आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग

बिहीबार, ०५ चैत २०७७, १८ : ५०
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले सवारी भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन् । २०६९ सालदेखि एक पटक पनि भाडा समायोजन नभएको तर पेट्रोलियम पदार्थको मूल्य भने पटक–पटक बढेर अधिकतम एक सय १८ रुपैयाँ प्रतिलिटर पुगिसकेको भन्दै व्यवसायीहरुले अबिलम्ब भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । 

बिहिबार यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी भाडा समायोजन गरिदिन ध्यानाकर्षण पत्र बुझाएका छन् ।  २०६५ साल चैत २० गतेको सरकारी निर्णय अनुसार नै तय गरिएको वैज्ञानिक भाडा प्रक्रियाअनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत र सार्वजनिक सवारी साधनसँग सम्बन्धित बीमा, कर, बैंकिङ ब्याज, पार्टपुर्जा, टायर लुव्रिकेन्टस लगायतका अन्य कम्पोनेन्टहरुको आधारमा ६५ प्रतिशतलाई आधार मानी प्रत्येक आर्थिक वर्षको भाद्र मसान्तभित्र नेपाल सरकार यातायात व्यवस्था विभागबाट अनिवार्य रुपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था भएपनि हालसम्म कार्यान्वयनमा नआएको व्यवसायीहरुद्धारा मन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

पेट्रोलियम पदार्थको अस्वभाविक मूल्य वृद्धिसँगै सवारी स्पेयर पार्टस, टायर लुव्रिकेन्टसको समेत अत्यधिक मूल्य बढिरहेको अवस्थामा थप कोभिड–१९ को प्रभावमा परेका व्यवसायीहरुलाई थप आघात नपार्न समेत व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । 

समस्या समाधानका लागि सरकारले छिटोभन्दा छिटो भाडा समायोजनमा जानुपर्ने अन्यथा गाडी ग्यारेजमा थन्काएर चक्काजाम गर्नुको विकल्प नहुने समेत व्यवसायीहरुले चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप