहाँबाट बिदा भएपछि मेरो जाने ठाउँ त राष्ट्र बैंक नै हो । तर, अहिले नै फर्किन लागेको भने होइन,’ कार्यकारी निर्देशक श्रेष्ठले भने । 

श्रेष्ठ राष्ट्र बैंकमा नफर्केसम्म अनुसन्धान विभागमा रामशरण खरेल नै वरिष्ठ निर्देशक हुनेछन् । सो अवस्थामा यो विभागको कायम मुकायमको जिम्मेवारी उनैले पाउनेछन् । खरेललाई कामु बनाउनकै लागि काजमा रहेका श्रेष्ठलाई सो विभागमा सरुवा गरिएको आरोप समेत कर्मचारीहरु लगाउँछन् । ज्वाइँलाई नयाँ जिम्मेवारी दिएर गभर्नर अधिकारीले आफूलाई गभर्नर बनाउने खतिवडाको गुन तिरेको आरोप समेत राष्ट्र बैंकका कर्मचारीहरु लगाउँछन् । 

उता, अर्को शक्तिशाली विभागको रुपमा रहेको जनशक्ति व्यवस्थापन विभाग समेत अहिले सबैभन्दा कनिष्ठ कायम मुकायमलाई सुम्पिएको छ । कामु कार्यकारी निर्देशक भएर सो विभागको जिम्मेवारी पाएका घिमिरे डा. युवराज खतिवडाका छिमेकी समेत हुन् । उनलाई समेत खतिवडाकै इच्छाअनुसार शक्तिशाली बनाइएको दाबी राष्ट्र बैंक स्रोतको छ । 

गभर्नर अधिकारीको खतिवडा पथ 
त्यसो त, राष्ट्र बैंकका केही अधिकारीहरु कायम मुकायमलाई शक्तिशाली विभाग दिनुको अर्थ विभागीय नियन्त्रण गभर्नरले आफ्नो हातमा लिनुको अर्थमा समेत लिन्छन् । कनिष्ठलाई विभाग दिँदा उनीहरुले आफैं निर्णय लिनसक्ने क्षमता नहुने भएकोले यसमा आफ्नो नियन्त्रण हुने बुझाइले गभर्नर अधिकारीले यस्तो गरेको स्रोतको दाबी छ । 

यसअघि डा. खतिवडा गभर्नर हुँदा पनि यस्तै अभ्यास गरेका थिए । त्यतिबेला कायम मुकायम रहेका जनक बहादुर अधिकारी र शम्भु थापालाई शक्तिशाली विभाग दिएर खतिवडाले त्यस्तो विभागमा आफ्नो नियन्त्रण स्थापित गरेका थिए । अहिले गभर्नर अधिकारी त्यही पथमा अघि बढेको कर्मचारीहरुको आरोप छ ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप