सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा सडक दुर्घटना बढ्यो,  २० महिनामा १६९ को मृत्यु

मङ्गलबार, १० चैत २०७७, १८ : ३१
मङ्गलबार, १० चैत २०७७

सुर्खेत । कर्णाली प्रदेशमा बितेका २० महिनामा ४ सय ९५ वटा सवारी दुर्घटना भएका छन् भने १ सय ६९ जनाको ज्यान गएको छ । जसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्रै २ सय ३१ वटा सवारी दुर्घटना भएका छन् । जसमा ६१ पुरुष, ६ महिला, ४ बालक, १ बालिका गरी ७२ जनाले ज्यान गुमाएका छन् ।

गत बर्ष १२ महिनामा २ सय ६४ वटा सवारी दुर्घटना भएका छन् । जसमा परी ६६ पुरुष, २३ महिला, ७ बालक, १ बालिकाले ज्यान गुमाएका छन् ।  प्रदेश ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवमा सबैभन्दा धेरै मोटरसाइकल ६६ वटा दुर्घटना भएका छन् । यस्तै ट्रक २९, टिप्पर ६, बस २२, माइक्रो बस ७, जिप÷कार ३०, टेम्पो १८, साना सवारी ११ अटो ५, अन्य २ वटा दुर्घटनामा परेका  छन् । जसमा दुर्घटनामा परी  १ सय १७ जना शक्त घाइते र २ सय ४० जना साधारण घाइते भएका छन् ।

यस्तै गत आवमा ३१ ट्रक, ९ टिप्पर, २९ बस, २ माइक्रो बस, ४८ जिप÷कार,३६ ट्याक्टर,  ३ टेम्पो, ९८ मोटरसाइकल, १४ अटो र ३ अन्य सवारी साधनहरु दुर्घटना भएका छन् । जसमा परी १ सय ८८ जना सख्त घाइते भएका छन् भने १ सय ९३ जना साधारण घाइते भएको छन् ।कर्णालीका सडक यात्राका लागि जोखिम छन् । सुरक्षित सडक नभएकै कारण कर्णालीमा बर्सेनि सयौं सवारी साधन दुर्घटना हुने गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ ।  अव्यवस्थित तथा साँघुरो सडक र नियमविपरीत सवारी चल्नु र सडकमा जेब्रा क्रसिङको व्यवस्था नहुनुले दुर्घटनाका घटनाहरु दैनिकजसो हुने गरेको ट्राफिक प्रहरीले बताएको छ ।

कर्णाली प्रदेशको भविष्यसँग जोडिएको सडक हो , कर्णाली राजमार्ग । तर कर्णाली राजमार्गलाई मृत्यु मार्गको उपमा दिइएको छ।  कर्णाली राजमार्ग हालसम्म पनि स्तरोन्नति नहुँदा र साँघुरो सडक भएकाले दुर्घटनाका घटनाहरु धेरै हुने गरेका छन्।

सवारी साधन चलाउदा ध्यान नदिदा सवारी दुर्घटना हुने गरेको ट्राफिकको बुझाइ छ। चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, क्षमता भन्दा बढी यात्रु बोक्नु र अस्तव्यस्त सडक, तीव्र गतिलगायत दुर्घटनाका कारण हुन् । पब्लिक हिमाल यातायात व्यावसायी प्रालिका महासचिव रमेश बरालले कर्णालीमा  सवारी दुर्घटनाको मुख्य कारण चालक नभइ साँघुरा सडक, सडक सुधार नहुनु र साना सवारी साधनको अव्यवस्थित यात्रा पनि भएको बताए ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार दुर्घटना न्यूनीकरणका लागि प्रहरीले चालक तथा सहचालकलाई आधा घण्टा ट्राफिक सम्बन्धि कक्षा दिने गरेको छ ।

प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता दीपक मग्रातीले गाडी दुर्घटना न्यूनीकरणका लागि चालक मात्रै नभइ यात्रुपनि सचेत हुनुपर्ने बताए । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

यसैबीच कर्णाली प्रदेश सरकारले दुई वर्षअघि नै ‘सडक सुरक्षा कार्यक्रम’ गर्दै आएको छ । यद्यपि यो कार्यक्रमको प्रभावकारिता भने खासै देखिन सकेको छैन । कर्णाली प्रदेशमा सवारी दुर्घटनाका कारण धेरै मानवीय क्षति भइरहेकाले सोको न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको थियो ।

कार्यक्रम अन्तर्गत कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडक खण्ड, कपुरकोट–रुकुम सडक खण्ड लगायतमा हाई–वे प्रहरी गस्ती गरिने बताइएको थियो  तर, यी सबै योजना कार्यान्वयन नै हुन नसकेको सरोकारवालाहरूले बताउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप