सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टाइगर प्यालेस रिसोर्टमा अवैध क्यासिनो सञ्चालन, आम्दानी सिधै विदेशी बैंकमा !

बैंकहरुको पौने २ अर्ब लगानी जोखिममा
आइतबार, १५ चैत २०७७, २१ : ००
आइतबार, १५ चैत २०७७

रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टमा गैरकानुनी धन्दा भएको पाइएको छ । सो होटलले अवैधरुपमा क्यासिनो सञ्चालन गर्ने गरेको छ । उक्त रिसोर्टले आफ्ना ग्राहकको डाटाबेसको दुरुपयोग गरेर अनलाइनमार्फत् गेमिङ खेलाउने गरेको स्रोतको दाबी छ । एक साताअघि अर्थात् २० मार्च तारिखका दिन सो रिसोर्टले आफ्ना डाटाबेसमा रहेका ग्राहकसँग अनलाइन क्यासिनो सञ्चालन गरेको फोटो बाहिर आएको थियो । स्रोत भन्छ, ‘पहिले पनि यहाँ जुवा खेल्ने, खेलाउने काम हुन्थ्यो । अहिले ग्राहकको तथ्यांकलाई प्रयोग गरेर अनलाइन क्यासिनो सञ्चालन भइरहेको छ, होटलले ग्राहकलाई एप्सको लिङ्क पठाउँछ र ग्राहकले त्यही एप्समार्फत जुवा खेल्छन् ।’

त्यसरी जुवा खेलाएर आएको पैसा सो रिसोर्टले विदेशी खातामा सीधै जम्मा गर्ने गरेको समेत स्रोतले दाबी गरेको छ । ‘यस्तो पैसा सिल्भर हेरिटेज इन्भेष्टमेन्टको विदेशी बैंक खातामा सीधै जम्मा हुन्छ,’ स्रोत भन्छ, ‘क्यासिनोको प्लेटफर्म यही रिसोर्ट हो । म्यानपावर र डाटाबेस पनि यहीँको हो । तर, विदेशी नागरिकहरूसँग जुवा खेलेपछि कारोबार ओभरसिज नै हुन्छ, नेपालमा केही हुँदैन ।’

कोभिड–१९ महामारीका कारण लामो समय बन्द भएको सो रिसोर्ट यही मार्च ६ तारिखदेखि खुलेको हो । तर, होटल बन्द रहँदाको समयमा पनि त्यसरी अवैधरुपमा क्यासिनो सञ्चालन हुने गरेको पाइएको हो ।

के हो टाइगर प्यालेस रिसोर्ट ?

टाइगर प्यालेस रिसोर्ट हङकङस्थित सिल्भर हेरिटेज ग्रुपको लगानी भएको रिसोर्ट हो । नेपालमा टाइगर वन प्रा.लि. मार्फत् सञ्चालन भएको सो रिसोर्टले ५ अर्बको लगानी स्वीकृत गराएको थियो । सो रिसोर्टले विदेशबाट करिब २ अर्ब रुपैयाँ मात्रै लगानी भित्र्याएको छ । करिब १ अर्ब ६९ करोड रुपैयाँ भने नेपाली बैंकसँग ऋण लिइएको बताइएको छ ।

त्यसो त, यो कम्पनी अहिले टाट पल्टिने अवस्थामा पुगेको छ । अष्ट्रेलियाको स्टक एक्सचेन्जमा यो कम्पनीको सेयरको मूल्य शून्यको नजिकमा पुगेको हो । विदेशी कम्पनी टाट पल्टिने अवस्थामा पुग्दा नेपालमा पनि लगानी डुब्नसक्ने खतरा देखिएको छ । यो रिसोर्टमा प्राइम बैंकको अगुवाइमा आधा दर्जन बैंकहरुले १ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् । यो ऋणको विषयमा राष्ट्र बैंकले प्राइम बैंकसँग ६ महिना अघि नै प्रष्टीकरण मागिसकेको छ ।

कर्मचारीले बिदा पाउँदैनन्, सामाजिक सञ्जाल बन्द

त्यसो त सो रिसोर्टले अनलाइन क्यासिनो सञ्चालन गर्न .थालेपछि यो बाहिरिने डरले कर्मचारीहरुलाई सामाजिक सञ्जाल सञ्चालनमा समेत प्रतिबन्ध लगाइएको छ । स्रोत भन्छ, ‘जामरको प्रयोग गरेर सञ्चालक कर्मचारीको सामाजिक सञ्जाल बन्द गरिन्छ । उनीहरुलाई छुट्टि पनि दिइँदैन । उनीहरु मार्फत् सम्बन्धित ग्राहकसँग अनलाइन जुवा खेलाइन्छ ।’

अहिले रिसोर्टका कर्मचारीहरु आन्दोलनमा छन् । रिसोर्टभित्र गैरकानूनी धन्दा हुन थालेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले त्यहाँभित्र भएको अवैध धन्दाको पर्दाफास गर्न विभिन्न निकायलाई पत्राचारसमेत गरेका छन् । ‘हामीले दिनुपर्ने सबै ठाउँमा उजुरी दिइसकेका छौं । यहाँ विवाद हुन केही बाँकी छैन,’ रिसोर्टका एक कर्मचारीले भने, ‘आपराधिक व्यक्तिसँगको साँठगाँठ पनि यहीँ हुन्छ, विदेशी मुद्राको अपचलन पनि यहीँ हुन्छ । श्रमिकको शोषण पनि यहीँ भएको छ । सरकारी जग्गा हडपेको आरोप पनि यसैलाई लाग्ने गरेको छ ।’

के भन्छ रिसोर्ट ?

पछिल्लो समय भइरहेको अवैध गतिविधिको दाबीबारे हामीले सो होटलका कन्ट्री म्यानेजर अमे ब्रुनेलसँग सोध्यौं । उनले यी सबै आरोपको एकमुष्ट खण्डन गरे । आफूहरुविरुद्ध आएका सबै हल्लाको कुनै आधार नभएको उनको भनाइ छ ।

होटलभित्र अवैध क्यासिनो सञ्चालन भएको र विदेशी मुद्राको अपचलन भएको विषयमा कुनै सत्यता नभएको ब्रुनेलको दाबी छ । ‘त्यो हल्लामा कुनै सत्यता छैन, ती आधारहीन हल्लाहरु हुन् । यो आधारहीन र अपमानजनक हल्ला गर्नेहरुसँग यसलाई पुष्टि गर्ने कुनै आधार छैन ।’

उनले गेमिङ सञ्चालन नै नभएपछि ओभरसिज कारोबारको प्रसंग नउठ्ने समेत बताए ।

नेपाली श्रम कानूनअनुसार कर्मचारीलाई आफूहरुले सम्पूर्ण सेवा दिइरहेको समेत ब्रुनेलको दाबी छ । ‘हामी नेपालको श्रम कानुनप्रति प्रतिवद्ध छौं । त्यहीअनुसार कर्मचारीहरुलाई सबै प्रकारका सुविधा उपलब्ध गराएका छौं । बिदाप्रतिको हल्लामा पनि कुनै सत्यता छैन,’ अमेले भने ।

उनले यही मार्च ६ तारिखदेखि होटल सञ्चालन सुरु भएको बताउँदै नेपाल पर्यटन बोर्डसँग मिलेर नेपालको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम गरिसकेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप