आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शताब्दी पुरुष जोशीलाई कर्णालीमा सम्मान गरिँदै

बिहीबार, ०५ चैत २०७७, १९ : ०८
बिहीबार, ०५ चैत २०७७

सुर्खेत ।  संस्कृतिविद् सत्यमोहन जोशीलाई कर्णाली साहित्य समाज साधना सम्मान प्रदान गर्न लागिएको छ । कर्णाली साहित्य समाज सुर्खेतले उनलाई ताम्रपत्रसहितको सम्मान प्रदान गर्न लागेको हो ।  ‘हाम्रो लोक संस्कृतिका लेखक संस्कृतिविद् शताब्दी पुरुष जोशीको  उक्त कृतिले २०१३ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपालमा तीनपटक मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व शताब्दी पुरुष जोशी हुन् । 

जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागेको कर्णाली साहित्य समाजका  अध्यक्ष खगेन्द्र अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । यसैगरी २०७६ सालमा प्रकाशित भएका कृतिहरु मध्यबाट छनोट गरी ललित विष्टकृत कथा संग्रह मोह पथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गर्न लागिएको छ । पुरस्कार  यही चैत्र ११ गते विशेष कार्यक्रममा नगद ५० हजार राशीको कृति पुरस्कार प्रदान गरिने छ ।  जुन कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो पुरस्कार राशी हो ।

साथै कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार वरिष्ठ लोक साधक प्रेमदेव गिरीलाई प्रदान गरिने छ ।  जुन पुरस्कारको राशी नगद रु.२५ हजार छ ।  गतवर्ष कर्णाली साहित्य समाजले महेश थापाको कृति मरीचिका कथा संग्रहलाई कर्णाली साहित्य समाज कृति पुरस्कार (रु ५० हजार राशिको) प्रदान गरेको थियो भने कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार (रु २५ हजार राशिको), बुद्धिसागरलाई र कर्णाली साहित्य समाज साधन सम्मान (ताम्रपत्रसहित) कवि श्यामललाई प्रदान गरेको थियो । कर्णाली साहित्य समाजले गरेको यस कार्यले नेपाली कला, साहित्य र भाषाको क्षेत्रमा एउटा ईंटाको काम गर्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप