सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हरेक दिन हामी एक कदम अगाडि बढेको–बढ्यै छौं: प्रधानमन्त्री ओली

बिहीबार, १२ चैत २०७७, १६ : ५८
बिहीबार, १२ चैत २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार बनेपछि हरेक दिन देश एक कदम अगाडि बढेको बढ्यै गरेको बताएका छन् । बिहिबार ललितपुरमा कृषि तथा पशुपंक्षी मन्त्रालयले गरेको पशुपंछीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो सरकारले हरेक दिन नयाँ नयाँ सफलता पाउँदै उचाई हासिल गरेको उल्लेख गरे । 

उनले भने– ‘हाम्रो तरिका नै हरेक दिन एक कदम अगाडि हो । देश हरेक दिन एक कदम अगाडि बढेकै हुनुपर्छ, विकासको क्षेत्रमा, शिक्षाको स्तरमा, स्वास्थ्यको स्तरमा, यातायात बाटाघाटाको क्षेत्रमा, हवाई जहाजको क्षेत्रमा, आइटीको क्षेत्रमा, डिजिटल नेपालको क्षेत्रमा, उर्जा उत्पादनको क्षेत्रमा, पर्यटनको क्षेत्रमा हामी देखिने गरी अगाडि बढेका छौँ ।’

उनले विभिन्न कारणले यूवाहरु बैदेशिक रोजगारीमा जानुपरेको भन्दै अब रेमिट्यान्सबाट मात्र देश नचल्ने भएकोले युवाहरु उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने उल्लेख गरे । प्रधानमन्त्रीले नेपाल दूधमा आत्मनिर्भर भएको घोषणा गर्दै अब मिल्क होलिडेको नाममा किसानको दुध रोक्न नहुने बरु बजार विस्तारको काम गर्नुपर्ने बताए । उनले भने– ‘दुध आउन पनि कहिले होलिडे हुन्छ त ? गाईले भैसीले कुन दिन दुध दिने कुन दिन नदिने त्यो पनि थाहा पाउँछ त ? त्यो त किसानको दुध नकिन्न बनाएको बाहाना त हो । बढी भएको दूधबाट धुलो दुध उत्पादन गर्नुपर्छ र धुलो दूधलाई ह्वाइटनर भनेर बिक्री हुँदैन, त्यसलाई धुलो दुध नै भनेर बिक्री गर्नुपर्छ ।’ प्रधानमन्त्रीले दुग्ध विकास संस्थाले बजारमा ल्याएको धुलो दुध ‘ह्वाइटनर’ को सार्वजनिकीकरण समेत गरे । 

उनले माछा मासुको क्षेत्रमा आत्मनिर्भर हुँदै जानुपर्नेमा जोड दिए । छिट्टै नेपालमा मल कारखाना खोल्ने दिशमा सरकार अघि बढेको बताउँदै प्रधानमन्त्रीले विद्युतको प्रयोग गरेर मल उत्पादन गर्नेबारे छलफल भइरहेको बताए । उनले थर्मल प्रणाली, कोइला, ग्याँस प्रयोग नगरी जर्मनी लगायतका देशले अपनाएको विद्युत प्रणालीबाट मल उत्पादन गर्ने र किसानका लागि सहज अवस्था हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप