सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसदमा प्रधानमन्त्री: २ दिन बैठकमै नबसी फर्किए, १ दिन बैठक सकिएपछि पुगे

मङ्गलबार, ०३ चैत २०७७, १७ : १४
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली मंगलबार प्रतिनिधिसभाको बैठक सकिएपछि संसद भवन पुगेर फर्किएका छन् । प्रधानमन्त्री यो बैठकमा मात्र सहभागी नभएका हैनन् यसअघिका २ वटा बैठकमा पनि उनी सहभागी भएनन् । आजको बैठकमा ढिला हुनुको कारण बालुवाटारमा राखिएको चियापान कार्यक्रम भएको बताइएको छ । 

गत फागुन २३ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गतको पहिलो बैठकमा उनी संसद भवन पुगेर एकछिन बसेर फर्किएका थिए । फागुन २६ गते बसेको दोश्रो बैठकमा पनि उनी संसद भवन पुगेर बैठकमा सहभागी नभई फर्किएका थिए । 

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीको कदमलाई गत फागुन ११ गते सर्वोच्च अदालतले उल्टाइदियो । उनले सर्वोच्चको सो फैसला स्वीकार गर्छु भन्ने अभिव्यक्ति दिएपनि आफ्नो विघटनको निर्णय सहि थियो भन्ने दावी गर्न भने छोडेका छैनन् । 

प्रधानमन्त्री ओलीले मंगलबार सरकारी निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुलाई गरेको चियापानमा बोल्दै उनले प्रतिनिधिसभाको औचित्यमाथि प्रश्न उठाउन बाँकी राखेनन् । जहाँ उनले सभामुखको भूमिकालाई पनि सेटिङबाट चलेको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभा विघटन सहि थियो भन्ने दावी गर्दै पुनःस्थापनापछि त्यसको दुश्प्रभाव देखापरेको र विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको दावी समेत गरे । 

उनले भने– ‘किन विघटन भएको थियो, के औचित्य थियो अब पुष्टि हुन्छ । मुद्दा लडेर जितेको ल्याएको संसद पहिलो दिनदेखि नै आफैले चल्न नदिने, आफैं बहिष्कार गर्ने, आफै बिथोल्ने, नारा लगाउने अवस्था बन्यो । अध्यादेश संविधान अनुसार पहिलो बैठकमा पस्तुत गर्न दिइएन । संविधानअनुसार सरकारलाई पहिलो बैठकमा पेश गर्न नदिएर संविधान उल्लंघन गरियो ।’ 

उनले मन्त्रीलाई अध्यादेश प्रस्तुत गर्दै गर्दा सभामुखले रोकेर अर्को दिनलाई बैठक सारेर संविधान कार्यान्वयनमा सभामुखले कर्तव्य पालना नगरेको, आफ्नो भूमिका पूरा नगरेको बताए ।  उनले सभामुखलाई सेटिङमा चलेको आरोप समेत लगाएका छन् । उनले भने–‘जुन प्रकारबाट सभामुखको भूमिका हुनुपथ्र्यो, जुन कर्तब्य थियो त्यसो नगरी भिन्न प्रकारको सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिनु अझ एसिड आक्रमणविरुद्ध अझ कडा कानुन ल्याउनुपर्ने त्यो रोक्न नहुने थियो, बलात्कारीलाई कडा कारवाही गर्न ढिला गर्न नहुने भएर अत्यावश्यक अध्यादेश ल्याइएको थियो तर त्यो पेश गर्न दिइएन भने संसदलाई कति प्रभावकारी कति कामकाजी बनाउन खोजिएको छ भन्ने त्यसबाट स्पष्ट हुन्छ ।’
उनले संसदलाई निष्प्रभावी बनाउने चेष्टा भइरहेको दावी गर्दै संसदलाई जनताका समस्याका बारेमा छलफल गरेर समाधान दिने थलो बनाउनुपर्ने दावी त गरे तर पुनःस्थापित संसद बैठकमा सहभागी हुन भने हिच्किचाइरहेका छन् । 
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सहभागी हुन साँच्चै समय नपाएर नबसेका हुन वा बैठकलाई उपेक्षा गरेका हुन्, आगामी दिनमा प्रतिनिधिसभा बैठकमा उनले कस्तो व्यवहार देखाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप