सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लहान मालपोतमा बम बिष्फोट गराउने २ आरोपी पेस्तोलसहित पक्राउ

मङ्गलबार, १७ चैत २०७७, १६ : ०९
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरी छन् ।

दुवै आरोपीको साथबाट एक–एक थान कटुवा पेस्तोल र दुई–दुई राउण्ड गोली बरामद गरिएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । चैत १ मा लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा गराएको विष्फोटको जिम्मा तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले लिएको थियो । विष्फोटमा ८ जना घाइते भएका थिए ।

२५ वर्षीय रामरिझन र २६ वर्षीय अभिमन्युले विष्फोट गराएको प्रहरीसँग स्वीकार गरेका छन् । गोइत समूहका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा सुखीपुर–८ बस्ने रामकुमार यादवले उनीहरुलाई फागुन २६ मा प्रेशरकुकर बम भगवानपुर गाउँपालिकाको ठाडीमा बोलाएर दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरिएको डिआईजी सिंहले बताए ।

‘मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरेको र चेतावनी दिँदा पनि सुधार नआएको’ हुनाले विष्फोट गराएको उनीहरुले साविती बयान दिएका छन् ।

रामरिझन ०७४ चैतमा लहानको विकास ज्वेलर्समा भएको विष्फोट मुद्दामा १ लाख धरौटीमा रिहा भएका थिए । उनी ०७५ साउनमा विराटनगर उप–महानगरपालिकामा विष्फोट गराएको मुद्दामा ३५ हजार धरौटीमा रिहा भएको अपराध पृष्ठभूमि छ ।

५ वर्षदेखी गोइत समूहमा लागेका अभिमन्यू तराईमा धम्की दिएर चन्दा संकलन गर्थे । ‘रामरिझन र अभिमन्यू लहान विष्फोटमा संलग्न मुख्य आरोपी हुन्’ डीआईजी धिरज प्रताप सिंहले रातोपाटीसँग भने–‘प्रेसर कुकर बम राख्न जाँदा रामरिझनले लगाएको ज्याकेट, चप्पल र टिसर्ट बरामद गरेका छौं ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप