कविता: भाँडाकुटी
-भुवन रोका “मित्रजी”
खोलाको किनार
एक गिलास धमिलो पानी
दुई चम्चा बालुवा
स्वादिलो चिया
तिमी र म मात्र पिऔँ
आऊ,
भाँडाकुटी खेलौँ
बालुवाको सिंहदरबार
रातो माटोको पर्खाल
झारको छानो
गिट्टी हरुको मन्त्रिमण्डल
सलाईको बट्टाको गाडी
कागजको जहाज
ढुङ्गाहरूका जनता
सम्याउन माटो
चिल्याउन बाटो
दुवै मिली पेलौँ
आऊ,
भाँडाकुटी खेलौँ
तिखारिएको बाँसको छेस्को
निचोरिएको किम्बुको रस
नच्यातिएको सालको पात
नदेखिने अक्षर
नबुझिने शब्द
नपढिने भाषा
संविधान लेखौँ
आऊ,
भाँडाकुटी खेलौँ
खुट्टाको बुढी औँला
गोलो बनाएर खिचिएको रेखा
सुन्दर देश
खोलाको सानो छाल
कठै
अस्पष्ट सिमाना
अलि वर सारेर
फेरी सिमाना खिचौँ
आऊ,
भाँडाकुटी खेलौँ
कुरूप ढुङ्गाहरू
फालेर खोलामा
बेस्वादिला झारहरु
निमोठेर मुन्टामा
नमिलेको अग्लो ढिस्को
मेटाएर अस्तित्व
चिप्लिने सम्म भाग
छोडेर सिमानापारी
तिम्रो र मेरो
जग्गे सजाऔँ
आऊ,
भाँडाकुटी खेलौँ
खोटाङ, नेपाल
हाल: टोकियो, जापान