सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रकै आकार बराबर पुग्यो वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन

मङ्गलबार, १० चैत २०७७, १६ : २३
मङ्गलबार, १० चैत २०७७

वाणिज्य बैंकहरुको निक्षेप संकलनको आकार र देशको अर्थतन्त्रको आकार झण्डै बराबरकै अवस्थामा पुगेको छ । बैंकर्स एसोसिएसनको पछिल्लो तथ्यांकले बाणिज्य बैंकहरुले हालसम्म ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको देखाउँछ ।

 चैत ६ गतेसम्म बैंकहरुको निक्षेप संकलन ३८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको एसोसिएसनले जनाएको छ । जबकी देशको अर्थतन्त्रको आकार आधार वर्ष परिवर्तन गरेपछि ३९ खर्ब पुगेको तथ्यांक केही दिन अघि मात्र केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको थियो ।

बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले यसले नेपालको वित्तीय अवस्थाको गहिराइ राम्रो रहेको देखाउने प्रतिक्रिया दिए । उनका अनुसार नेपाल दक्षिण एसियामा वित्तीय गहिराइमा पहिलो स्थानमा रहेको छ ।  गाउँगाउँसम्म बैंकहरू पुगेपछि मानिसहरुको पहुँच बैँकसम्म पुग्दा बैंकिङ क्षेत्रको निक्षेप संकलन राम्रो रहेको उनको भनाइ छ ।

विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७२/०७३ मा १७ खर्ब ५२ अर्ब निक्षेप संकलन भएको थियो । ०७३/०७४ मा २० खर्ब ८७ अर्ब पुगेको निक्षेप संकलन २०७४/०७५ मा २४ खर्ब ७० अर्ब पुग्यो । यस्तै त्यसको एक वर्ष पछि अर्थात ०७५/०७६ मा २८ खर्ब ७८ अर्ब पुग्यो भने गत वर्ष २०७६/०७७ सम्म ३४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्ष सकिन अब चार महिना बाँकी रहँदा निक्षेप ३८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको हो ।

बैकिङ विज्ञ अनलराज भट्टराई भने अर्थतन्त्रको हारहारीमा निक्षेप पुग्नुलाई राम्रो वा नराम्रो भन्दा पनि त्यसको उपयोगलाई बुझ्नुपर्ने प्रतिक्रिया दिए ।

 उत्पादनशील क्षेत्रमा बैंकको लगानी अझै पनि जान नसकेको बताउँदै उनले भने, ‘उत्पादनशिल क्षेत्रमा, जलविद्युतमा र अरु क्षेत्रमा कति योगदान गरेको छ, त्यसलाई हेर्न जरुरी छ । यसले सेवा क्षेत्र र होलसेल तथा रिटेल क्षेत्रलाई बढी फोकस गरेको देखिन्छ । बैंकहरुले दिएको कर्जा पनि अल्पकालका लागि गएको छ, उत्पादनलाई मिट गर्न सकेको छैन ।’

विकास बैंक र सहकारीको पनि निक्षेप गणना गर्ने हो भने बैंक तथा वित्तीय क्षेत्रको निक्षेपको आकार देशको अर्थतन्त्रको आकार भन्दा बढी रहेको छ ।

ऋण विस्तारमा आक्रामक

यसैबीच बैंकहरू जथाभावी ऋण विस्तारमा आक्रामक देखिन्छन् भन्ने आरोप पहिले देखिनै लाग्ने गरेको छ । जथाभावी ऋण विस्तार गर्दा चाहिने क्षेत्रमा ऋण दिने बेला लगानी अभाव देखाउँदै फर्काउने सम्म गर्दै आएको विगतको नजिर छ ।

एसोसिएसनको तथ्यांकअनुसार बाणिज्य बैंकहरुले हालसम्म ३४ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।  यसले बैंकहरू लगानी विस्तारमा आक्रामक रहेको देखाउँछ  ।

चालु आर्थिक वर्षको चैत ६ गतेसम्म बैंकहरुले संकलन गर्ने निक्षेप भन्दा ऋण विस्तार बढी देखिएको छ । एसोसिएसनको तथ्यांक अनुसार हालसम्म बैंकहरुको ३४ खर्ब ३५ अर्ब ऋण लगानीमा रहेको छ । बाणिज्य बैंकहरुले पछिल्लो एक सातामा मात्र २३ अर्ब ऋण लगानी गरेका छन् । जबकी यस बेला १४ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको छ । 

कोरोना महामारीका बेला लगानीयोग्य रकम थुप्रिएको बैंकमा अहिले लगानी गर्ने रकममा कमी आउँदै गएको छ । चालु आर्थिक वर्षको (आठ महिनामा)  चैत सात गतेसम्म बैंकहरुले ५ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको लगानी विस्तार गरिसकेका छन् । बैंकर्सहरु पछिल्लो समय ऋण लिन  आउनेहरु ह्वात्तै बढेको बताउँदै आएका छन् । 

बैंकहरुले निक्षेप र ऋणबीचको तालमेल मिलाउन नसक्दा बैकिङ क्षेत्रमा पुँजी अभावको अवस्था निम्तिने गरेको भन्दै उनीहरुको आलोचना समेत हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप