सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोभिड–१९ संक्रमण भयावह हुन नदिन ध्यान दिऔं– प्रधानमन्त्री ओली

बुधबार, ११ चैत २०७७, १८ : ५२
बुधबार, ११ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन् ।

यद्यपि अहिले भयावहको स्थिति नभएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको पनि बताए । पूर्ण रुपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्ने बताए । उनले भने– ‘३ दिनदेखि लक्षणहरु फेरि नकारात्मकतातिर जान खोज्या होकी, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ ।

अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशनचाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन, त्यो पनि थाहा छैन । एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मुल गर्नुपर्ने । खोप लगाएर निर्मुल हुन सजिलो छैन । पूर्णरुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्ण रुपमा नियन्त्रण गर्न सामाजिक दुरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने । संक्रमण हुने स्थिति नहोस् ।’

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताए । संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने उनले बताए । उनले भने, ‘हामीकहाँ यसको असर कम पर्यो । फेरि पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी संक्रमित हुन दिँदैनौँ । दिनु हुँदैन । विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप